शेरबहादुर ऐर
धनगढी, जेठ १५
टीकापुर अस्पतालमा उपचारकै क्रममा रहेका बेला पक्राउ परेका थिए मुनुवा शिवशक्ति मुक्त कमैया शिविरका हरिनारायण चौधरी । २०७२ साल भदौ ७ गते पहिचान र अधिकारका लागि हिँसात्मक आन्दोलनमा संलग्न रहेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
कैलाली कारागारमा जेल जिवन विताइरहेका हरिनारायणकी आमा सोनिया छोरा घर आउने आशमा बसेकी छिन् । ‘रेश्मसंगै मेरो छोरा पनि छुट्छ भन्थे । अहिले कारागारमा सम्पर्क गर्दा फोन उठेन् । छोरा आउने हो की होइन् । केही थाहा छैन् ।’
सोमबार १६ औं गणतन्त्र दिवसको अवसरमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेश्मलाल चौधरीलाई सरकारले आममाफी दिँदै कारागारबाट रिहा भएका छन् । तर, सोही घटनामा पक्राउ परेका हरिनारायण चौधरीसहित कैलाली कारागारमा थुनामा रहेका अन्य तीन जनाले आममाफी पाएनन् । टीकापुर घटनामा दोषी ठहर भएका नाबालक पोखरा सुधारगृहमा छन् ।
उमेरले ४२ वर्ष पुगेकी सोनिया चौधरीले कमाउने छोरा जेलभित्र हुँदा जिविकोपार्जन गर्न पनि गाह्रो भइरहेको बताउँछन् । ‘छोरा नहुँदा श्रीमान दैनिक ज्यालादारीमा काम गरिरहेका छन् । दिनको पाँच सय कमाउँछन् । घरखर्च, खानाको व्यवस्था गर्न पनि समस्या रहेको छ ।’
सोनियाकी एक छोरासंगै दुई छोरी छन् । टीकापुर घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेको घटना स्मरण गर्दा सोनियाको आँखामा आँशु झर्छ । उनलाई सरकारले सोमबार कैदमाफी गरेर कैदमुक्त गर्ने आश्वासन आएको सुनाइन् । उनले भनिन -‘रेशमसँगै कैलाली कारागारमा रहेका सम्पूणर् टीकापुर घटनाका कैदबन्दीलाई कैद माफी हुने हल्ला छ । के यो साँचो हो र ?’
हरिनारायण एक हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने डरले आन्दोलनमा सहभागी भएका थिए । सोनिया डगौराले कमैया आन्दोलन जस्तै होला भनेर छोरो आन्दोलनमा गएको बताइन् । छिमेकीहरूका अनुसार, ग्यारेजमा काम गरेर परिवार पालिरहेका हरिनारायण साह्रै सोझा मानिस हुन् । प्रत्येक घरबाट कम्तीमा एक जना आन्दोलनमा जानुपर्ने नत्र एक हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने उर्दी आएपछि आमा र बहिनी सीतालाई रोकेर उनी गएका थिए ।
टीकापुर घटनामा पक्राउ परेपछि थरुहट नेताहरुले राजबन्दी परिवारलाई आर्थिक सहयोग पनि गर्दै आएको स्मरण गर्दै भनिन -‘पहिला नेताहरु घरमा आउथे । आर्थिक सहयोग पनि गर्थे तर, अहिले कसैले पनि हेरेको छैन् ।’
पहिचान र थरुहट राज्यको माग गर्दै थरुहट/थारुवान संयूक्त संघर्ष समितिले अहिले पनि आन्दोलित छ । टीकापुर घटनालाई राजनीतिक घटना बनाउनुपर्ने, राजवन्दीलाई निस्वार्थ रिहाई गर्नुपर्ने, पहिचान र अधिकार सहितको थरुहट प्रदेश बनाउनुपर्ने अहिले पनि थरुहट नेताहरुको माग रहेको छ ।
