Hamro Patra
क्वारेन्टाइन नहुँदा सत्ती भन्सारको राजश्वमा भारी गिरावट

टीकापुर, असार ४

कुनै समय आर्थिक वर्षको शुरुवाती चार महिनामै वार्षिक लक्ष्य बराबरको राजश्व संकलन गर्ने खक्रौलास्थित सत्ती भन्सार कार्यालयमा क्वारेन्टाइन नहुँदा राजश्वमा भारी गिरावट आएको छ ।

भन्सार कार्यालयमा क्वारेन्टाइन नहुँदा खाद्यजन्य तथा पशुजन्य वस्तुहरुको भन्सार हुन नसकेपछि राजश्वमा भारी गिरावट आएको हो ।

Khadga Memorial And Janajagriti

आर्थिक वर्ष २०७९/०८० का लागि वार्षिक १६ करोड ८४ लाख ४२ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएको सत्ती भन्सार कार्यालयले आर्थिक वर्षको अन्तिम एक महिना बाँकी हुँदा ६ करोड ८२ लाख ९ हजार रुपैयाँ मात्र राजश्व संकलन भएको हो ।

भन्सार कार्यालयका अनुसार आर्थिक वर्षको साउनदेखि जेठ महिनासम्म लक्ष्यको ४०.२५ प्रतिशत मात्र राजश्व संकलन भएको छ ।

गत साउनमा ४७ लाख २६ हजार, भदौमा २५ लाख ८१ हजार, असोजमा १ करोड १४ लाख ८३ हजार, कार्तिकमा ३२ लाख ९९ हजार र मंसिरमा २४ लाख ३९ हजार राजश्व संकलन भएको छ ।

त्यस्तै पौषमा ८१ लाख ५१ हजार, माघमा ४८ लाख ८५ हजार, फागुनमा ७५ लाख ८५ हजार, चैत्रमा ८१ लाख ९५ हजार, बैशाखमा ५७ लाख ७४ हजार र जेठमा ९० लाख ९१ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।

आर्थिक वर्ष ०७८/०७९ मा २० करोड ५८ लाख ६१ हजार संकलन लक्ष्य रहेकोमा १० करोड ६७ लाख ९३ हजार संकलन गरेको थियो । यो लक्ष्यको झण्डै ५२ प्रतिशत मात्रै हो ।

कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/०७८ को ६ करोड ७ लाख रुपैयाँको लक्ष्य कार्यालयले पहिलो चौमासिकमै ६ करोड ८ लाख संकलन गरेको थियो । सो आर्थिक वर्षमा १५ करोड ८३ लाख ७ हजार रुपैयाँ संकलन गरेको थियो ।

छ महिना पहिलेसम्म भन्सार कार्यालयबाट आउने खाद्यपदार्थको मेनुवल्ली क्वारेन्टाइन हुने गरेको थियो । छ महिना यता विभागको सिस्टममै सत्ती भन्सार नभएपछि क्वारेन्टाइन गर्नुपर्ने खाद्यजन्य पदार्थको भन्सार हुन नसक्दा राजश्वमा भारी गिरावट आएको टीकापुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सन्तोष खड्काले बताए ।

‘झण्डै छ महिना भयो, क्वारेन्टाइनको अनलाइन सिस्टममै सत्ती भन्सार कार्यालयको नाम नै छैन’ उपाध्यक्ष खड्काले भने ‘जसका कारण यो भन्सार भएर आउने खाद्यजन्य वस्तु धनगढी वा नेपालगञ्ज जानुपर्ने बाध्यता छ, जसले गर्दा भन्सारको राजश्वमा भारी गिरावट आएको हो ।’

क्वारेन्टाइन नहुँदा यस क्षेत्रका खाद्य उद्योगहरुमा आउने कच्चा पदार्थ अन्यत्रबाट आएकाले भन्सारको राजश्वमा गिरावट आएको भन्सार प्रमुख तिर्थराज पासवानले स्वीकारे ।

‘राजश्व लक्ष्य अनुसार नउठ्नुका धेरै कारण छन्’ प्रमुख पासवानले भने ‘मुख्य कारण भने क्वारेन्टाइन छैन, अनलाइन सिस्टममै हाम्रो भन्सार देखिँदैन, व्यवसायी अरु भन्सारबाट ल्याउन बाध्य भएपछि राजश्वमा कमी त आउने नै भयो ।’

भन्सार प्रमुख पासवानले कारण केही समय पहिले सरकारले एलसी गरेर सामान ल्याउन रोक लगाउनु, आर्थिक मन्दी हुनु, भन्सारसम्म आउने भारततर्फको बाटो राम्रो नहुनु जस्ता कारणले समेत राजश्वमा गिरावट आएको बताए ।

‘टायल्स, मार्बल जस्ता बढी भन्सार संकलन हुने सामान स्थानीय व्यवसायी भन्दा अरुको नगर्न विभागले गरेको निर्देशनका कारण पनि राजश्वमा कमी आएको हो’ प्रमुख पासवानले भने ‘एलसी गरेर आउने सामान आउन नसक्नु, आर्थिक मन्दी हुनु पनि राजश्व संकलनमा बाधक बनेका हुन् ।’

२०७५ साल असार २० गतेको मन्त्रिपरिषद बैठकबाट मुल भन्सारका रुपमा स्तरोन्नति गरिएको भए पनि हालसम्म सत्ती भन्सार कार्यालयमा क्वारेन्टाइन नहुँदा लक्ष्य अनुसार राजश्व संकलनमा गिरावट आएको हो ।

भन्सारमा क्वारेन्टाइन नहुँदा यस क्षेत्रका व्यवसायीले अन्यत्र जानुपर्ने र सामान समेत महङ्गो हुने गरेको भन्दै क्वारेन्टाइनको माग गर्दै टीकापुर उद्योग वाणिज्य संघको नेतृत्वमा यस क्षेत्रका बासिन्दा आन्दोलनमा छन् ।

केही दिन अघि संघीय सांसदको शुन्य समयमा संसद ईश्वरी न्यौपानेले सत्ती भन्सारमा तत्काल क्वारेन्टाइन स्थापना गर्न माग गरेकी थिइन् । ‘सरकारले तत्काल भन्सार कार्यालयमा क्वारेन्टाइनको व्यवस्था गरोस्’ नेपाली काँग्रेसकी केन्द्रिय सदस्य समेत रहेकी न्यौपानेले भनिन् ‘होइन भने हामी जनप्रतिनिधि समेत संघसंस्थाले गरेको क्वारेन्टाइनको आन्दोलनमा सहभागी हुन सडकमा जान बाध्य हुनेछौं ।’

व्यवसायीहरुले अघिल्लो आइतवार भन्सार कार्यालयमा सरकारलाई दबाव दिन भन्दै तालाबन्दी समेत गरेका थिए ।

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १४:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update