Hamro Patra
तातो हावाका कारण जनजीवन प्रभावित

टीकापुर, जेठ २५

सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा आज यस वर्षकै सर्वाधिक गर्मी मापन गरिएको छ । महाकाली बेसिन फिल्ड कार्यालय मौसम मापन केन्द्र अत्तरियाले यस वर्षकै सर्वाधिक गर्मी मापन गरेको हो ।

केन्द्रका अनुसार आज दिउँसो २ः२० बजे ४०.५ डिग्री सेल्सियस मापन गरिएको छ । आज यस वर्षकै सर्वाधिक गर्मी मापन गरिएको केन्द्रका प्रमुख इञ्जिनियर सञ्जय कुमार शाहले जानकारी दिए ।

CMA Staff

शाहका अनुसार केन्द्रले हिजो अधिकतम् तापक्रम ३९.९ डिग्री र न्युनतम् तापक्रम २२.५ डिग्री सेल्सीयस मापन गरिएको थियो भने आज अधिकतम् ४०.५ डिग्री र न्यूनतम् २२.६ डिग्री सेल्सीयस मापन गरिएको हो ।

पछिल्ला केही दिनयता तापक्रम बढ्दै गइरहेको छ भने जिल्लामा तातो हावा समेत चलिरहेको छ । तातो हावाका कारण चलेको लुले जनजीवन प्रभावित बनेको छ ।

शाहका अनुसार अझै दुई दिनसम्म तराईका जिल्लाहरुमा तावा हावा चल्ने, लु लाग्ने, गर्मी बढ्दै जाने देखिन्छ । मौसम पूर्वानुमान महाशाखाले समेत कैलाली, कञ्चनपुर र बर्दिया जिल्लामा तातो हावा चल्ने भन्दै सर्तकता अपनाउन आग्रह गरेको छ । महाशाखाले आज प्रकाशित गरेको मौसम बुलेटिनमा अझै केही दिन तातो हावा चल्ने भएकाले सर्तकता अपनाउन भनिएको छ ।

तातो हावाका कारण लु लाग्ने, शरीर कमजोर हुने, कमजोरी हुने, वान्ता लाग्ने जस्ता लक्षणहरु देखा पर्ने प्रमुख शाहले बताए । तातो हावाबाट बच्नका लागि शरीर पूरै छोप्ने हल्का लुगा लगाउने, टाउको छोप्ने, झोलिलो पदार्थ प्रशस्त खाने, पानी पर्याप्त पिउने र दिउँसोको समयमा घर भन्दा बाहिर ननिस्कने जस्ता उपाय अपनाउन समेत शाहले आग्रह गरेका छन् ।

कैलालीमा तापक्रम बढ्दै तातो हावा समेत चलिरहँदा विद्यालयहरु भने सञ्चालनमा छन् । कतिपय अभिभावकले मौसममा ध्यान दिँदै विद्यालयको पठनपाठन केही दिनका बन्द गर्न आग्रह गरिरहेका छन् ।

गर्मीकै कारण अस्पतालहरूमा बिरामी बढ्न थालेको टीकापुर अस्पतालले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  १६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update