Hamro Patra
चार वर्ष नपुग्दै चुहियो नगरपालिकाको सपिङ्ग कम्प्लेक्स

टीकापुर, असार ११

टीकापुर नगरपालिका केन्द्रसँगै जोडिएको एक सपिङ्ग कम्प्लेक्स भवन निर्माण भएको चार वर्ष नबित्दै चुहिन थालेको छ । चार वर्षअघि निराजन कन्स्ट्रक्सन/अनुष्का जेभीले निर्माण गरेको पालिकाको पश्चिमी गेटसँगैको भवन चार वर्ष नपुग्दै चुहिन थालेको हो ।

नगरपालिकाले निर्माण गरेको सपिङ्ग कम्प्लेक्स निर्माण भएको दुई वर्षमै चुहिन थालेको व्यापारीहरुले बताएका छन् । नगरपालिकाले टेण्डर बढाबढबाट भाडामा लगाइएका चार वटा सटरमा पानी चुहिन थालेको हो । भवनको छतबाट पानी चुहिँदा व्यवसायीहरुले समस्या भोग्दै आएको गुनासो गरेका छन् ।

Khadga Memorial And Janajagriti

उक्त भवनमा कैलाली चश्मा सेन्टर सञ्चालन गर्दै आएका देवी उपाध्यायले दुई वर्षदेखि सटरमा पानी चुहिन थालेको बताइन् । ‘निर्माण भएको दुई वर्षमै चुहिन थालेको हो, गत वर्ष पानी चुहिएर विद्युत सर्ट हुँदा क्षति भएको थियो’ उपाध्यायले भनिन् ‘चर्को भाडा तिर्दै आएको सटरमा मर्मतका लागि नगरपालिकाले पटक पटक भन्दा पनि सुनुवाई नभएपछि हामी व्यापारी मिलेर छत मर्मत गरेका छौं ।’

उक्त भवनमा व्यवसाय गर्दै आएका व्यापारीहरु मिलेर केही दिनअघि भवनको छतमा प्लास्टर गरेर मर्मत गरेका छन् । कम्प्लेक्सको छतबाट वर्षायाम भरि पानी चुहिन थालेपछि प्लाई सडेर सामान समेत नोक्सान भएको अर्का व्यवसायी प्रेमसिंह कठरियाले बताए ।

‘बढाबढ रकमबाट टेण्डर लिएको सटर चुहिएर सामान नोक्सान हुने अवस्था आएको छ’ ओम गायत्री पार्लर पल्लबी कस्मेटिकका सञ्चालक कठरियाले भने ‘गत वर्ष नगरपालिकामा खबर गरेपछि प्राविधिक फोटो खिचेर गएका थिए, अहिलेसम्म मर्मत गर्नेतर्फ ध्यान नदिएपछि हामी आफैले मर्मत गरेका छौं ।’

नगरपालिकाले केन्द्रको चारैतिर सपिङ्ग कम्प्लेक्स निर्माण गरेको छ । नगरपालिकाले रकम बढाबढ गरेर ठेक्का लगाउने गरेको छ। नगरपालिकाको आन्तरिक राजश्व उठ्ने कम्प्लेक्स निर्माण भएको चार वर्ष नपुग्दै चुहिन थालेपछि भवनको गुणस्तरीयतामा प्रश्न उठेको छ ।

यता, टीकापुर नगरपालिकाका उपप्रमुख खडकबहादुर शाहले भवन चुहिन थालेको बारे आफूलाई जानकारी नभएको बताए । ‘त्यो भवन चुहिन थालेको छ भनेर मैले जानकारी नै पाएको छैन’ उपप्रमुख शाहले भने ‘के कति कारणले चुहिएको हो, त्यसको बारेमा बुझौंला ।’

निर्माण अवधिमा कम्पनीले गुणस्तरीय सामग्री प्रयोग नगरेको तथा नगरपालिकाले उचित अनुगमन गर्न नसक्दा पालिका केन्द्रकै भवन चुहिने अवस्थामा पुगेको स्थानीयहरु बताउँछन् ।

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  १७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update