टीकापुर, जेठ ९
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संघीय सरकारले प्रदेश सरकारलाई भिक्षुकको व्यवहार गरेको आरोप लगाएका छन् ।
मंगलवार अर्थमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मुख्यमन्त्री शाहले संघीय सरकार दाता र प्रदेश सरकार भिक्षुक भएजस्तो व्यवहार देखाएको आरोप लगाए ।
उनले संघीय सरकारले प्रदेश सरकारलाई अधिकार दिएको जस्तो गरी ललिपप मात्रै देखाएको भन्दै गुनासो गरे । उनले प्रदेश मातहतमा पर्ने राजश्व परिचालन देखि प्राकृतिक स्रोतको परिचालन समेत संघीय सरकारको नियन्त्रणमा रहेर एकाअधिकार जमाएको बताए ।
उनले प्रदेश सरकारले राजश्व संकलन गरिदिए अनुदान दिन्छौं भन्दै एकाधिकार जमाएको बताए । उनले प्राकृतिक स्रोत प्रदेश मातहतमा आए पनि स्वीकार गर्न नसकेको बताए ।
उनले प्रहरी समायोजन, कर्मचारी व्यवस्थापन तथा प्रमुख जिल्ला अधिकारीहरु केन्द्र सरकारप्रति उत्तरदायी हुने अवस्था रहेको भन्दै प्रदेश र संघीय सरकारबीच अधिकार बाँडफाँटमा लडाइ गर्नुपरेको बताए ।
उनले भने, ‘केन्द्र सरकारले राजश्व संकलनका क्षेत्रहरुमा बाँडफाँटमा एककाधिकार गर्यो। असमान वितरण प्रणाली लागू गर्यो। विकासलाई समातामूलक रुपमा गरेन। सुदूरपश्चिम र कणर्ाली प्रदेश दिगो विकासको लक्ष्य भित्र छिर्न पाएनन् । संवैधानिक रुपमा नभए पनि संघीय सरकारले विकास तथा अधिकारीको रुपमा दोस्रो दर्जाका नागरिकका रुपले हेरेको कारण गरिबी जनजीवन हेर्दा नागरिकले नारकीय जीवन बिताउनु पर्ने अवस्था अहिले पनि छ । प्रदेशभित्र रहेका राजश्वका स्रोतहरु केन्द्रले नियन्त्रणमा लिएको छ ।’
उनले थपे ‘भन्सारमा उठेका महशुलहरु केन्द्रमा नै आए अनुदान दिन्छौं भन्ने केन्द्र सरकारले आधिपत्य कायम राख्न खोज्यो । वनका स्रोत केन्द्रले राखेको छ तर प्रदेश मातहतमा आइसकेका छन् । तर त्यसलाई केन्द्रले स्वीकार गर्न सकेको छैन । प्रदेश र संघीय सरकारबीच अधिकारको विषयमा लडाईं रहेको छ । प्रहरी समायोजन, कर्मचारी व्यवस्थापन तथा प्रमुख जिल्ला अधिकारीहरु केन्द्र सरकार प्रति उत्तरदायी छन् । प्रदेश सरकारलाई अधिकार दियौं भनेर ललिपप खुवाए जस्तै छ । संघीय सरकार दाता प्रदेश सरकार भिक्षुक जस्तै भएको कारण संघीय सरकारलाई दबाब दिन थालिएको हो ।’
मुख्यमन्त्री शाहले केन्द्र सरकारले राजश्व संकलनका क्षेत्रहरुमा बाँडफाँटमा एककाधिकार गरेको बताए । उनले सुदूरपश्चिम र कणर्ाली प्रदेश दिगो विकासको लक्ष्य भित्र छिर्न नपाएको गुनासो गरे ।
मुख्यमन्त्री शाहसहित मन्त्रिपरिषद्का सबै सदस्यहरु योजना माग्दै मंगलबार संघीय सरकारको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार पसेका थिए ।
संघीय सरकारलाई योजना माग्न आएको टोलीमा मुख्यमन्त्री शाह, मन्त्रिपरिषद्का सबै सदस्य, सभामुख र प्रमुख प्रतिपक्षी एमालेका नेतासमेत छन् । टोलीमा सुदूरपश्चिम प्रदेशका सभामुख भीमबहादुर भण्डारी, प्रमुख प्रतिपक्षी दल एमालेका नेता एवम् निवर्तमान मुख्यमन्त्री राजेन्द्रसिंह रावल पनि थिए ।
यो टोलीमा कृषिबाहेकका सबै मन्त्री सहभागी थिए । उनीहरुले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठलाई भेटेर विकास योजनाको प्राथमिकतामा राखिदिन आग्रह गरेका थिए ।