Hamro Patra
सदनमा उठ्यो क्वारेन्टाइनको माग

टीकापुर, असार १

कैलालीको टीकापुर नगरपालिका वडा नं. ९ स्थित खक्रौलामा रहेको सत्ती भन्सार कार्यालयले तत्काल क्वारेन्टाइनको व्यवस्था गर्न संघीय संसदमा आवाज उठेको छ ।

आज बसेको संसदको शुन्य समयमा बोल्दै सांसद ईश्वरी न्यौपानेले खक्रौलास्थित सत्ती भन्सार कार्यालयमा तत्काल क्वारेन्टाइनको व्यवस्था गर्न सरकारसँग माग गरेकी हुन् ।

CMA Staff

कैलाली क्षेत्र नं. १ बाट नेपाली काँग्रेसकी समानुपातिक सांसद न्यौपानले भनिन् ‘२०५२ सालदेखि उक्त भन्सार नाकामा क्वारेन्टाइनको व्यवस्था भई ०५९ सालसम्म सञ्चालनमा रहे पनि पछिल्लो समयमा उक्त नाकामा क्वारेन्टाइनको सुविधा नहुँदा उक्त नाकाबाट फलफूल, खाद्यन्न, कच्चा पदार्थ लगायतका सामाग्री आयातमा स्थानीय बासिन्दादेखि उद्योग व्यवसायीहरुले समस्या झेलिरहेको भन्दै उक्त नाकामा क्वारेनटाइनको व्यवस्था गरिदिन सरकारसँग माग गर्दछु ।’

‘उक्त क्षेत्रका स्थानीय बासिन्दादेखि उद्योग व्यवसायीहरुले कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधित्व गर्ने सांसदहरुलाई ध्यानाकर्षण गराउँदै पत्रपत्रिका र म्यासेजमार्फत झक्झकाइरहेका छन्’ संसदमा बोल्दै भनिन् ‘यदि यसबारे सरकार र सरोकारवाला निकायले उक्त समस्याको समाधानका लागि पहल नगरे आफूहरु पनि जनतासँगै सडक आन्दोलनमा जानुको विकल्प छैन ।’

खक्रौलास्थित भन्सार कार्यालयमा क्वारेन्टाइन स्थापनाको माग गर्दै टीकापुर उद्योग वाणिज्य संघको नेतृत्वमा चरणबद्ध आन्दोलनका कार्यक्रमहरु भइरहेका छन् । संघको नेतृत्वमा भन्सारमा तालाबन्दी, सत्तीस्थित क्वारेन्टाइनमा बोर्ड राख्ने, जिल्ला प्रशासन कार्यालय कैलालीमा ध्यानाकर्षण पत्र तथा मुख्यमन्त्री कमलबहादुर शाह समक्ष ज्ञापन पत्र बुझाइएको छ ।

हिजो मात्रै टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुले संघीय सरकारका कृषि मन्त्री डा.बेदुराम भुसाललाई भेटी क्वारेन्टाइनको माग गर्दै ज्ञापन पत्र बुझाएका थिए ।

यस्तो छ, सांसद न्यौपानेले संसदमा उठाएको माग

‘हल्लो कैलाली क्षेत्र नं. १ का माननीयज्युहरु ! आफ्नो क्षेत्रमा क्वारेन्टाइन ल्याउने ल्याकत छ कि नाई ?

सभामुख महोदय,

त्यस क्षेत्रको समस्यालाई पत्रिकामार्फत् जनताका प्रतिनिधिलाई झक्झकाएको वाक्य हुन ती !

कैलालीको खक्रौलास्थित सत्ती भन्सार कार्यालयमा क्वारेन्टाइनको माग गर्दै टीकापुर उद्योग वाणिज्य संघ आन्दोलनमा उत्रिएको छ ।

२०५२ सालमा शैलजा आचार्य कृषि मन्त्री हुँदा आएको क्वारेन्टाइन २०५९ साल सम्म सञ्चालनमा थियो । २०७५ असार २० गतेको मन्त्रीपरिषदको निर्णयले खक्रौला भन्सारलाई मुल भन्सारमा स्तरोन्नति गरे पनि भन्सार कार्यालयमा क्वारेन्टाइनको व्यवस्था नहुँदा फलफुल, खाद्यान्न, खाद्यजन्य कच्चापदार्थ लगायतका अन्य सामान समेत आयात गर्दा यस क्षेत्रका बासिन्दा व्यापारी, उद्योगपतीले अनेकौं समस्या झेल्दै आइरहेका छन् ।

क्वारेन्टाइन नहुँदा भारतीय सीमावर्ती तिकुनियाँबाट त्यहाँको भन्सार तिरिसकेपछि सिधै खक्रौलाबाट भन्सार तिरेर सामान ल्याउन मिल्दैन नेपालगन्ज या धनगढी जानुपर्ने बाध्यता छ । सरकारको दृष्टि पुगोस्, खक्रौला भन्सारमा छिट्टै क्वारेन्टाइनको ब्यवस्था गरियोस् ।
सभामुखमार्फत् सम्बन्धित मन्त्रीज्युको ध्यानाकर्षण गराउँछु ।

अन्यथा जनताका प्रतिनिधि हामी जनतासँगै सडकमा जानुको विकल्प छैन । धन्यवाद ।’

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  १५:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update