Hamro Patra
सत्ती भन्सारमा क्वारेन्टाइनको माग गर्दै वाणिज्य संघ आन्दोलन

टीकापुर, जेठ २७

कैलालीको खक्रौलास्थित सत्ती भन्सार कार्यालयमा क्वारेन्टाइनको माग गर्दै टीकापुर उद्योग वाणिज्य संघ आन्दोलनमा उत्रिएको छ । छोटी भन्सार कार्यालयबाट मुल भन्सारमा स्तरोन्नति भएसँगै क्वारेन्टाइनको माग गर्दै आए पनि हालसम्म सम्बोधन नहुँदा संघ आन्दोलनमा उत्रिएको हो ।

२०७५ असार २० गतेको नेपाल सरकार मन्त्री परिषदको निणर्य अनुसार खक्रौलास्थित सत्ती भन्सारलाई मुल भन्सारमा स्तरोन्नति गरिएको थियो ।

Khadga Memorial And Janajagriti

पटक पटक सरकारका विभिन्न तहहरुमा मुल भन्सारसँगै क्वारेन्टाइनको स्थापना हुनुपर्ने माग गर्दै आएको संघले पत्रकार सम्मेलन गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

संघका कार्यवाहक अध्यक्ष सन्तोष खड्काले संघीय सरकारले टीकापुर क्षेत्रलाई हेपेको महशुस गर्दै आन्दोलनमा उत्रिन बाध्य हुनु परेको बताए ।

‘विगतका वर्षदेखि नै माग गर्दै आइरहेको क्वारेन्टाइन स्थापना गर्नुको साटो मेनुवलमा समेत नहुने गरी भन्सारको सिस्टमबाट हटाइएको छ’ कार्यवाहक अध्यक्ष खड्काले भने ‘संघले आइतवार इलाका प्रशासन कार्यालय टीकापुरमार्फत् सरकारलाई दुई दिने अल्टिमेटम दिँदै ज्ञापनपत्र बुझाउँदै छौं ।’

संघका कोषाध्यक्ष लोकेश साउँदले दुई दिनभित्र भन्सारमा क्वारेन्टाइन स्थापना नगरे भन्सार कार्यालयमा तालाबन्दी गर्ने, टीकापुर बजार बन्द गर्ने जस्ता संघर्षका कार्यक्रम गर्न बाध्य हुने बताए ।

‘भन्सारमा क्वारेन्टाइन नहुँदा व्यवसायीहरुले दुःख पाइरहेका छन्, धनगढी, नेपालगञ्जबाट भन्सार गर्नुपर्ने बाध्यता छ, त्यसकारण क्वारेन्टाइन स्थापनाका लागि सहयोग गर्न संघ तयार छ’ कोषाध्यक्ष साउँदले भने ‘२०६५ सालदेखि नै हामीले माग गर्दै आइरहेको क्वारेन्टाइन स्थापना नभए संघर्षका कडा कदम चाल्न बाध्य हुनेछौं ।’ कोषाध्यक्ष साउँदले क्वारेन्टाइन नहुँदा यस क्षेत्रका व्यापारी, व्यवसायीहरुले दुःख पाइरहेको बताए ।

टीकापुरका युवा उद्यमी मुकेश बमले भन्सारमा क्वारेन्टाइन नहुँदा चामल ल्याउन निकै समस्या झेल्नु परेको गुनासो गरे ।

‘भारतीय सीमावर्ती तिकुनियाँबाट चामलको कच्चा पदार्थ ल्याउँदै आएका थियौं, त्यहाँ २० प्रतिशत भन्सार तिरिसकेपछि खक्रौलास्थित भन्सारले धनगढी या नेपालगञ्ज जान भन्छ’ बमले भने ‘मुल भन्सार भएको यतिका समय हुँदा समेत क्वारेन्टाइन स्थापना हुन सकेन, हामीलाई कच्चा पदार्थ ल्याउन निकै महङ्गो परिरहेको छ भने भन्सारको राजश्वमा समेत कमी आइरहेको छ ।’

बमका अनुसार भारतीय कस्टमले भन्सार गरे पनि सत्ती भन्सारले सिस्टमबाटै सत्ती भन्सार हटाएकाले आफ्नो कच्चा पदार्थ चार दिनदेखि भन्सारमै रहेको बताए ।

‘चार दिन भो मेरो कच्चा पदार्थको ट्रक भन्सारमै रोकिएको छ’ बमले भने ‘केही समय पहिलेसम्म यही भन्सारबाट मेनुवल भन्सार गरेर आइरहेको चामल केही यता क्वारेन्टाइन छैन भन्दै भन्सारले रोकेको छ ।’

भन्सार कार्यालयमा क्वारेन्टाइन नहुँदा फलफूल, खाद्यान्न, खाद्यजन्य कच्चा पदार्थ आयात गर्ने यस क्षेत्रका व्यवसायीहरुले समस्या झेल्दै आइरहेका छन् ।

प्रकाशित मिति: शनिबार, जेठ २७, २०८०  १६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update