Hamro Patra
तीनदिने थरुहट थारुवान सम्मेलन सुरु

टीकापुर, भदौ ७
थरुहट थारुवान राष्टिय सम्मेलन आजदेखी टीकापुरमा सुरु भएको छ । टीकापुरस्थित सिटी हलमा सुरु भएको सम्मेलनको एक समारोहकाबीच थरुहट थारुवान आन्दोलनका क्रममा ज्यान गुमाएका शहिद परिवारका सदस्यहरुले उद्घाटन गरेका छन ।

सम्मेलनलाई पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुख्य वक्ताका रुपमा सम्बोधन गरेका छन । सम्मेलनलाई सम्बोधन गर्दै डा. भट्टराईले आफूहरु माथि वर्षौदेखी भैरहेको दमनको विद्रोह स्वरुप थारु समुदायले टीकापुर घटना घटेको बताए । उनले त्यसलाई विद्रोहको स्वरुपका रुपमा बुझ्नुपर्ने बताए ।

Khadga Memorial And Janajagriti

उनले थारु समुदायले बराबरीको अनुभूति गरे मात्रै सद्भाव हुने बताउँदै सुरक्षा घेरामा गरिएको कार्यक्रमले सद्भावको सन्देश दिन नसक्ने बताए ।
उनले अहिलेको राज्य व्यवस्था आफूहरुले जनयुद्धका क्रममा अभ्यास गरेको संघीयताको खिलाप गैरहेको बताउँदै तिनै जनयुद्धका सहयात्रीले सञ्चालन गरेको राज्य व्यवस्था प्रति दुःखी रहेको बताए ।

उनले सुदूरपश्चिम प्रदेशलाई विचित्रको प्रदेश बनेको अथ्र्याए । उनले सुदूरपश्चिमका सात पहाडी जिल्ला र कर्णालीलाई समेटेर खस आर्य समुदायको अपनत्व हुने छुट्टै प्रदेश बन्नुपर्ने र कञ्चनपुरदेखी चितवनसम्म थारु समुदायको प्रदेश हुनुपर्नेमा जोड दिए । उनले आफ्नो जातीय आधारमा प्रदेश नबनेसम्म आन्दोलनमा सकृय रहन थारु समुदायलाई आह्वान गरेका छन ।

उनले थारु समुदायको आन्दोलनमा यस क्षेत्रमा बस्ने खस आर्य समुदायले समेत साथ दिनुपर्ने बताए । उनले थारु समुदायको आन्दोलन खस आर्य समुदायका विरुद्ध नभई केन्द्रिकृत राज्य सत्ताका विरुद्ध हुनुपर्ने बताए ।

सम्मेलनमा नेकपा क्रान्तिकारीका संयोजक मोहन वैद्य, राजपाका लक्ष्मणलाल कर्ण, काँग्रेसका सुरेन्द्र चौधरी, पत्रकार किशोर नेपाल, लेखक खगेन्द्र संग्रौला लगायतले सम्बोधन गरेका थिए । उनीहरुले थारु समुदायको मुद्दा सम्बोधन गर्न राज्यको नेतृत्वमा बसेकाहरु तयार हुनुपर्नेमा जोड दिए ।

उनीहरुले जेलमा रहेका साँसद रेशमलाल चौधरी लगायत ११ जनाको रिहाई हुनुपर्नेमा जोड दिएका छन । साँसद चौधरी कैलाली क्षेत्र नं. १ बाट संघीय साँसदमा अत्याधिक मतले विजयी भएका थिए । टीकापुर घटनामा पक्राउ परेका अन्य १६ जना मध्ये ३ जनालाई अदालतले सफाई दिएको छ भने अन्य सबै जना ३ वर्ष कैद भुक्तान गरेर रिहा भएका छन ।

सम्मेलनमा देशका २५ जिल्लाका थारु अगुवाहरुको सहभागीता रहेको छ । उनीहरुले थारु आन्दोलनको आगामी कार्यदिशाका बारेमा छलफल गर्ने बताईएको छ ।

सम्मेलनको उद्घाटन समारोहमा झण्डै ४ हजारको उपस्थिति थियो । सम्मेलन उद्घाटन समारोहमा विभिन्न कलाकारहरुले थारु कला संस्कृति प्रस्तुत गरेका थिए । उनीहरुले गीत संगीतका माध्यमबाट आफ्नो हकअधिकारका लागि एकजुट हुन आह्वान गरेका थिए ।


उद्घाटन शान्तिपूर्ण सम्पन्न
सम्मेलनको उद्घाटन समारोह निकै शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । टीकापुरमा सम्मेलन हुने भनिएपछि यहाँको शान्ति सुव्यवस्थालाई लिएर निकै चासोका साथ हेरिएको थियो ।

सम्मेलनलाई लक्षित गरेर जिल्ला सुरक्षा समिति कैलालीले टीकापुरमा ब्यापक मात्रामा सशस्त्र र नेपाल प्रहरी परिचालन गरेको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले कुनै अप्रिय घटना नभएको जानकारी दिए ।

सम्मेलन तयारी समिति कैलालीका संयोजक माधव चौधरीले उद्घाटन समारोह सौहार्दपूर्ण माहौलमा सम्पन्न भएको बताए ।

प्रकाशित मिति: शनिबार, भदौ ७, २०७६  १८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update