Hamro Patra
थरुहट थारुवान सम्मेलन ःशान्तिपूर्ण बनाउन ७ बुँदे साझा निर्णय

टीकापुर, भदौ ५
थरुहट थारुवान राष्ट्रिय सम्मेलन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न ७ बुँदे निर्णय गरिएको छ । सम्मेलन भदौ ७ देखी ९ गतेसम्म टीकापुरमा आयोजना हुँदैछ ।

जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढीमा आयोजना गरेको सर्वदलीय बैठकमा निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जानकारी दिए ।

उनले जिल्लामा क्रियाशिल सबै राजनीतिक दल र आयोजक पक्षबीच लिखित रुपमा निर्णय भएको बताए ।

Khadga Memorial And Janajagriti

बैठकमा जिल्लाको समग्र शान्ति सुरक्षा र सुव्यवस्था कायम राख्न राजनीतिक दलहरुले स्थानीय प्रशासनलाई सहयोग गर्ने बताएका छन । त्यसैगरी आयोजक पक्षले समेत स्थानीय प्रशासनलाई सघाउने प्रतिवद्धता व्यक्त गरेको छ ।

बैठकले सम्मेलनलाई शान्तिपूर्वक रुपमा सम्पन्न गर्नका लागि टीकापुर नगरपालिका भित्र भदौ ६ गते साँझ ५ बजेदेखी ९ गते साँझ ५ बजेसम्म मदिराको बिक्री वितरण, ओसारपसार र सेवनमा रोक लगाउने निर्णय गरेको छ । यसैका आधारमा जिल्ला प्रशासन कार्यालय कैलालीले होटल व्यवशायीहरुलाई मदिरा बेचबिखन नगर्न निर्देशन जारी गरिसकेको जनाएको छ ।

आयोजकले सम्मेलनमा सहभागीहरुलाई पहिचान खुल्ने प्रवेश पासको व्यवस्था गर्ने र सोही आधारमा कार्यक्रमस्थलमा सुरक्षा चेकजाँच गरेर मात्रै प्रवेश गराउने निर्णय भएको छ । आयोजकका तर्फबाट कार्यक्रमस्थलमा खटिने स्वयम्सेवकहरु समेत सुरक्षाकर्मीको समन्वयमा परिचालन गरिने प्रमुख जिल्ला अधिकारी बोहराले जानकारी दिए ।

सम्मेलनमा सहभागी हुन आउने व्यक्तिहरुले सामाजिक सद्भाव खलबलिने र शान्ति सुरक्षामा असर पर्ने गरी कुनै किसिमको नारा, जुलुस, वक्तव्य र सम्बोधन समेत नगर्ने निर्णय भएको छ ।

कार्यक्रमस्थल आसपासको क्षेत्र र बजारमा कसैले पनि लाठी, घरेलु हतियार बोक्न, प्रयोग गर्न तथा प्रदर्शन गर्ने जस्ता कार्य नगर्न बैठकले निर्णय गरेको छ । यस्ता क्रियाकलापमा संलग्न व्यक्तिलाई कानून बमोजिम कारवाही हुने निर्णयमा उल्लेख छ ।

टीकापुरमा समेत सम्मेलनलाई मध्यनजर गर्दै इलाका प्रशासन कार्यालयको पहलमा बिहिवार सर्वदलीय बैठक बसेको छ । सो बैठकले जिल्ला प्रशासन कार्यालयको पहलमा गरिएको निर्णय अनुसार अघि बढ्ने निष्कर्ष निकालेको छ ।

इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख उपसचिव हिरालाल चौधरीले सम्मेलन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सबैसँग आग्रह गरेका छन । उनले शान्ति सुव्यवस्थामा अफ्ठ्यारो पार्ने कुनै काम भएमा कानून बमोजिम कारवाही गरिने बताए ।

२०७२ भदौ ७ गते टीकापुरमा भएको दुःखद घटना पछि यस क्षेत्रको सुरक्षा व्यवस्थालाई गम्भिरताका साथ हेर्ने गरिन्छ । सो घटनामा आठ सुरक्षाकर्मी र एक नाबालकको ज्यान गएको थियो । ज्यान जानेमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने सहित ६ जना, सशस्त्र प्रहरीका २ जना र १ जना १८ महिनाका नाबालक टेकबहादुर साउँद रहेका थिए ।

प्रकाशित मिति: बिहीबार, भदौ ५, २०७६  १५:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update