टीकापुर, जेठ ३०
कैलालीको टीकापुर नगरपालिका वडा नं. ९ खक्रौला स्थित सत्ती भन्सार कार्यालयमा तालाबन्दी गरिएको छ । प्रयोगशालासहित क्वारेन्टाइनको माग गर्दै टीकापुर उद्योग वाणिज्य संघको नेतृत्वमा टीकापुर क्षेत्रका व्यवसायी, उद्योगी, समाजसेवी, राजनीतिककर्मीहरुले आज बिहान भन्सार कार्यालयमा तालाबान्दी गरेका हुन् ।
यस क्षेत्रका बासिन्दाले २०७५ सालमा नेपाल सरकार मन्त्रीपरिषद स्तरीय बैठकबाट सत्ती छोटी भन्सार कार्यालयबाट मुल भन्सारका रुपमा स्तरोन्नति भएसँगै क्वारेन्टाइनको माग गर्दै आएका थिए ।
विगतदेखि माग गर्दै आइरहेको प्रयोगशालासहित क्वारेन्टाइन स्थापना गर्नुको साटो मेनुवलमा समेत नहुने गरी भन्सारको सिस्टमबाट हटाएपछि संघले क्वारेन्टाइनको माग गर्दै आन्दोलन गरिरहेको छ ।
यसअघि जेठ २८ गते उद्योग वाणिज्य संघले इलाका प्रशासन कार्यालयमार्फत् सरकारलाई दुई दिने अल्टिमेटमसहित ज्ञापनपत्र बुझाएको थियो ।
सत्ती भन्सारमा प्रयोगशालासहितको क्वारेन्टाइन नहुँदा व्यवसायीहरूले दुःख पाइएका छन् । क्वारेन्टाइन नहुँदा यहाँका व्यवसायीहरू धनगढी वा नेपालगन्ज जानुपर्ने बाध्यता छ ।
भारतीय कस्टमले भन्सार गरे पनि सत्ती भन्सारले सिस्टमबाटै सत्ती भन्सार हटाएकाले कच्चा पदार्थ लामो समयदेखि भन्सारमै थन्किएको व्यापारीहरू बताउँछन् । भन्सार कार्यालयमा क्वारेन्टाइन नहुँदा फलफूल, खाद्यान्न, खाद्यजन्य कच्चा पदार्थ आयात गर्ने यस क्षेत्रका व्यवसायीहरूले समस्या झेल्दै आइरहेका छन् ।