Hamro Patra
उपभोक्ताको रक्षा गर्न नगरपालिकाको ध्यानाकर्षण

टीकापुर, जेठ १४

टीकापुरका विभिन्न पाँच वटा पसलहरुको अनुगमन गर्दा पाँचैवटामा कैफियत देखिएपछि उपभोक्ता हित संरक्षण मञ्च टीकापुरले नगरपालिकाको ध्यानाकर्षण गराएको छ ।

प्रदेश र संघका नियामक निकायले शुक्रवार टीकापुरका पाँच वटा पसलमा अनुगमन गरेको थियो । पाँचैवटामा कैफियत देखिएपछि मञ्चले नगरपालिकाका उपप्रमुख खडकबहादुर शाहलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

CMA Staff

उपप्रमुख शाह नगरको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिका संयोजक हुन् । लामो समय देखि बजार अनुगमन नहुँदा बजारमा अखाद्य बस्तु मिसाएका खानेकुरा, म्याद नाघेका खानेकुरा निर्वाध बिक्री वितरण भैरहेका छन् ।

संविधानतः स्थानीय सरकारको एकल अधिकार रहेको स्थानीय बजार व्यवस्थापन गर्नु नगरपालिकाको दायित्व भए पनि पालिकाले निरन्तर बजार अनुगमन नगर्दा यस्तो समस्या आएको मञ्चको बुझाई छ ।

निरन्तर बजार अनुगमन गर्नुपर्ने, आम उपभोक्ताका लागि उपभोक्ता जागरण कार्यक्रम ल्याउनु पर्ने, नगरपालिकाले बनाएका उद्योग, बजार व्यवस्थापनसँग सम्बिन्धित ऐन कानूनहरु लागू गराउनुपर्ने माग गर्दै मञ्चका अध्यक्ष एकिन्द्र तिमिल्सेनाले ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

यस्तै उपभोक्ता हितको रक्षा गर्न यस अघि लिखित र मौखिक रुपमा दिएका सुझावहरु बेवास्ता गरेको भन्दै विभिन्न विषयमा पुनः स्मरण गराएको छ ।

टीकापुरमा दुध र दुधजन्य पदार्थको मूल्य र गुणस्तर कायम हुनुपर्ने, पेट्रोल पम्पमा नपाइने तर पसलमा कालोबजारी गरेको पेट्रोल महंगोमा किन्नु पर्ने अवस्थाको अन्त्य गर्नुपर्ने, टीकापुरमा सञ्चालित रिक्साहरुको भाडादर कायम हुनुपर्ने, केरा लगायतका स्थानीय उत्पादनको किसानले पाउने मूल्य र उपभोक्ताले किन्ने मूल्यबीचको अन्तर निश्चित हुनुपर्ने, केरा पकाउने च्याम्बर चलाउन लगाउनु पर्ने र सामुदायिक कुकुरहरु नियन्त्रण गर्नुपर्ने रहेका छन् ।

ध्यानाकर्षण पत्रमा आम उपभोक्ताका विषयमा स्थानीय सरकार जिम्मेवारीबाट पन्छिएर उपभोक्तालाई अभिभावक विहिनताको अवस्थामा नराख्न पनि अनुरोध गरिएको छ । नगरपालिकाले लामो समय बजार अनुगमन नगरेको र उपभोक्तालाई सहज हुने सामान्य काम पनि नगरेकाले ध्यानाकर्षण गराएको मञ्चका सचिव शेरबहादुर विष्टले बताए ।

प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update