टीकापुर, जेठ ९
कैलालीको दक्षिणी सीमावर्ती भजनी नगरपालिका केन्द्र आउने प्रयोग हुने काठे पुलका ठेकदारहरुले जथाभावी शुल्क लिने गरेका छन् ।
नगरपालिकासँग गरेको सम्झौता भन्दा दोब्बर बढी शुल्क काठेपुलका ठेकेदारहरुले लिने गरेका हुन् ।
स्थानीयका अनुसार भजनी नगरपालिका वडा नं. ५ स्थित कान्द्रा नदीको करमदेव घाटमा ठेकेदारले मनोमानी रूपमा शुल्क लिने गरेका छन् ।
सो नदीमा काठे पुल हाल्ने ठेकेदारले मोटरसाइकलसहित पुल तर्ने व्यक्तिबाट जनही ३० रुपियाँ शुल्क असुल गरिरहेका छन् ।
नदीमा पानी घटेको बेला नगरपालिकाले मोटरसाइकल सहित प्रतिव्यक्ति १० रुपैयाँ शुल्क निर्धारण गरे पनि ठेकेदारले भने त्यस निणर्यलाई बेवास्ता गरेर महँगो शुल्क असुलि रहेका हुन् । थोरै पानी भएको बेला पनि एकतर्फी ३० रुपैयाँ र दोहोरो ५० रुपैयाँ शुल्क लिने गरेको स्थानीय को आरोप छ ।
ठेकेदारले सर्वसाधारणलाई ठग्न नपाउन भनी शुल्क उल्लेख गरिएको साइनबोर्ड किनारामा राखिएको छ तर साइनबोर्डमा उल्लेख गरिएको शुल्कमा कालो पोतेर ठेकेदारले आफू खुसी शुल्क लिइरहेको स्थानीय खकेन्द्र बुढाले बताए ।
नगरपालिकाले तय गरेको भन्दा बढी शुल्क लिने ठेकेदारलाई कार्यालयमा बोलाएर बढी शुल्क नलिन पटक पटक निर्देशन दिए पनि अटेर गरेको भजनी नगरपालिकाका प्रवक्ता विव्रmम चौधरीले बताउँछन् । ‘हामीले कैयौँ पटक बढी शुल्क नलिन भनिसकेका छौँ’ उनले भने ‘तर, अटेरी गरिएको छ ।’
बढी शुल्क तिरेको व्यक्तिबाट नगरपालिकाको कार्यालयमा जानकारीसहितको निवेदन नपरेकाले ठेकेदारको ठेक्का रद्द गर्न नसकिएको उनले बताए ।
हुलाकी राजमार्ग अन्तर्गत पर्ने सो घाटमा दिनभरि मान्छेको ओहोरदोहोर भइरहने गर्दछ । उक्त नदीमा एक वर्षसम्म डुङ्गा सञ्चालनका लागि स्थानीय लोकबहादुर कुमालसहितका पाँच जनाले सामूहिक रूपमा ठेक्का पाएका छन् ।
वार्षिक एक लाख ५१ हजार ५ शय रुपैयाँमा ठेक्का पाएका ठेकेदारले डुङ्गा र काठे पुल सञ्चालन गर्दै आएका हुन् । भजनी नगरपालिकाले साउनदेखि असोजसम्म डुङ्गा तरेबापत प्रतिव्यक्ति १०, साइकलसहित व्यक्तिको २०, मोटरसाइकलसहित व्यक्तिको ३० र अटोको ८० रुपैयाँ शुल्क निर्धारण गरेको छ ।
यस्तै कात्तिकदेखि-असारसम्म व्यक्तिको पाँच, साइकलसहित व्यक्तिको १०, मोटरसाइकलसहित व्यक्तिको १५ र अटोको ४० रुपियाँ शुल्क निर्धारण गरिएको छ ।
स्थानीयले पक्की पुलको माग गरे पनि आवश्यक बजेट नहुँदा काठे पुल हाल्ने ठेकेदारलाई रकम असुल्ने सजिलो माध्यम बन्ने गरेको छ ।