Hamro Patra
सत्ती घाटको कर्णाली पुल जोगाउनै सकस

टीकापुर, २१ असार

हुलाकी राजमार्गमा अन्तर्गत कैलाली र बर्दिया जोड्ने कर्णाली नदीको सत्ती घाटमा निर्मित पुल वर्षायाम लागेसँगै जोगाउनै सकस हुने गरेको छ । कर्णाली नदीमा आउने वर्षायामका बाढीले राजापुरतर्फका अन्तिम पिल्लरमा वर्षेनी क्षति पुर्याउँदै आएपछि पुल जोगाउन सकस हुने गरेको हो ।

चार वर्ष अघिसम्म पुलको किनार छेउमा नदीले कटानी गर्यो । निर्माण कम्पनी र हुलाकी राजमार्ग आयोजना कार्यालयले वर्षायामभरि तारजाली भर्दै पुल जोगायो । हरेक वर्ष नदीले पुल छेउ कटान गर्दै आइरहेको छ ।

CMA Staff

गत वर्षदेखि राजापुरतर्फको अन्तिम दुई पिल्लरको स्ल्याब नै बाङ्गो भयो । निर्माण भए यता नै वर्षेनी समस्या झेल्दै आएको यो पुल जोगाउन आयोजनालाई सकस हुने गरेको हो ।

‘वर्षायाममा तारजाली भरेर जोगिएको पुलको स्लाब गत वर्ष बाङ्गो नै भयो’ टीकापुर–८ वनगाउँका रवीलाल चौधरीले भने ‘गत वर्षको हिउँदमा पुल मर्मतका लागि एक साता बढी यातायात नै बन्द गरेर स्याब सोझो पारिए पनि यस वर्ष फेरि बाङ्गो हुन थालेको छ ।’

सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशलाई जोड्ने महत्वपूर्ण हुलाकी राजमार्गमा पर्ने यो पुल यतिबेला हुलाकी राजमार्ग आयोजना नेपालगञ्जलाई जोगाउन सकस छ ।

‘पोहोर साल मर्मत गरेर सोझो गरिएको स्ल्याब नदीमा पानीको सतह बढेसँगै पुनः बाङ्गो हुन थालेपछि रोकथामको उपाय गरिरहेका छौं’ आयोजनाका सुपरभाइजर भरत चौधरीले भने ‘वर्षायाममा पुल बचाउनका लागि राजापुरतर्फको दोश्रो पिल्लरमा पुल माथिबाट ठूला बोल्डर (ढुंगा) खसालेका छौं, थोरै मात्रामा भए पनि पिल्लरमा क्षति कम गर्न मद्दत पुग्छ ।’

चौधरीले गत वर्षको हिउँदमा पुलको स्ल्याब सोझाए पनि वर्षा लागेसँगै स्ल्याब बाङ्गो हुन थालेपछि पिल्लरको माथि र तलतिर बोल्डर खसालिएको बताए ।

रसुवा कन्स्ट्रक्सन प्रा.लि.ले आठ वर्षअघि समयवधि भन्दा झण्डै नौ महिना अगाडि निर्माण सम्पन्न गरेको थियो । स्थानीयका अनुसार पुल निर्माण सम्पन्न भएको एक वर्षपछि नै तारजाली भाँसिन शुरु भएको थियो ।

नदीमा पुल निर्माण गर्दा बीचमा बनाइएका डाइभर्सनले नदीको धार परिवर्तन गरिएका कारण वर्षेनी पुल जोखिममा पर्दै गएको स्थानीयहरु बताउँछन् । स्थानीयले पुलको संरक्षणका लागि नदीको बीचमा बनेका साना टापुहरु सफा गर्नुपर्ने माग गर्दै आइरहेका छन् ।

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  १५:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update