Hamro Patra
निर्माण सामग्री थुपार्ने थलो बन्यो टीकापुर विमानस्थल

टीकापुर, असार ३

कुनै बेला चल्तीको विमानस्थलका रुपमा रहेको टीकापुर विमानस्थल यतिबेला निर्माण व्यवसायीको सामग्री थुपार्ने थलो बनेको छ । लामो समयदेखि बन्द अवस्थामा रहेको विमानस्थल सञ्चालन हुन नसकेपछि स्थानीय निर्माण व्यवसायीहरुले निर्माण सामग्री थुपारेका हुन् ।

व्यवसायीहरुले बालुवा, ग्राभेल, गिट्टी, माटो, रुखका जरा तथा विद्युतका पोलहरु विमानस्लथमा थुपारेका छन् । विमानस्थलको पश्चिमी भाग र किनार छेउमा निर्माण सामग्रीहरु असरल्ल राखिएको छ ।

Khadga Memorial And Janajagriti

बन्द अवस्थामा रहेको भए पनि विमानस्थलमा जथाभावी निर्माण सामग्री थुपार्नु गलत भएको स्थानीयहरु बताउँछन् । टीकापुर नगरपालिका वडा नं. १ का रुपेश साउँदले विमानस्थलमा निर्माण सामग्री राखेर कुरुप बनाउनु गलत भएको बताए ।

‘विमानस्थल जतिसुकै बेला काम लाग्न सक्ने हुन्छ’ साउँदले भने ‘नजिकै रहेका एयरपोर्टहरुमा प्लेन चलिरहेको छ, कहिलेकाहीं आपतकालीन अवतरण गर्नका लागि समेत एयरपोर्ट क्लियर राख्नुपर्ने हो तर यहाँ जहाँतहीं निर्माण सामग्री राखिएको छ, विद्युतका पोल छन् ।’

वि.सं. २०४१ सालमा निर्माण भएको विमानस्थलमा २०४६ सालसम्म राम्रै सञ्चालनमा रह्यो । यहाँबाट सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी जिल्ला र काठमाडौंसम्म जहाज चल्थ्यो । केही समय बन्द रहेको विमानस्थल २०४९ देखि २०५१ सम्म हवाई सेवा पुनः सुचारु भएको थियो । यहाँ तत्कालीन शाही नेपाल वायुसेवा निगमले सेवा दिन्थ्यो ।

२०५८ बैशाख १० गते बन्द विमानस्थलको भवनमा तत्कालीन विद्रोही माओवादीले आगजनी गरेपछि विमानस्थल ठप्प भएको थियो । झण्डै गौचरणमा परिणत भएको विमानस्थलमा २०६१ मा मुक्त कमैयाहरुले अतिक्रमण गरेर घरटहरा बनाए । मुक्त कमैयाहरु समेत स्थायी बसोबासको व्यवस्था भएपश्चात् २०६९ मा विमानस्थल छोडेका थिए ।

त्यसयता पटक पटक मर्मतका नाममा करोडौं रकम खर्च भएको भए पनि विमानस्थल सञ्चालन हुन सकेको छैन । ‘पटक पटक टीकापुर क्षेत्रले विमानस्थल सञ्चालनका लागि माग गर्दै आइरहेका छन्’ स्थानीय उपेन्द्र खड्काले भने ‘माग सम्बोधन नभएपछि गौचरणमा परिणत भएको विमानस्थल यतिबेला निर्माण सामग्री थुपार्ने थलो बनेको छ ।’

पछिल्लो समय पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आलेले विमानस्थल पुनः सञ्चालनका लागि भन्दै दुई करोड रुपैयाँमा विमानस्थल मर्मत गराएका थिए । पटक पटक पुनः सञ्चालनका लागि भन्दै सम्भाव्यता अध्ययन समेत भएको विमानस्थलमा निर्माण सामग्री थुपारिए पनि सम्बन्धित निकायले ध्यान नदिएको स्थानीयहरु बताउँछन् ।

प्रकाशित मिति: आइतबार, असार ३, २०८०  १६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update