टीकापुर, जेठ १६
कैलालीको टीकापुर नगरपालिकाबाट दक्षिणी भारतमा निकासी हुँदै आएको कवाडीमा रोक लगाइएको छ । विगत लामो समयदेखि निर्वाध रुपमा निकासी हुँदै आएको कवाडी निकासीमा सशस्त्र प्रहरीको सीमा सुरक्षा पोष्टले रोक लगाएको हो ।
कवाडी निकासीका लागि स्थानीय तहहरुले ठेक्का लगाउँदै आएका थिए । टीकापुर नगरपालिकाले गत वर्ष तीन वर्षका लागि खक्रौला नाकाबाट कवाडी निकासीको ठेक्का लगाएको थियो ।
तीन वर्षका लागि ४३ लाख रुपैयाँमा ठेक्का लिएको माण्डब्य कन्स्ट्रक्सन प्रा.लि.ले कवाडी निकासीमा सशस्त्र प्रहरीले रोक लगाएको जनाएको छ ।
तीन वर्षका लागि ठेक्का सम्झौता गरेको प्रा.लि.का प्रतिनिधि जनकबहादुर शाहले नगरपालिकामा कवाडी निकासीमा रोक लगाएको बारे जानकारी गराएको बताए । टीकापुर नगरपालिकाका उपप्रमुख खडकबहादुर शाहले ६ दिनदेखि कवाडी निकासीमा रोक लगाएको बताए ।
‘विगतदेखि नै नियमित रुपमा स्थानीय सरकारको एकल अधिकार रहेको कवाडी निकासीमा सशस्त्र प्रहरीले माथिको आदेश भन्दै रोक लगाएको छ’ उपप्रमुख शाहले भने ‘स्थानीय सरकार सञ्चालन ऐनमै उल्लेख भएको विषयमा लिखित आदेश विना नै सशस्त्र प्रहरीले निकासीमा रोक लगाएको हो ।’
उपप्रमुख शाहले नगरपालिकाले ठेक्का लगाएको अवस्थामा विना जानकारी निकासी रोक लगाउनुले पालिकाको राजश्वमा प्रभाव पारेको बताए । ‘हामीले ठेक्का सम्झौता गरेका छौं, ठेकेदारले निकासी गर्न नपाए क्षतिपूर्ति दिनुपर्छ’ उपप्रमुख शाहले भने ‘सशस्त्र प्रहरीका डिएसपी, एसपी, डिआइजीसम्मलाई फोन गर्दा समेत माथिको आदेश भन्दै रोक लगाएका छन् ।’
शाहले लिखित आदेश विना सशस्त्र प्रहरीले कवाडी निकासीमा रोक लगाएको बताए ।
टीकापुर नगरपालिका वडा नं. ८ का अध्यक्ष दीर्घ ठकुल्लाले व्यवस्थापन गर्न समस्या हुने गरेको कवाडी निकासीमा रोक लगाउनु दुःखद् भएको बताए । ‘हाम्रो फोहोर जाने, नगरपालिकालाई राजश्व पनि आउने’ अध्यक्ष ठकुल्लाले भने ‘यसमा पनि रोक लगाउनु उपयुक्त होइन ।’
सशस्त्र प्रहरी बल ३४ नं. गणका सूचना अधिकारी डिएसपी धिरेन शाहले हेडक्वाटरबाटै आदेश भएपछि जिल्लाभरि कवाडी निकासीमा रोक लगाएको बताए । शाहले कवाडी निकासी गर्दा भन्सार गरेर मात्रै निकासी गर्न पाउने प्रावधान रहेको बताउँदै माथिको आदेश अनुसार निकासीमा रोक लगाएको बताए ।