Hamro Patra
बस्ती नजिकै देखियो डमरु सहितको पाटेबाघ

टीकापुर, जेठ ३

टीकापुरको बस्ती नजिकै आफ्नो बच्चा सहित पाटेबाघ देखा परेको छ । टीकापुर नगरपालिका वडा नं. २ विजयनगर नजिकै पाटेबाघ देखिएको हो ।

स्थानीय नरेश ऐरले आफ्नो बच्चालाई मुखमा बोकेर हिँडिरहेको पाटेबाघको भिडियो खिचेका छन । उनका अनुसार रानी कुलाको इन्टेक नजिकैको नहरको सडकमा पाटेबाघ देखिएको हो ।

Khadga Memorial And Janajagriti

बच्चा सहित बस्ती नजिकै पाटेबाघ देखिएपछि स्थानीयमा त्रास फैलिएको छ । बच्चा बोकेर हिँडेको पाटेबाघले कुनैपनि बेला आक्रमण गर्न सक्ने बताईन्छ । ‘उसले आफ्नो बच्चाको सुरक्षाका लागि आक्रमण गर्छ’ स्थानीय बलविर चौधरीले भने –‘बच्चा सहितको बाघ निकै रिसाहा हुन्छ ।’

कैलालीको पूर्वी भेगका बस्तीमा पछिल्ला वर्षहरुमा जंगली जनावरको प्रवेश बढ्न थालेको छ । टीकापुर नगरपालिका र जानकी गाउँपालिकाका विभिन्न बस्तीमा बेलाबेलामा जंगली जनावरले मान्छेलाई आक्रमण समेत गर्ने गरेका छन । जंगली जनावरको आक्रमणमा परेर कतिपयले ज्यान समेत गुमाएका छन ।

२०७९ असार ५ गते जंगली हात्तीको आक्रमणमा परेर टीकापुर नगरपालिका वडा नं. १ ब्लक नं. १५ की ५० वर्षीया टंक सोडारीले ज्यान गुमाईन । कर्णाली नदी किनारमा भैरहेको तटबन्धमा मजदुरी गरेर फर्किरहेकी सोडारीलाई जंगली हात्तीले आक्रमण गरेको थियो । उनको घटनास्थलमै ज्यान गएको थियो ।

२०७९ मंसिर ८ गते सोही ठाउँकी ढुन्की कठायतलाई चितुवाले आक्रमण गरेर घाईते बनाएको थियो । उनलाई भुराखानी सामुदायिक वनमा घाँस काट्न गएको बेला चितुवाले आक्रमण गरेको थियो । पाँच जना महिना घाँस काटिरहेको बेला चितुवाले आक्रमण गरेको बताईएको छ ।

त्यस्तै २०७९ चैत २४ गते टीकापुर नगरपालिका वडा नं. ८ श्रीलंकाका २७ वर्षका पवन आउजीलाई समेत चितुवाले आक्रमण गरेर घाईते बनायो । उनलाई चितुवाले आक्रमण गरेपछि स्थानीयले होहल्ला गरेर भगाएका थिए । उनको हात र खुट्टामा चोट लागेको थियो ।

तीन वर्ष अघि वयश्क चितुवा दिउसै टीकापुर बसपार्क नजिकै देखिएको थियो । सोही चितुवाको आक्रमणमा परेर ट्राफिक प्रहरी देवीराम धिताल घाईते भएका थिए । चितुवाले केही स्थानीयलाई समेत आक्रमण गरेको थियो ।

टीकापुर नगरपालिका वडा नं. १ ब्लक नं. ९ को एक घर छेउमा लुकेर बसेको चितुवालाई समात्न सेनाको टोलीलाई दिनभर लागेको थियो । ४ राउण्ड गोली हानेपछि चितुवा नियन्त्रणमा आएको थियो ।

करिव दश वर्षअघि गैंडा टीकापुर बजारमै प्रवेश गर्यो । बाघमारा, वनगाउँहुँदै टीकापुर प्रवेश गरेको गैंडाले मान्छेलाई भने आक्रमण गरेन । बिहानको समय भएकाले मान्छेको चहलपहल थिएन । टीकापुर एयरपोर्टको छेउ हुँदै गैंडा भुराखानी जंगलतर्फ प्रवेश गरेको थियो ।

कर्णाली नदी किनारका बस्तीमा जंगली हात्तीले प्रायः वर्षेनी नोक्सान पुर्याउने गरेको छ । टीकापुर नगरपालिका वडा नं. ५ का विभिन्न गाउँमा जंगली हात्तीको बथान पस्ने गर्छ । नजिकैको जंगलबाट हात्तीको बथान गाउँ पस्ने गरेको स्थानीय बताउँछन । केही वर्षअघि हात्तीको बथानले टीकापुर पार्कमा समेत क्षति पुर्याएको थियो ।

यी सबै जंगली जनावर बर्दिया राष्ट्रिय निकुञ्जबाट आउने गरेको पाईएको छ । निकुञ्ज र कैलालीको पूर्वी भेगको बिचमा कर्णाली नदी छ । जंगली जनावर कर्णाली नदी तरेर पश्चिम कैलालीतर्फ प्रवेश गर्छन । कैलालीको पूर्वी भेगमा रहेको बस्ती कर्णाली नदी किनारको जंगलसँगै जोडिएको छ । जंगलसँगै बस्ती जोडिएका कारण कुनैपनि बेला जंगली जनावरको खतरा रहने गरेको स्थानीय पदम साउँदले जानकारी दिए ।

बस्तीमा मान्छेलाई नोक्सान गर्ने जंगली जनावर मात्रै आउँदैनन् । मान्छेले नोक्सान गर्ने जंगली जनावर समेत बस्तीमा आउँछन । स्थानीयका अनुसार बँदेल, निलगाई, चित्तल लगायत पनि बेलाबेलामा बस्तीमा देखिने गरेका छन । केही स्थानीयले यस्ता जंगली जनावरको भने शिकार गर्ने गरेको पाईन्छ ।

प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  १६:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update