टीकापुर, असार २
कञ्चनपुरमा अनाधिकृत रुपमा मेडिकल सञ्चालन गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
अनाधिकृत रुपमा मेडिकल पसल सञ्चालन गरी औषधी बिक्री वितरण तथा उपचार गर्ने गरेको आरोपमा प्रहरीले भीमदत्त नगरपालिका क्षेत्रबाट दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भीमदत्त नगरपालिका वडा नं. १३ को बडैपुरमा मेडिकल सञ्चालक ३५ वर्षीय शान्तिरजन बैरागी र वडा नम्बर ९ मा रहेको ब्रहमदेवमा मेडिकल सञ्चालक ३९ वर्षीय गोकुल मण्डल रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरतराज गिरीले जानकारी दिए ।
उनका अनुसार उनीहरुले अनुमति नलिएर मेडिकल पसल सञ्चालन गरेर औषधी बिक्री वितरण र बिरामीको उपचार समेत गर्ने गरेको गुनासोका आधारमा अनुसन्धानका लागि पक्राउ गरिएको हो ।
पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।