टीकापुर, जेठ ६
सुदूरपश्चिम प्रदेश सरकार विस्तार भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले दोस्रो पटक नेकपा माओवादी केन्द्रलाई मन्त्रीपरिषदमा समावेश गर्दै मन्त्री परिषद विस्तार गरेका हुन् ।
मुख्यमन्त्री कमलबहादुर शाहका प्रमुख स्वकीय सचिव धनबहादुर शाहीले हाम्रो पत्रलाई दिएको जानकारी अनुसार विस्तारित मन्त्री परिषदमा नेकपा माओवादी केन्द्रबाट उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा रमेश धामी, सामाजिक विकास मन्त्रीमा झपटबहादुर साउँद तथा उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा गितादेवी माल मन्त्री बनेका छन् ।
त्यस्तै नेपाली काँग्रेसबाट पृथ्वीबहादुर सिंह आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियूक्त भएका छन् ।
२०७९ माघ २६ गते मुख्यमन्त्रीमा नियूक्त भएका शाहले २७ गते दुई सदस्यीय मन्त्रीमण्डल विस्तार गरेका थिए । सरकार गठन भएको सय दिन पुरा हुँदा मन्त्रीपरिषदलाई पूणर्ता दिने तयारी गरेका मुख्यमन्त्री शाहले दोस्रो पटकमा पनि मन्त्रीपरिषदलाई पूणर्ता भने दिन सकेका छैनन् ।
नवनियूक्त मन्त्री तथा राज्यमन्त्रीले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनियताको सपथ लिने छन् । प्रदेश प्रमुखको कार्यालयमा अहिले नेता तथा समर्थकहरुको भीड रहेको छ ।
यता, दुई मन्त्रालय नपाए सरकारमा सहभागी नहुने प्रतिक्रिया दिएको नागरिक उन्मुक्ति पार्टीबाट मन्त्रीका लागि नाम सिफारिस नभएपछि प्रदेश सरकारले पूणर्ता पाउन सकेको छ्रैन ।
उन्मुक्तिले मन्त्रीको नाम नपठाएपछि प्रदेशको भुमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मुख्यमन्त्री कमलबहादुर शाह मातहात रहने छ ।