थरुहट/थारुवानका नेता माधव थारुले रेश्मको रिहाइमा टीकापुर घटनाको कुनै संलग्नता नरहेको बताउँछन् । उनले भने ‘यो सरकारको निणर्य हो । यसमा म केही भन्दिन । उहाँको पार्टी सरकारमा रहेकाले उहाँले रिहाइ पाएका हुन् ।’
उनले सरकारले टीकापुर घटनाको निष्पक्ष छानविन हुनुपर्ने बताए । ‘लाल आयोग प्रतिवेदन सार्वजनिक गर्न सरकारसंग माग गर्दा पनि सुनुवाइ भएको छैन् । थारुहरुलाईनै दोषि देखाउने गरि जिल्ला, उच्च र सर्वोच्च अदालतको फैसला भएको छ । प्रतिवेदनप्रति न्यायिक निकायले ध्यान नदिइ निणर्य गरेका छन् ।’
नागरिक उन्मुक्ति पार्टीले रेश्मलाई आम माफी दिएर न्याय नगरेको प्रतिक्रिया दिएका छन् । ‘बिग्रह, बिखण्डनको लडाइ होइन । न त बदलाभाव रिसरागको लडाइ हो यो । यो त सदभव, अपनत्व, न्यायका लागि समृद्ध नेपाल र नेपालि बन्ने बनाउने अभियान हो । सहयोग गर्नुहुने सबै सबैलाइ धन्यबाद छ’ उन्मुक्तिका नेता लक्ष्मण थारु भन्छन् ।
उन्मुक्तिका नेताहरुले न्याय भन्दा शासकको दया ठुलो नभएको प्रतिक्रिया दिन्छन् । ‘गणतन्त्र दिवसमा रेशम चौधरी लगायत चार सय ८२ जना लाई आम माफी दिएका छ्न’ उन्मुक्तिका नेता श्रवण चौधरी भन्छन् -‘निर्दोष रेशम चौधरीलाई दोषी प्रमाणित गरि आम माफी दिनु सम्पुणर् थारु समुदाय र पहिचानबादीहरु प्रतिको अन्याय हो । माफी भन्दा न्याय धेरै गुणा बेस हुन्थ्यो यो माफीले रेशमलाई सदाको लागि अपराधीको टीका लगाएको छ ।’
राज्य पुनर्संचना गर्दा सिमांकनको विषयमा असन्तुष्ट थारु समुदायले थरुहट-थारुवान प्रदेशको माग गर्दै पश्चिम नेपालका कैलाली-कञ्चनपुरसहितका जिल्लामा आन्दोलन गर्दै आएका थिए । त्यसविरुद्ध अखण्ड सुदूरपश्चिमको नारासहित पहाडी समुदायले पनि आन्दोलन गर्दै आएका थिए । अखण्ड सुदूरपश्चिमको तुलनामा थरुहट-थारुवान संघर्ष समितिको आन्दोलनले चर्को रुप लियो । कैलालीको टिकापुरमा ७ भदौ २०७२ मा थारु समुदायले चोक र सार्वजनिक स्थानमा थरुहट प्रदेश लेखिएको बोर्ड राख्ने कार्यक्रम थियो । उनीहरुले सडक बन्द गरेर प्रदर्शन जारी राखेका थिए ।
आन्दोलनकारीले सरकारी कार्यालय कब्जा गर्न खोजेपछि कैलालीको मुनुवा गाविस वडा नम्बर ६ मा प्रहरीसँग झडप भयो । त्यो झडपपछि घरेलु हतियारसहित आएका आन्दोलनकारीले पशुहाट नजिकै एसएसपी न्यौपानेमाथि नै आक्रमण गरे ।
सो घटनामा न्यौपानेसहित नेपाल प्रहरीका प्रहरी निरीक्षक बलराम विष्ट, केशव बोहोरा, प्रहरी हबल्दार लक्षमण खड्का तथा प्रहरी जवान लोकेन्द्र चन्द मारिए । यसैगरी सशस्त्र प्रहरीका वरिष्ठ हबल्दार ललित साउद र सशस्त्र प्रहरी जवान रामविहारी चौधरी र आफ्नै घरमा बसेका एक नाबालक टेकबहादुर साउदको पनि मृत्यु भयो ।