Hamro Patra
एएचएफ नेपालको पाँच वर्षे कार्ययोजना सम्बन्धी अन्तरक्रिया सम्पन्न

टीकापुर, जेठ १७

एचआईभी संक्रमितहरुको क्षेत्रमा कार्यरत एएचएफ नेपालले आगामी पाँच वर्षका लागि तयार गरेको कार्ययोजना सम्बन्धी अन्तरक्रिया कार्यक्रम टीकापुरमा सम्पन्न गरेको छ ।

टीकापुर अस्पतालमा सञ्चालित एएचएफ नेपालका कार्यक्रमलाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायसँग अन्तरक्रिया गरिएको हो ।कार्यक्रममा एएचएफ नेपाल एआरटी टीकापुर साइटका कार्यक्रम संयोजक माधव पन्तले संस्थाको पाँच वर्षे कार्ययोजना प्रस्तुत गरेका छन् ।

CMA Staff

पन्तका अनुसार संस्थाले कैलालीको टीकापुर, धनगढीको सेती अस्पताल, डोटीको डोटी जिल्ला अस्पताल र अछाम जिल्ला अस्पतालबाट एचआईभी संक्रमितहरुका लागि परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।

संक्रमितहरुको स्वास्थ्यलाई ध्यानमा राखी संस्थाले एआरटी औषधी वितरण, परामर्श सेवा, चेकजाँच सेवा, संक्रमितहरुका लागि यातायात खर्च र रेफरल विरामीहरुका लागि सहयोग गर्दै आइरहेको पन्तले जानकारी दिए ।

उनले स्थानीय सरकार र संघीय सरकारले प्रदान गर्दै आइरहेका संक्रमित लक्षित सेवाका बारेमा समेत संस्थाले सेवाग्राहीलाई परामर्श गर्दै आएको बताए ।

कार्यक्रम संयोजक पन्तका अनुसार हाल संस्थामार्फत् टीकापुर अस्पतालबाट ५ शय ६२, धनगढीको सेती अस्पतालबाट १ हजार ११, डोटी जिल्ला अस्पतालबाट ४ शय ९१ र अछाम जिल्ला अस्पतालबाट १ शय ९७ जना एचआईभी संक्रमितहरुले एआरटी सेवा लिँदै आएका छन् ।

अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि एवं टीकापुर नगरपालिकाका उपप्रमुख खडकबहादुर शाहले प्रदेश सरकार मातहत रहेको टीकापुर अस्पताल सेवाका दृष्टिकोणले नगरपालिकाकै महत्वपूणर् क्षेत्र भएकाले यसको विकास र व्यवस्थापनमा नगरपालिकाले सहयोग गर्ने बताए ।

‘हामीले विगतदेखि दुई जना डाक्टरसहितको सेवा दिँदै आएका छौं’ उपप्रमुख शाहले भने ‘फेरि पनि नगरपालिकाको सीमित श्रोत र साधनलाई ध्यानमा राखेर गुणस्तरीय स्वास्थ्य सेवाका लागि सहकार्य गर्नेछौं ।’

स्वास्थ्य सेवा गम्भीर विषय भएको बताउँदै उपप्रमुख शाहले यसको समाधानका लागि अस्तापल व्यवस्थापन, प्रशासन र नगरपालिकाले सहकार्य गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा टीकापुर अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डेन्ट डाक्टर रेमकुमार राईले एएचएफ नेपालको सहयोगमा संक्रमितहरुको उपचारका लागि अस्पतालमा निकै सहज भएको बताए ।

‘संक्रमितहरुका लागि संस्थाले प्रदान गर्ने औषधि समेत राम्रो छ । हामीलाई संक्रमितको अप्रेसन गर्न समेत तालिम प्रदान गरेको छ’ डाक्टर राईले भने ‘संस्थाको सहयोगमा संक्रमितहरुको उपचार निकै सहज भएको छ ।’

टीकापुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपट सोडारीले स्वास्थ्य सेवा निकै संवेदनशील विषय भएकाले अस्पताल बनाउनका लागि सबैले स्वार्थ भन्दा माथि उठेर लाग्नुपर्ने बताए ।

‘स्वास्थ्य सेवा निकै संवेदनशील विषय हो, अस्पताल एक्लैले केही गर्न सक्दैन’ सोडारीले भने ‘यहाँ श्रोत र साधनको अभाव छ, यसका लागि स्वार्थ भन्दा माथि उठेर एकजुट हुन आवश्यक छ ।’

कार्यक्रम अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सोडारीको अध्यक्षतामा भएको हो ।

प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  १२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update