Hamro Patra
विवादित सडक आफ्नै खर्चमा बनाउँदै प्राविधिक जोशी

टीकापुर, असार २

निर्माण भएको दुई वर्ष नपुग्दै भत्किएर गुपचुपमै मर्मत गर्न थालिएको सोनाहाफाँटा स्कुलदेखि डल्फिन क्षेत्रसम्मको सडक निर्माणमा संलग्न प्राविधिकले आफ्नै खर्चमा बनाउन थालेका छन् ।

टीकापुर नगरपालिका वडा नं. ७ को सोनाहाफाँटा स्कुलदेखि डल्फिन क्षेत्र जाने सडक नगरपालिकाका प्राविधिक नवराज जोशीले आफ्नै खर्चमा बनाउन थालेका हुन् ।

Khadga Memorial And Janajagriti

नगरपालिकालाई समेत गुमराहमा राखेर निर्माण भएको दुई वर्ष नपुग्दै दुई पटक मर्मत भएको सडक भकाभक खनेपछि प्राविधिक जोशीले अन्ततः आफ्नै खर्चमा सडक बनाउन बाध्य भएका हुन् ।

आशिष कन्स्ट्रक्सन एण्ड कन्सर्नले २०७८ असारमा २२ लाख ४४ हजार रुपैयाँमा निर्माण सम्पन्न गरेको सडक चार महिनामै भत्किएको थियो । २६२ मिटरको उक्त सडक गुणस्तरीय नभएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय कञ्चनपुरमा विचाराधिन रहेको सडक गुपचुपमै भकाभक मर्मतका लागि खन्न निर्देशन दिने प्राविधिक जोशीको कर्तुतबारे हाम्रोपत्रमा समाचार प्रकाशित भएको थियो ।

बाटो निर्माणका लागि आउने बजेटबाट गुणस्तरीय बाटो निर्माण गर्नुको साटो जनताका आँखामा धुलो हाल्ने काम भएको स्थानीयहरु बताउँछन् ।जनताको पसिनाबाट तिरेको करले बनेको सडक पटक पटक मर्मत गर्नुपर्दा राज्यको लगानी खेर गइरहेको छ । मर्मतका लागि गरिने खर्चले सोही सडकको अगाडि भाग बनाउन सकिने जनप्रतिनिधि बताउँछन् ।

पटक पटक भत्किँदै र मर्मत हुँदै आएको उक्त सडक नगरपालिकाका प्राविधिकको कमजोरीले पुनः मर्मत गर्नुपर्ने अवस्था आएको हो । प्राविधिकले गरेको गल्तीका कारण आफ्नै खर्चमा सडक पुनः कालोपत्रे गरिरहेको नगर प्रमुख रामलाल डगौरा थारुले बताए ।

सरकारी ढुकुटीबाट निर्माण भएको सडक गुणस्तरीय नहुँदा पटक पटक मर्मतका नाममा लाखौं रकम बालुवामा पानी बन्यो । नगरपालिकालाई समेत गुमराहमा राखेर मनोमानी ढंगले सडक मर्मतका नाममा सरकारी ढुकुटी सक्काउने प्रपञ्च सार्वजनिक भएपछि प्राविधिक जोशी आफ्नै खर्चमा सडक मर्मत गर्न थालेका हुन् ।

प्राविधिक जोशीसहितको टिमले आफ्नै खर्चमा बनाइरहेको सडकको गुणस्तरीयतामा नगरपालिका चनाखो हुन भने आवश्यक छ ।

https://www.youtube.com/watch?v=Qsp5cqEwEq0

 

प्रकाशित मिति: शनिबार, असार २, २०८०  १७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update