टीकापुर, असार ४
खक्रौलास्थित सत्ती भन्सार कार्यालयमा क्वारेन्टाइन स्थापनाको माग गर्दै आजदेखि संघीय जनप्रतिनिधिहरुलाई एसएमएस पठाउन थालिएको छ ।
क्वारेन्टाइनको माग गर्दै आन्दोलनमा उत्रिएको टीकापुर उद्योग वाणिज्य संघको आव्हनमा कैलाली क्षेत्र नं. १, २ र ३ का स्थानीयहरुले यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने संघीय प्रतिनिधिलाई एसएमएस पठाउन थालेका हुन् ।
कैलालीका तीनवटा निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गर्ने संघीय सांसद रञ्जिता श्रेष्ठ चौधरी, ईश्वरीदेवी न्यौपाने, मदनकुमारी शाह गरिमा, नारायणदत्त मिश्र, रुपा शोसी चौधरी, अरुणकुमार चौधरी र गंगाराम चौधरीको मोबाइलमा एसएमएस पठाउन थालेको हुन् ।
तीनवटै क्षेत्रबाट प्रतिनिधि सभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सांसदहरुलाई पठाइएको एसएमएसमा ‘माननीयज्यू, नमस्कार, ०७५ मै मुल भन्सार भएको सत्ती भन्सारमा क्वारेन्टाइन कहिले स्थापना हुन्छ ?’ भनिएको छ ।
भन्सार कार्यालयमा क्वारेन्टाइन स्थापनाको माग गर्दै संघले यसअघि सत्तीस्थित क्वारेन्टाइनको कार्यालयमा बोर्ड राख्ने, भन्सार कार्यालयमा तालाबन्दी गर्ने, प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो । त्यस्तै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कलमबहादुर शाह, कैलालीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको थियो ।
क्वारेन्टाइन कार्यालय नहुँदा यस क्षेत्रका व्यवसायीहरुले अन्यत्रबाट भन्सार गर्नुपरेकाले आन्दोलनमा उत्रिन बाध्य भएको संघका वरिष्ठ उपाध्यक्ष सन्तोष खड्काले बताए । उनले संघले टीकापुर क्षेत्रबासीलाई यस क्षेत्रका सांसदहरुलाई एसएमएस गर्न आग्रह गरेका छन् ।