टीकापुर, जेठ ३
डिल्लीबजार कारागारमा जेलजीवन बिताईरहेका पूर्वसाँसद रेशमलाल चौधरीले सर्वोच्च अदालतले गरेको फैसलाको सम्मान गरेका छन । उनले आज प्रेस विज्ञप्ती जारी गर्दै सर्वौच्च अदालतले गरेको फैसला आफूप्रति न्यायिक नभए पनि स्विकार्नुको विकल्प नभएको उल्लेख गरेका छन ।
‘मिति २०८० जेष्ठ ३ गते सम्मानीत सर्वोच्च अदालतले गरेको फैसलामा म प्रति न्यायिक नहुन सक्छ तर त्यसो भन्दैमा स्विकार्नुको विकल्प हुन्न । टीकापुर घटनालाई लक्षित बनाएर गरेको फैसला स्विकार्दै भोलि पुनरावलोकनको बाटो हाम्रो लागि खुल्ला छ’ उनले भनेका छन ।
उनले आफूले अदालतलाई सदा सम्मान गर्ने र सबैले उत्तिकै सम्मान गर्नुपर्ने विज्ञप्तीमा उल्लेख गरेका छन । उनले टीकापुर घटनाको फैसलालाई अनर्गल बनाउँदै जथाभावी सामाजिक सन्जालमा जे पायो त्यही पोष्ट नगर्न अनुरोध गरेका छन ।
उनले सर्वोच्च न्यायालल प्रति आफूलाई अझै भरोसा रहेको र अझै न्यायको पर्खाईमा रहेको बताएका छन । ‘मलाई अझै सम्मानित सर्वोच्च न्यायालय प्रति भरोसा छ । हामी अझै न्यायिक पर्खाईमा छौं । त्यसैले सबैलाई सम्मानित सर्वोच्च अदालतको सम्मान गर्न अनुरोध गर्दै यो विज्ञप्ती जारी गरेको छुँ’ उनले उल्लेख गरेका छन । उनले आफू डिल्लीबजार कारागारमा धैर्य सहनशीलताका साथ कैद भुक्तान गरिरहेको भनेका छन । उनले स्वस्थ रहेको र रत्तिभर विचलित नभएको समेत उल्लेख गरेका छन ।
उनले विज्ञप्तीमा धरातल नामक पुस्तक लेखिरहेको र सो पुस्तक केही दिनमा पाठक समक्ष आउने जनाएका छन । ‘पुस्तक लेखिरहेको छुँ । केहिदिन धरातल नामक पुस्तकका साथ तपाई समक्ष साक्षात हुने छुँ भन्दै विदा चाहन्छुँ । जय नागरिक ।’ उनले विज्ञप्तीको अन्त्य गरेका छन ।
उनी २०७२ भदौ ७ गते भएको टीकापुर घटनामा दोषी ठहर भएका छन । उनलाई जन्मकैद गर्ने जिल्ला र उच्च अदालतको फैसलालाई सर्वोच्चले सदर गरिदिएको छ । उनी कारागारमा छन । उनी नागरिक उन्मुक्ति पार्टीका संरक्षक हुन । उनकी श्रीमती रञ्जिता श्रेष्ठ पार्टीकी अध्यक्ष हुन । कैलाली क्षेत्र नं. १ बाट विजयी साँसद चौधरी पत्नी श्रेष्ठ वर्तमान सरकारको मन्त्री रहेकी छन ।