Hamro Patra
सुदूरपश्चिम स्पोर्टस् अवार्ड असार ८ गते हुने

टीकापुर, जेठ १०

चौंथो संस्करणको सुदूरपश्चिम स्पोर्टस् अवार्ड असार ८ गते हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आज धनगढीमा पत्रकार सम्मेलन गर्दै चौंथो संस्करणको सुदूरपश्चिम स्पोर्टस् अवार्डको मिति घोषणा गरेको हो ।

पछिल्ला तीन वर्षदेखि वर्षेनी हुँदै आएको सुदूरपश्चिम स्पोर्टस् अवार्ड २०७९ को तयारीमा जुटेको मञ्चका अध्यक्ष प्रदीप पाठकले जानकारी दिए ।

CMA Staff

२०७९ सालको वैशाखदेखि चैतसम्म सुदुरपश्चिम प्रदेशका खेलाडीहरुले गरेको प्रदर्शनको आधारमा विभिन्न ८ वटा विधाहरुमा अवार्ड वितरण गरिने भएको छ ।

वर्षको उत्कृष्ट खेलाडी पुरुष र महिला, वर्षको उत्कृष्ट प्रशिक्षक, वर्षको युवा खेलाडी, सुदुरपश्चिम आइकन पुरुष तथा महिला, लाइफटाइम अचिभमेन्ट अवार्ड र स्पेशल अवार्ड वितरण गरिने अध्यक्ष पाठकले जानकारी दिए ।

उनका अनुसार लाइफटाइम अचिभमेन्ट अवार्ड र स्पेशल अवार्डको घोषणा कार्यक्रमकै दिन गरिने छ भने अन्य ६ वटा विधाहरुमा तीन तीन जनाको मनोनयन सार्वजनिक गरी कार्यक्रम हुने दिन विजेताको घोषणा गरिनेछ ।

अवार्ड कार्यक्रम भन्दा अघि क्रमशः मनोनयनमा परेकाहरुको नाम सार्वजनिक गरिने मञ्चका महासचिव हरि जोशीले जानकारी दिए । वर्षको उत्कृष्ट खेलाडी पुरुष र महिलाले नगद ३५ हजारसहित ट्रफी प्राप्त गर्नेछन् ।

सुदुरपश्चिम आइकन पुरुष तथा महिलाको विजेताले नगद २० हजारसहित ट्रफी प्राप्त गर्नेछन् । वर्षको प्रशिक्षकले ३० हजार नगद प्राप्त गर्दा लाइफटाइम एचिभमेन्ट अवार्ड, स्पेशल अवार्ड र वर्षको युवा खेलाडीले नगद २५ हजारसहित ट्रफी प्राप्त गर्नेछन् ।

सुदुरपश्चिम प्रदेशमा खेलकुद तथा खेलाडीहरुका लागि विभिन्न काम गर्दै आएको नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले पछिल्ला तीन वर्षदेखि सुदूरपश्चिम स्पोर्टस् अवार्ड आयोजना गर्दै आएको छ ।

प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  १८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update