Hamro Patra
टीकापुरका योजना शाखा प्रमुख जोशीलाई कारवाही

टीकापुर, असार ३

टीकापुर नगरपालिकाका योजना शाखा प्रमुख नवराज जोशीको जिम्मेवारी खोसिएको छ । कार्यपालिका बैठकले गरेको निर्णय विपरित आफुखुशी काम गर्न खोजेपछि उनलाई शाखाको जिम्मेवारीबाट मुक्त गरिएको स्रोतले जानकारी दिएको छ ।

उनले कार्यपालिका बैठकको निर्णय अनुसार मिति २०७९ चैत ७ गते प्रकाशित सूचनामा उल्लेख भएको बाहेकको सडक मर्मत गर्न खोजेका थिए । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरस्थित कार्यालयमा मुद्दा तामेलीमा रहेको सडक मर्मत गर्न खोजेको बताईको छ । जुन सडक यसअघि समेत मर्मत भैसकेको थियो ।

Khadga Memorial And Janajagriti

टीकापुर नगरपालिका वडा नं. ७ स्थित सोनाहाफाँटा स्कुलदेखी डल्फिन क्षेत्र जाने सडक २०७८ असारमा निर्माण भएको थियो । सो सडक २२ लाख ४४ हजार रुपैयाँ लागतमा आशिष कन्स्ट्रक्सन एण्ड कन्सर्नले निर्माण गरेको थियो ।

स्थानीयका अनुसार २६२ मिटर लामो सडक निर्माण सम्पन्न भएको चार महिनामै भत्किए पछि सडक विरुद्ध आयोगमा उजुरी परेको थियो । आयोगको टोलीले सडकको स्थलगत परीक्षण गरेर गुणस्तरहिन भएको प्रमाणित गरेको थियो । सडक निर्माण गुणस्तरहिन भएपछि निर्माण कम्पनीले २०७९ असारमा सडक पुनः निर्माण गर्यो । उसले २०७९ असोजमा धरौटी वाफत्को रकम नगरपालिकाबाट फिर्ता लग्यो ।

निर्माण कम्पनीले धरौटी फिर्ता लगेपछि सडक पुनः भत्किन सुरु भयो । दोस्रोपटक समेत सडक भत्किन थालेपछि नगरपालिकालाई टाउको दुखाई बन्यो । तत्कालिन प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र शाखा प्रमुख जोशीले आयोगको कार्यालय पुगेर बयान समेत दिएका थिए । सडक निर्माणका क्रममा लापरवाही गरेको भन्दै जोशी माथि दवाव पर्यो । स्थानीयले समेत दवाव दिन थाले ।

नगरपालिकाले निर्माण गरेका अन्य सडकको अवस्था पनि गुणस्तरीय छैन । ती सडकका बारेमा समेत स्थानीयले आवाज उठाउन थालेपछि जोशी आत्तिए । उनले पटकपटक सडक भत्किनु र आयोगमा उजुरी समेत रहेकाले अन्यत्रको मर्मत गर्ने सडकको बजेट खर्चेर विवादमुक्त हुन चाहेर नै सूचीमै नभएको सडक मर्मत थालेका हुन ।

नगरपालिकाका उपप्रमुख खडकबहादुर शाह नेतृत्वको टोलीले अनुगमनका क्रममा योजनामा नरहेको सडक मर्मत भैरहेको भेटाए । टोलीले निर्माण कम्पनीसँग सोधपुछ गर्दा जोशीकै निर्देशनमा सडक मर्मतको काम सुरु भएको जानकारी पाएको थियो ।

उनले आयोगको उजुरीबाट उम्किनका लागि नगरपालिकालाई नै जानकारी नदिएर आफु खुशी सडक मर्मत गर्न लगाएको बुझिएको छ । नगर पालिकाले कारवाही गरेर जिम्मेवारी मुक्त गरेपछि जोशी अहिले आफ्नै खर्चमा सडक मर्मत गरिरहेका छन । उनको जिम्मेवारी ईञ्जिनियर नविन ओझालाई दिईएको छ ।

प्रकाशित मिति: आइतबार, असार ३, २०८०  १६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update