Hamro Patra
इजरायली राजदुत टीकापुरमा

टीकापुर, असार २०

नेपालका लागि इजरायली राजदूत हनान गोडेर टीकापुरमा आइपुगेका छन् । सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय डीन कार्यालय टीकापुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्न इजरायली राजदुत गोडेर टीकापुर पुगेका हुन् ।

नेपाल सरकार र इजरायली सरकारबीच भएको सम्झौता अनुसार कृषि विज्ञान संकायमा अध्ययनरत विद्यार्थीका लागि शुरु गरिएको ‘अर्न एण्ड लर्न’ कार्यक्रमलाई सम्बोधन गर्न राजदुत गोडेर टीकापुर पुगेका हुन् ।

CMA Staff

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय टीकापुरमा अध्ययनरत ५० जना विद्यार्थी उक्त कार्यक्रममा सहभागी हुन आगामी सेप्टेम्बरमा इजरायल जानेछन् । ती विद्यार्थीहरुलाई इजरायलमा हुने भ्रमण, कृषिको अवस्था र अर्न एण्ड लर्न कार्यक्रमका बारेमा जानकारी दिन राजदूत गोडेर टीकापुर पुगेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत गोडेरले इजरायल र नेपालको सम्बन्ध ६० औं पूरानो भएको बताउँदै कार्यक्रमबाट विद्यार्थीले इजरायलले कृषि क्रान्तिमा गरेको प्रविधिको प्रयोगबारे सिक्ने, बुझ्ने र कमाउने महत्वपूणर् अवसर भएको बताए ।

‘इजरायलमा जम्मा दुई प्रतिशत मात्रै किसान छन्, तर त्यहाँ प्रयोग भएको प्रविधि र कृषिको उत्पादनले हामी अन्य देशमा आफ्ना उत्पादनहरु निर्यात गरिरहेका छौं’ राजदूत गोडेरले भने ‘हप्तामा एक दिन पढ्ने, पाँच दिन किसानको फर्ममा काम गर्दै सिक्ने र त्यहाँ सिकेको ज्ञान, प्रविधि नेपालमा प्रयोग गर्ने यो निकै महत्वपूणर् अवसर हो, यसलाई सदुपयोग गर्नुहोला ।’

उनले कार्यक्रममा सहभागी हुने विद्यार्थीले एजरायलले गरेका प्रयासहरु नेपालमा भित्र्याउन सके मात्रै कार्यक्रमको औचित्य पुष्टि हुने बताए ।कार्यक्रममा सहभागी हुने विद्यार्थीका लागि आयोजित कार्यक्रमबारे नेगेभ कलेज इजरायलका प्राध्यापक डाक्टर नेहोरेले सहजीकरण गरेका थिए ।

‘हामी प्राक्टिकल ज्ञानमा आधारित कार्यक्रमका माध्यमबाट सिकाउने प्रयास गरिरहेका छौं, यो कार्यक्रमको अवधारणा सिकेर तपाई आफ्नो देशमा नयाँ प्रोजेक्ट बनाउनु सक्नुहुनेछ’ प्राध्यापक डाक्टर नेहोरेले भने ‘इजरायलको आधा भाग मरुभूमि हो तर पनि कृषिमा भइरहेको प्रविधिको विकासले हरियाली छ, तपाईको मेहनत र सिकाईले नेपालमा धेरै कुरा गर्न सकिन्छ ।’

कृषि संकायका डीन डाक्टर लालप्रसाद अम्गाईले सुदूरपश्चिम विश्वविद्यालयबाट पहिलो पटक ५० जना विद्यार्थी उक्त कार्यक्रममा इजरायल जान लागेको जानकारी दिए ।

‘११ महिनाको अवधिमा प्रविधिमा आधारित ज्ञान सिकेर आउँछन्, केही रकम पनि कमाएर ल्याउने हुनाले उताको हाइटेक प्रविधि प्रयोग गरेर नेपालमै कृषि उद्यमी बन्नेछन् भन्ने विश्वासका साथ कार्यक्रम शुरु गरिएको हो’ अम्गाईले भने ‘नेपाल र इजरायल दुबै देशको सहकार्यमा भइरहेको कार्यक्रममा आगामी वर्षदेखि १०० जनालाई इजरायल पठाइनेछ ।’

उनले व्यवहारिक कृषि शिक्षाका लागि विश्वमै नमूना मानिएको इजरायल जानु पाउनु विद्यार्थीका लागि अवसर भएको बताए । डीन अम्गाईका अनुसार राजदूत गोडेरसहितको इजरायली टोली आजै काठमाडौं फर्किनेछ ।

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  १४:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update