Hamro Patra
उपप्राध्यापक नपाएपछि विद्यार्थी सार्दै टीकापुर बहुमुखी क्याम्पस

टीकापुर, जेठ २५

सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत टीकापुरमा सञ्चालित टीकापुर बहुमुखी क्याम्पसले ५ वर्षे बीए एलएलबीमा अध्ययनरत विद्यार्थीहरुलाई अन्यत्र सार्ने भएको छ । पहिलो र दोश्रो सेमेस्टर क्याम्पसमै अध्ययन गरेका विद्यार्थीहरुलाई तेश्रो सेमेस्टरबाट अन्यत्र सार्ने भएको हो ।

क्याम्पसले कानुन विषय अध्यापन गर्ने उप–प्राध्यापक नपाउँदा तेश्रो सेमेस्टरबाटै सुदूरपश्चिम विश्वविद्यालयका कैलाली बहुमुखी क्याम्पस धनगढी र केन्द्रिय क्याम्पस महेन्द्रनगरमा विद्यार्थी सार्न लागेको हो ।

Khadga Memorial And Janajagriti

क्याम्पसका बीए. एलएलबी तेश्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थी तुलसी वि.क.ले उप–प्राध्यापकको अभावमा कानुन विषयको अध्यापन नहुने भएपछि विद्यार्थीलाई धनगढी र महेन्द्रनगर सार्ने तयारी गरेको बताइन् ।

‘बीए.एलएलबी. शुरु भएलगत्तै हामीले उप–प्राध्यापकको माग गर्दै आएका थियौं, हाम्रो कुरामा क्याम्पसले ध्यान दिएन’ वि.क.ले भनिन् ‘अब बिचमै धनगढी या महेन्द्रनगर जानुपर्ने बाध्यता बनेको छ । यसले हाम्रो पढाई मात्रै होइन्, आर्थिक भार समेत बढेको छ, विद्यार्थीलाई क्याम्पसले निकै दुःख दिएको महशुस गरेका छौं ।’

बाजुराबाट बीए.एलएलबी अध्ययन गर्न डेढ वर्षअघि टीकापुर पुगेका लक्ष्मण पाण्डेले जेठ ७ गतेदेखि शुरु भएको तेश्रो सेमेस्टरको पढाईका लागि कानुनका उप–प्राध्यापकहरु ल्याउन नसकेपछि क्याम्पसले विद्यार्थी अन्यत्र सार्ने तयारी गरेको बताए ।

‘घरबाट दुःख गरेर टीकापुरमा केही सस्तो हुनसक्छ भनेर पढ्न आएको हो, क्याम्पसको लापरवाहीले प्राध्यापक नपाएर बिचमै अर्को क्याम्पस जानुपर्ने भएको छ’ विद्यार्थी पाण्डेले भने ‘विद्यार्थीलाई दुःख दिने काम भयो, क्याम्पसले प्राध्यापक नै नपाउने भए पढाई शुरु नै गर्नु हुन्थेन । अब धनगढी वा महेन्द्रनगर जाँदा टीकापुरको तुलनामा महङ्गो पर्न जान्छ ।’

पाण्डेले टीकापुर बहुमुखी क्याम्पसमा सुदूरपश्चिम र कर्णाली प्रदेशका अधिकांश विपन्न परिवारका विद्यार्थी बिए.एलएलबी.मा अध्ययन गर्ने गरेको बताए ।

क्याम्पसमा कानुन विषयका प्राध्यापकको व्यवस्थापन गर्न नसक्दा पटक–पटक विद्यार्थीहरुले आन्दोलन समेत गरेका थिए । क्याम्पसका स्ववियु सभापति नृपजंग थापाले चैत्र महिनामै क्याम्पसले कानुनका दुई जना उप–प्राध्यापकका लागि विज्ञापन गरेको भए पनि कोही नआएपछि अन्यत्र सार्नु परेको बताए ।

‘विज्ञापन गर्दा समेत कानुनका उप–प्राध्यापकहरु आएनन्’ सभापति थापाले भने ‘ उप–प्राध्यापक पाउन नसकेपछि विद्यार्थीको पढाई रोकिनु भन्दा धनगढी र महेन्द्रनगर सार्ने सहमति भएको छ । विद्यार्थीहरुले प्राध्यापक चाहियो भनेर आन्दोलन समेत गरेका हुन्, प्राध्यापकहरु खोज्दा समेत भेटिएनन्, हामीसँग विद्यार्थी सार्नुको विकल्पै रहेन ।’

क्याम्पसमा बीए.एलएलबी. तेश्रो सेमेस्टरमा ३७ जना र पहिलो सेमेस्टरमा १७ जना विद्यार्थी अध्ययरत थिए । ती सबै विद्यार्थीलाई उप–प्राध्यापकको अभावमा अन्यत्र सार्नु परेको क्याम्पस व्यवस्थापनले जनाएको छ ।

क्याम्पस प्रमुख केशरबहादुर कुँवरले कानुन विषयका चाहिने जनशक्ति नपाउँदा हाललाई कानुन विषयका विद्यार्थी अन्यत्र सार्नु परेको बताए । ‘हामी आफैले पनि धेरै प्रयास गर्यौं, विज्ञापन गर्यौं, दुई जना कानुनका प्राध्यापकका लागि तर पनि कोही भेटाउन सकेनौं’ प्रमुख कुँवरले भने ‘पहिलो र दोश्रो सेमेस्टरमा एक एक विषयबाहेक बिए को कोर्स हुनाले खासै समस्या नभए पनि तेश्रो सेमेस्टरबाट कानुनका कोर विषयकाहरुको अध्यापन गराउनका लागि प्राध्यापक नपाएपछि विद्यार्थी सार्नु परेको हो ।’

विद्यार्थीलाई परेको मर्काबाट आफूहरु दुःखित् भएको बताउँदै उनले भने भौतिक पूर्वाधारकै आधारमा मात्रै नयाँ कार्यक्रमहरु ल्याउँदा विद्यार्थीले दुःख पाए । ‘सुदूरपश्चिम विश्वविद्यालयको नयाँ कार्यक्रम ल्याउँदा हामीले भौतिक पूर्वाधार मात्रै ध्यान दियौं कि जस्तो लागेको छ’ कुँवरले भने ‘मुख्य कुरा जनशक्तिमा ध्यान दिन सकेनौं, धेरै कोशिस गर्दा समेत प्राध्यापक नपाएपछि हामी बाध्य भएर विद्यार्थीलाई सार्ने निर्णयमा पुगेका हौं ।’

क्याम्पस प्रमुख कुँवरका अनुसार क्याम्पसले गत चैत्र २४ गते नै कानुन विषयमा एलएलएम गरेका दुई जना उप–प्राध्यापकका लागि विज्ञापन गरिएको थियो ।

क्याम्पसले हाललाई बीए.एलएलबी कार्यक्रम स्थगित भएको दाबी गर्दै जनशक्ति उपलब्ध भए फेरि सञ्चालन गर्ने जनाएको छ । कार्यक्रम सञ्चालन भएको डेढ वर्षमै विद्यार्थी अन्यत्र सारेर कानुन विषयको पढाई रोकिनुलाई स्थानीयले दुःखद् भन्दै आएका छन् ।

प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  १४:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update