Hamro Patra
सुदूरपश्चिम प्रदेशः मुख्यमन्त्री शाहका शय दिन

टीकापुर, जेठ ५

सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गरिरहेका कमल बहादुर शाह मुख्यमन्त्री बनेको शय दिन पुगेको छ । गत माघ २७ मा शाह मुख्यमन्त्रीमा चयन भएका थिए । मुख्य मन्त्री शाहले आज पदभार ग्रहण गरेको शय दिन पुगेको हो ।

हनिमुन पिरियड मानिने शय दिनमा मुख्यमन्त्री शाह नेतृत्वको सुदूरपश्चिम प्रदेशले आज पत्रकार सम्मेलन गर्दै शय दिनका उपलब्धी सार्वजनिक गरेको छ ।

CMA Staff

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री शाहले सरकारका शय दिनका उपलब्धी सार्वजनिक गरेका हुन् । पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री शाहले राजनीतिक सहमति र स्थायित्वका लागि वर्तमान सरकारले काम गरिरहेको बताए ।

भौतिक पूर्वाधार विकासमा बढोत्तरी, वार्षिक विकास कार्यक्रम पहिचान छनोट र प्राथमिकीकरणमा अनुशासित र जवाफदेही प्रणाली स्थापनाको सुरुवात र वार्षिक बजेट तर्जुमामा स्थानीय तहसँगको उच्चतम समन्वय र सहकार्य संस्कृतिको बिजारोपण भएको उल्लेख सार्वजनिक गरिएको विवरणमा उल्लेख छ ।

सरकारले धार्मिक र प्राकृतिक पर्यटन प्रवद्र्धन तथा पर्यटन पूर्वाधार निर्माण, विपद् जोखिम न्यूनिकरणमा सहकार्य र शिक्षा र स्वास्थ्य क्षेत्रको समग्र सुधारका लागि पहल थालिएको मुख्यमन्त्री शाहले बताए ।

शय दिनका ११ बुँदामा उपलब्धीः

१. पूर्वाधारतर्फ २२ किलोमिटर पक्की र ७५ किलोमिटर ग्राभेल सडक निर्माण भएको छ ।
२. खानेपानीका ३६ वटा आयोजनाबाट ४ हजार ५ शय ३८ जना लभान्वित भएका छन् ।
३. ३ वटा सडक पुल र १ झोलुङ्गे पुलको काम सम्पन्न भएको छ ।
४. १ हजार २ शय २६ हेक्टरमा सिँचाइ सुविधा पुगेको छ ।
५. प्रदेशभर ४५ हजार बिरुवा रोपिएको जनाएको छ ।
६. १५० लाख किलोग्राम खोटो र ५ लाख किलोग्राम जडिबुटी संकलन भएको छ ।
७. प्रदेश सरकारले सदाचार नीति र भ्रष्टाचार नियन्त्रण कार्ययोजना तर्जुमा गरेको छ ।
८. मागमा आधारित अनुशासित बजेट तर्जुमा प्रक्रियाको सुरुवात गरेको छ ।
९. संघ र स्थानीय तहसँग समन्वय एवं विकास साझेदारसँग परामर्श गरेको छ ।
१०. प्रदेशको धार्मिक, साँस्कृतिक तथा आद्यात्मिक पक्षको उजागर गर्न मानसखण्ड सम्मेलन सम्पन्न गरेको, खप्तड, रामारोशन पर्यटकीय क्षेत्रको प्रबद्र्धनका लागि विशेष पहल गरेको छ ।
११. ३ लाख ५० हजार पशुपन्छीलाई खोप, आलु, किबी र चैते धान खेती विस्तार भएको छ ।

मुख्यमन्त्री शाहले प्रदेशको वस्तुस्थिति अध्ययन, विभिन्न विकास आयोजना र जिल्लाहरूको स्थलगत अवलोकन र अनुगमन गरी समस्या पहिचान र भावी कार्यदिशा निर्धारण गर्ने काम भएको बताए ।

यस्तै, प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको तयारी पूरा हुनुलाई पनि सरकारले उपलब्धि मानेको छ । शय दिनको अवधिमा सरकारले मुख्य रुपमा प्रणाली सुधारमा केन्द्रित रहेर काम गरेको जनाएको छ ।

सरकारले लामो समयदेखि निर्माण कार्यमा कुनै प्रगति नभएको विकास आयोजनाको स्थलगत अनुगमन गरी सम्बन्धित निर्माण व्यवसायी र कर्मचारीलाई आयोजनाको शीघ्र कार्यान्वयन गर्न निर्देशन दिइएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  १३:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update