Hamro Patra
तीनदिने थरुहट थारुवान राष्ट्रिय सम्मेलन सम्पन्न ः१५ बुँदे घोषणा पत्र र संघर्षका कार्यक्रम सार्वजनिक

टीकापुर, भदौ ९
टीकापुरमा सुरु भएको तीनदिने थरुहट थारुवान राष्ट्रिय सम्मेलन १५ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले लक्ष्मण थारुको संयोजकत्वमा १०१ सदस्यीय थरुहट थारुवान राष्ट्रिय मोर्चा गठन गरेको छ ।

मोर्चाले तीन चरणका संघर्षका कार्यक्रम समेत सार्वजनिक गरेको छ । पहिलो र दोस्रो चरणका कार्यक्रमहरु सामान्य छन । जसमा समिति गठन, छलफल, अन्तरक्रिया, हस्ताक्षर अभियान, विरोध सभा, कोणसभा, ¥याली, जनप्रदर्शन छन ।

त्यस्तै जिल्ला प्रशासन कार्यालय घेराउ, थरुहट मुद्दा विरोधीलाई बहिष्कार र यात्रुबाहक तथा मालबाहक साधनमा थरुहट थारुवान स्वायत्त प्रदेश वा जय थरुहट थारुवान लेखिएका स्टिकर टाँस्ने कार्यक्रम समेत दोस्रो चरणमा छन ।

Khadga Memorial And Janajagriti

२०७६ असोज ३ गते थरुहट युवा दस्ता प्रदर्शनका साथै संविधानका केही धारा जलाउने र कालो दिनको रुपमा विरोध प्रदर्शन गर्ने समेत दोस्रो चरणको संघर्ष अन्र्तगत रहेको छ ।

मोर्चाले दोस्रो चरणको संघर्षका कार्यक्रम सम्पन्न हुँदासम्म पनि आफ्ना माग सम्बोधन नभए तेस्रो चरणको सशक्त कार्यक्रम गर्ने जनाएको छ । जस अन्र्तगत थरुहट तराईका सबै जिल्लाका मुख्य शहरमा लाठी र सिट्टी जुलुस प्रर्दशन, प्रधानमन्त्री र मन्त्रीहरुलाई निषेधतथा कालो झण्डाका साथै तीन दिने आम हडताल गर्ने उल्लेख छ । तीन दिने आम हडतालको समिक्षा गर्दै मोर्चाले अन्त्यमा अनिश्चितकालिन आम हडताल घोषणा गर्ने चेतावनी दिएको छ ।

मोर्चाका प्रवक्ता मीनबहादुर चौधरीले तीन चरणको संघर्षको कार्यक्रम २ देखी ३ वर्षसम्म लगातार चल्ने बताए । उनले संघर्षका कार्यक्रमको मिति केही समय पश्चात सार्वजनिक गरिने जानकारी दिए ।

घोषणा सभामा बोल्दै मोर्चाका संयोजक थारुले राज्य जिम्मेवार ढंगले प्रस्तुत नभएका कारण आफूहरु आन्दोलनमा उत्रिन वाध्य भएको बताए ।

सम्मेलनले तय गरेको घोषणा पत्रमा थरुहट थारुवान संघर्ष कुनै जाति विशेषको विरुद्ध नभई राज्यसत्ता र सरकारसँग भएको उल्लेख गर्दै सामाजिक सद्भाव नबिग्रनका लागि संवेदनशील रहेको बताईएको छ ।

घोषणा पत्रमा जेल जीवन बिताईरहेका साँसद रेशमलाल चौधरी लगायतका ११ जनाको बिना शर्त रिहाई र मुद्दा फिर्ताको माग गरिएको छ । त्यस्तै टीकापुर घटनाका बारेमा बनेका पूर्व न्यायाधिश गिरिश चन्द्र लाल नेतृत्वको न्यायिक समिति, गृह मन्त्रालयद्वारा राष्ट्रिय अनुसन्धानका पूर्व प्रमुख देवीराम शर्माको संयोजकत्वमा गठित छानविन समिति र सर्वदलीय संसदीय समितिका प्रतिवेदनहरु सार्वजनिक हुनुपर्ने माग गरिएको छ ।

त्यस्तै २०७२ भदौ ८ गते थारु समुदायका घर पसलमा आगजनी गर्नेलाई पक्राउ गरेर कानून बमोजिम कारवाही हुनुपर्ने, थरुहट संघर्ष समिति र सरकारबीच २०६५ चैत १ गतेको ६ बुँदे सम्झौता र थारु संघर्ष समितिबीच २०६९ जेठ १० गतेको १० बुँदे सम्झौता अविलम्ब कार्यान्यन गर्न माग गरिएको छ ।

सम्मेलनमा कुनै अप्रिय घटना हुन नदिन ब्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । करिव ३ हजार बढी सशस्त्र र नेपाल प्रहरीले सुरक्षा दिएका थिए । सम्मेलन सबैको सहयोगमा सभ्य र भव्य रुपमा सम्पन्न भएको आयोजक पक्षले जनाएको छ । सम्मेलनका क्रममा सद्भाव रक्तदान कार्यक्रमको समेत आयोजना गरिएको थियो । रक्तदान कार्यक्रममा थारु र पहाडी दुवै समुदायका व्यक्तिहरुले रगत दान गरेका थिए ।

सम्मेलनमा २५ जिल्लाका प्रतिनिधि र प्रवेक्षकहरुको सहभागीता रहेको थियो । बन्द सत्रमा सम्मेलन तयारी समितिका संयोजक मीनराज चौधरीले थरुहट आन्दोलन, माग मुद्दाको अवस्था र अबको बाटो विषयक अवधारणा पत्र प्रस्तुत गरेका थिए । सोही अवधारणा पत्र माथि छलफल गर्दै सम्मेलन समापन भएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ ९, २०७६  १५:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update