Hamro Patra
थरुहट थारुवान राष्ट्रिय सम्मेलनप्रति थारु समुदाय विभाजित /उद्देश्य विहिन कार्यक्रमः मोर्चा / यो कुनै राजनीतिक कार्यक्रम हैनः आयोजक

टीकापुर, भदौ ४
सत्तारुढ नेकपा निकट थारु राष्ट्रिय मुक्ति मोर्चा र नेपाल लोकतान्त्रिक थारु संघले टीकापुरमा आयोजना हुन गैरहेको थरुहट थारुवान राष्ट्रिय सम्मेलनलाई उद्देश्यबिहिन कार्यक्रम भएको आरोप लगाएको छ ।

टीकापुरमा आज आयोजित पत्रकार सम्मेलनमा वितरित संयुक्त विज्ञप्तीमा राजनैतिक उद्देश्य स्पष्ट नभएको र आधिकारिक संस्थागत आयोजक नरहेकोले कार्यक्रम प्रति गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ ।

विज्ञप्तीमा विगत आन्दोलनको क्रममा घटेको दुःखद घटनालाई स्मरण गराउन झल्को दिने गरी कार्यक्रम तय भएको प्रति असहमति जनाउँदै अन्यौलपूर्ण कार्यक्रममा मोर्चाको समर्थन नरहेको र कुनैपनि गतिविधिमा सहभागीता नरहने स्पष्ट गर्न चाहन्छौ भनिएको छ ।

Khadga Memorial And Janajagriti

आफ्ना नेता कार्यकर्ताहरुलाई कार्यक्रम सम्पन्न गर्ने भन्दै विभिन्न समिति र उपसमितिमा राखेको प्रति समेत मोर्चाले आपत्ति जनाएको छ ।

सो पत्रकार सम्मेलनमा बोल्दै नेता फिरुलाल चौधरी रणभूमिले कार्यक्रममा अवरोध भने नहुने बताए । उनले केही व्यक्तिहरुले आफ्नो निहित स्वार्थका लागि थारु समुदायलाई प्रयोग गरेको आरोप लगाए ।

२०७२ भदौ ७ गतेको घटनामा संलग्न रहेको आरोपमा जेल परेर हालै रिहा भएका संगम चौधरीले थारु समुदायको भावना माथि खेलवाड गर्ने काम भैरहेको बताए । उनले सम्मेलनको उद्देश्य राम्रो नभएको बताए ।

सम्मेलन आयोजक पक्षले समेत आजै टीकापुरमा पत्रकार सम्मेलनको आयोजना गरेको छ । आयोजक पक्षले सम्मेलनले कुनै राजनीतिक एजेण्डा नबोकेको बताएको छ । थरुहट थारुवान राष्ट्रिय सम्मेलन तयारी समिति संयोजक मिनराज चौधरीले सम्मेलनको मुख्य उद्देश्य एकताको सन्देश भएको बताए ।

उनले राज्यले टीकापुरमा सद्भावको वातावरण बनाउन नसकेको बेला आफूहरु अग्रसर भएको बताए । उनले हिमाल, पहाड र तराईको प्रतिनिधित्व हुने गरी सम्मेलन समापन हुने दावी गरे ।

सो अवसरमा लक्ष्मण चौधरीले विगतलाई बिर्सिएर सबै एकजुट हुनुपर्ने बताए । उनले सुदूरपश्चिम हरेक कुरामा पछि पारिएको क्षेत्र भएकाले यसको विकासका लागि हातेमालो गर्न जरुरी रहेको बताए । उनले न्याय र अधिकारका लागि सबै एक ठाउँमा उभिनुपर्ने बताए ।

टीकापुरमा यही ७, ८ र ९ गते थरुहट थारुवान राष्ट्रिय सम्मेलनको आयोजना हुँदैछ । सम्मेलनमा २५ जिल्लाका २ हजार प्रतिनिधि र पर्यवेक्षक सहभागी हुने बताईएको छ ।

सम्मेलनका क्रममा कुनै अप्रिय घटना हुन नदिन जिल्ला सुरक्षा समितिले ब्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरेको छ । टीकापुरमा सम्मेलन अवधिमा झण्डै ३ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन हुने स्रोतको भनाई छ ।

२०७२ भदौ ७ गते टीकापुरमा भएको दुःखद घटनामा ८ सुरक्षाकर्मी र १ नाबालकले ज्यान गुमाएका थिए । थरुहट थारुवान आन्दोलन पक्षधर र सुरक्षाकर्मीबीच भएको झडपमा सो घटना भएको थियो ।

प्रकाशित मिति: बुधबार, भदौ ४, २०७६  १२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update