
टीकापुर, जेठ ७
कैलालीको जानकी गाउँपालिका वडा नं. ९ स्थित गोराङ्गे खोलाबाट अवैध रुपमा ढुंगा गिट्टी संकलन गर्दै गरेका सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गाउँपालिका र प्रहरीको संयुक्त टोलीले ढुंगा गिट्टी निकाल्न प्रतिबन्धित उक्त खोलाबाट ठूलो संख्यामा सवारी साधन नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय टीकापुर मातहतको अमरावती प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक बसन्तबहादुर रोकायाले गोराङ्गे खोलाबाट ढुंगा गिट्टी निकालिरहेका ३० टिप्पर, ५ ट्याक्टर र २ स्काइभेटर नियन्त्रणमा लिइएको बताए ।
‘जानकी गाउँपालिकाको क्षेत्रमा पर्ने उक्त खोलाबाट अवैध रुपमा निकासी गरिरहेका टिप्पर, ट्याक्टर र स्काईभेटर नियन्त्रणमा लिइएको हो’ प्रहरी सहायक निरीक्षक रोकायाले भने ‘अवैध रुपमा निकासी गरिरहेको सूचनाका आधारमा गाउँपालिकाको टोलीसहित प्रहरी घटनास्थल पुगेको थियो ।’
रोकायाका अनुसार उक्त खोलाबाट लम्कीचुहा नगरपालिकाले रोयल्टी संकलन गरिरहेको थियो ।
जानकी गाउँपालिका उपाध्यक्ष लालमति कठरियासहितको टोलीले गाउँपालिकाको भुगोलमा लम्कीचुहा नगरपालिकालाई रोयल्टी नकाट्न, ढुंगा गिट्टी संकलन नगर्न चेतावनी दिएको छ ।
‘गाउँपालिकाको क्षेत्रमा पर्ने खोलाबाट लम्कीचुहाले रोयल्टी लिएर ढुंगा, गिट्टी निकासी गरेको सूचनाका आधारमा उहाँहरु अनुगमनमा जानु भएको हो’ गाउँपालिका अध्यक्ष गणेश चौधरीले भने ‘पहिलो पटकका लागि अब नउठाउन सम्झाई बुझाई छोडेका छौं, फेरि पनि संकलन गरेको पाइए कानुनी कारवाही अघि बढाउने छौं ।’
वर्षायाममा कणर्ाली नदीले कटान गरिरहेके भन्दै जानकी गाउँपालिकाले सो क्षेत्रबाट ढुंगा गिट्टी निकासीमा रोक लगाएको छ ।