टीकापुर, असार १३
नेपाल प्रहरी श्रीमती संघ सुदूरपश्चिम प्रदेशको आयोजनामा कैलालीको टीकापुरमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । टीकापुरस्थित शक्तिनगर मुक्त कमैया शिविरमा नेपाल प्रहरीको स्वास्थ्यकर्मी सहितको टोलीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
नेपाल प्रहरी सुदूरपश्चिम प्रदेश प्रमुख डिआईजी भरत बोहराले पहिलो पटक सुदूरपश्चिममा नेपाल प्रहरी श्रीमती संघ गठन गरेर सामाजिक उत्तरदायित्व बहन गर्न मुक्त कमैया शिविरमा स्वास्थ्य शिविर सञ्चालन गरिएको बताए ।
‘विशेषगरी प्रहरीका परिवार, पूर्व प्रहरीका परिवारलाई सीपमुलक तालिमका माध्यमबाट आयआर्जनमा जोड्ने मुख्य उद्देश्य हो’ डिआईजी बोहराले भने ‘अन्य ठाउँमा भए पनि सुदूरपश्चिममा पहिलो पटक श्रीमती संघ गठन गरेको हुनाले मुक्त कमैया शिविरमा निःशुल्क स्वास्थ्य शिविर राखेका हौं ।’
संघका अध्यक्ष एकता बोहराले यो अभियान निरन्तर रुपमा सञ्चालन हुने बताउँदै स्वास्थ्य शिविरमा निःशुल्क औषधी समेत वितरण गरिएको बताए ।
‘प्रहरीको तलबले मात्रै परिवार धान्न मुश्किल हुन्छ’ बोहराले भनिन् ‘त्यही भएर श्रीमती संघको माध्यमबाट प्रहरीका परिवार, पूर्व प्रहरी, अमर प्रहरीका परिवारलाई हामीले तालिम दिने गरेका छौं । उहाँहरुको आयआर्जन होस् भन्नका लागि हामी थप कार्यक्रम गर्ने तयारीमा छौं ।’
नेपाल प्रहरी सुदूरपश्चिम प्रदेश प्रमुख डिआईजी भरत बोहराको उपस्थितिमा भएको स्वास्थ्य शिविरमा ४ शय १ जनाले स्वास्थ्य चेकजाँच गरेका छन् । शिविरमा नेपाल प्रहरीका डिएसपी महिला रोग विशेषज्ञ डाक्टर सविता सिंहसहित ११ जनाको टोलीले चेकजाँच गरेको थियो ।