टीकापुर, असार १३
पढाई शिविर सहजकर्ताका लागि सिक्न र खेल्न तयार निर्देशिका साथै एडटेकको प्रयोग सम्बन्धी तीन दिने क्षमता अभिवृद्धि तालिम कार्यक्रम आजदेखि टीकापुरमा शुरु भएको छ ।
वल्र्ड भिजन इन्टरनेशनलको सहयोग तथा यार्डको नेपाल रिड्स संस्थाको आयोजनामा बालबालिकाको सिकाई सुधारमा प्रविधिको प्रयोग सम्बन्धी क्षमता अभिवृद्धि तालिम कार्यक्रम शुरु भएको हो ।
टीकापुर र भजनी नगरपालिकाका १५ वटा विद्यालयका बालबालिकालाई प्रविधिको माध्यमबाट सिक्दै र खेल्दै सिकाई क्षमता अभिवृद्धि गर्न कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमको उद्घाटन टीकापुर नगरपालिकाका उपप्रमुख खड्कबहादुर शाहले गरेका हुन् । उपप्रमुख शाहले कार्यक्रममा बोल्दै टीकापुर क्षेत्रको सामुदायिक शिक्षा कस्तो बनाउने भन्ने विषयमा सबै गम्भीर भएर लाग्न जरुरी रहेको बताए ।
‘सामुदायिक विद्यालय निम्न वर्गका छोराछोरी पढ्ने विद्यालयहरु हुन्’ उपप्रमुख शाहले भने ‘विद्यालयको गुणस्तर बढाउन सके निम्न वर्गका परिवारको आर्थिक अवस्था परिवर्तन हुन सक्छ, त्यसका लागि सबैले सोच्न जरुरी छ ।’
कार्यक्रममा बोल्दै वल्र्ड भिजनका चेतराज भट्टराईले बालबालिकाको सिकाईको स्तर, गुणस्तर र सिकाईप्रतिको लगाव हेर्दा अत्यन्तै दयनीय अवस्था रहेको बताए । ‘विना मोबाइल आजको बच्चाले खाना समेत खाँदैन, सिकाईको स्तर निकै कमजोर छ, त्यसका लागि प्रविधिको प्रयोग गरेर बच्चाहरुलाई खेलाउँदै सिकाउने परियोजनाको मूल मर्म हो’ भट्टराईले भने ‘यसले बालबालिका र तिनका अभिभावकलाई समेत शिक्षा दिनेछ भन्ने विश्वास लिएका छौं ।’
कार्यक्रममा बोल्दै नेपाल रिड्सका कार्यक्रम संयोजक सुशील थापाले सिकाई सुधारका लागि सहजकर्तालाई शिक्षामा प्रविधिको प्रयोग गर्न परियोजना लागु गरिएको बताए ।
यार्डका कर्मचारी निशु मल्लका अनुसार तालिममा टीकापुर नगरपालिकाका १२ र भजनी नगरपालिकाका १४ जना सहजकर्ता सहभागी छन् ।