टीकापुर, जेठ २२
कैलालीमा मदिरा तथा सुर्तीजन्य पदार्थको प्रचार प्रसारका लागि विभिन्न स्थानमा राखिएका प्रचार सामग्रीहरु धमाधम हटाउन थालिएको छ । सुदूरपश्चिम प्रदेश प्रादेशिक स्वास्थ्य प्रबद्र्धन केन्द्र, कञ्चनपुरले त्यस्ता सामग्रीहरु धमाधम हटाउन थालेको हो ।
केन्द्रले स्वास्थ्यको दृष्टिकोणले प्रतिकुल मानिएका मदिरा तथा सुर्तीजन्य पदार्थको प्रचार प्रसार गर्न रोक लगाउँदै सार्वजनिक स्थान, चोक चौराहा, होटल, पूर्वपश्चिम राजमार्ग छेउमा राखिएका प्रचार सामग्रीहरु हटाउन थालेको हो ।
केन्द्रले जिल्लाको धनगढी, टीकापुर, लम्की, चिसापानी, सुख्खड, अत्तरिया लगायतका बजारहरुबाट प्रचार सामग्रीहरु हटाई रहेको छ ।
कर्मचारीको टोली नै खटाएर त्यस्ता सामग्री हटाउँदै मदिरा तथा सूर्तीजन्य पदार्थको प्रचार प्रसार गरे हुने कानुनी कारवाहीका बारेमा सचेत गराई रहेको केन्द्रका प्रमुख हेमराज खड्काले जानकारी दिए ।
‘हामीले धनगढीबाट शुरु गरेको अभियान जिल्लाका मुख्य मुख्य शहर तथा पूर्वपश्चिम राजमार्गमा राखिएका प्रचार बोर्डहरु हटाउन कर्मचारीको टोली नै परिचालन गरेका छौं’ खड्काले भने ‘त्यस्ता सामग्रीको प्रचार प्रसार गर्न नपाइने कानुनी व्यवस्था लागु गर्न आमनागरिकलाई सचेत समेत गराउँदै आएका छौं ।’
टोलीले टीकापुरमा मात्रै ५० भन्दा बढी होटल, चोक तथा चौराहाबाट त्यस्ता सामग्री हटाएको छ ।
‘त्यस्ता प्रचार प्रसारका सामग्री सञ्चारका माध्यम हुन्, यसले बालबालिका तथा सेवनकर्ताहरुलाई समेत आकर्षित गर्ने हुनाले स्वास्थ्यमा गम्भीर असर गर्ने र जनस्वास्थ्यमा प्रभाव पार्ने हुनाले त्यसलाई न्यूनिकरण गर्न अभियान नै सञ्चालन गरेर सामग्री हटाइरहेका छौं’ खड्काले भने ‘पहिलो पटकका लागि यो स्वास्थ्य प्रबद्र्धनको अभियान हो भने नियमित अनुगमन गरेर प्रचार सामग्री राखिएको पाइए कानुन अनुसार कारवाही गर्नेछौं ।’
सूर्तीजन्य पदार्थ नियन्त्रण सम्बन्धी ऐन २०६८, जनस्वास्थ्य ऐन २०७५, प्रदेश जनस्वास्थ्य ऐन २०७६, विज्ञापन बोर्डको परिपत्र र सम्मानित सर्वोच्च अदालतको २०७९ फागुन ११ गतेको अन्तरिम आदेशका आधारमा प्रचार सामग्री हटाउन शुरु गरिएको खड्काले बताए ।
जिल्ला प्रशासन कार्यालय कैलालीले २०७९ चैत्र ४ गते जिल्लाका विभिन्न स्थानमा राखिएका प्रचार सामग्री हटाउन सम्बन्धित निकायलाई निर्देशन दिएको थियो ।