Hamro Patra
कर्मचारी समायोजनको असर ःचिकित्सक विहिन बन्दै टीकापुर अस्पताल

योगेश रावल
टीकापुर, साउन २७
सरकारले अघि सारेको कर्मचारी समायोजनले स्वास्थ्य संस्थाहरुको अवस्था अस्तव्यस्त बनेको छ । कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरुले अन्यत्र समायोजन रोजेपछि तत्काल ती स्वास्थ्य संस्थाहरु समस्यामा परेका छन ।

सरकारले कर्मचारीलाई समायोजन रोजेको ठाउँमा जान धमाधम पत्राचार गरिरहेको छ । जसले गर्दा चिकित्सक र स्वास्थ्यकर्मीहरु समेत आफूले समायोजन रोजेको ठाउँमा जान थालेका छन ।

कर्मचारी समायोजनको मारमा टीकापुर अस्पताल समेत परेको छ । अस्पतालका धेरैजसो चिकित्सकले अन्यत्र समायोजन रोजेका छन । ती मध्ये कतिपय चिकित्सक समायोजन भएको ठाउँमा गैसकेका छन भने कतिपय जाने तयारीमा छन । अस्पताल केही दिन भित्रै चिकित्सक विहिन हुने देखिएको छ ।

Khadga Memorial And Janajagriti

अस्पतालमा कार्यरत मेडिकल अफिसर डा. अमित प्रजापति र डेण्टिस डा. पूर्णप्रसाद शर्मा समायोजन रोजेको ठाउँमा गैसकेका छन । प्रजापतिले ३ नं. प्रदेश र शर्माले कर्णाली प्रदेश रोजेका छन ।

मेडिकल सुपरिटेण्डेन्ट डा. नरेन्द्रकुमार खनाल स्वास्थ्य सेवा विभागमा पदस्थापन भएका छन । विगत नौ वर्षदेखी अस्पतालमा कार्यरत डा. खनाल पदस्थापनको पत्रको पर्खाईमा छन । उनले समायोजनको पत्र प्राप्त गरिसकेका छन । ‘पदस्थापनको पत्र बुझ्ने बित्तिकै हिड्नु पर्छ’ उनले भने–‘सरकारी निर्णय मान्दैन भन्न मिलेन ।’

अर्थोपेडिक डा. लक्ष्मण सिग्देलको करार अवधि समाप्त भैसकेको छ । उनको करार साउन १ गतेदेखी थपिनुपर्ने हो । तर अझैसम्म करार थप्ने बारेमा कुनै निर्णय हुन सकेको छैन । संघ र प्रदेश सरकारको अधिकार स्पष्ट नभएका कारण डा. सिग्देलको करार थप्ने वा नथप्ने बारेमा अन्यौल भएको बताईएको छ । स्रोतका अनुुुसार समयमा करार अवधि थप हुन नसके डा. सिग्देल समेत अन्यत्र जाने सम्भावना छ ।

त्यस्तै अर्का मेडिकल अफिसर डा. नवराज शर्माको करार अवधि भदौमा सकिदैछ । अस्पतालमा २ वर्षका लागि सरुवा भएर आएका फिजिसियन डा. सञ्जय भूषाल र टीकापुर नगरपालिकाबाट नियुक्त बालरोग विशेषज्ञ डा. अमरनाथ ठाकुर मात्रै रहने निश्चित छ । डा. भूषाल आएको ६ महिना बितिसकेको छ । स्रोतका अनुसार उनी पनि कुुनैबेला सरुवा हुनसक्छन ।

चिकित्सक मात्रै हैन अन्य स्वास्थ्यकर्मी समेत धमाधम अस्पताल छोड्दैछन । अनमी तारा खरेलको भजनी र गेहराज खनालको अर्घाखाँची पदस्थापन भएको छ । उनीहरु दुवैजना समेत पत्रको पर्खाईमा छन । खरेल र खनालको अनुपस्थितिसँगै अस्पतालमा शल्यक्रिया गरेर बच्चा जन्माउने सेवा बन्द हुनेछ ।

त्यस्तै ल्याबतर्फका विश्वास न्यौपाने र प्रमोदकुमार यादव समेत जाने तयारीमा छन । उनीहरु दुवैजनाको अनुपस्थितिमा अस्पतालको ल्याब सेवा समेत प्रभावित हुने बताईन्छ । अस्पतालले हालै मात्र सिकलसेल एनिमियाको जाँच समेत सुरु गरेको छ । जसका लागि अत्याधुनिक मेसिन जडान भएको छ । दक्ष जनशक्तिको अभावमा सिकलसेल एनिमिया जाँच सेवा समेत प्रभावित हुने देखिएको छ ।

अस्पताल व्यवस्थापकका रुपमा कार्यरत टेकराज भट्ट समेत अध्ययन गर्ने भन्दै हिँडेका छन । उनको ठाउँमा अर्को व्यक्ति आएको छैनन् ।

‘अस्पतालमा बाढी आए जस्तै भएको छ’ मेसु डा. खनालले भने–‘यसपछिको अवस्था राम्रै होला तर सुरुवात निकै चुनौतीपूर्ण पक्कै छ ।’

केही दिन भित्रै अस्पतालमा औषधी उपचार मात्रै नभई पोष्टमार्टम गर्न समेत समस्या हुने देखिएको छ । टीकापुरबासीले पोष्टमार्टम गर्नका निम्ति धनगढीस्थित सेती अञ्चल अस्पताल जानुपर्ने वाध्यता सिर्जना हुन लागेको छ ।

सुधारोन्मुख अवस्थामा रहेको अस्पताल कर्मचारी समायोजनका कारण तहसनहस हुन लागेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन । स्थानीय दिपेन्द्र साउँदले पहिलेको तुलनामा टीकापुर अस्पतालको सेवा सुविधामा निकै धेरै सुधार भैरहेको बताए । ‘पहिलेको भन्दै धेरै राम्रो सेवासुविधा पाईरहेका थियौं’ उनले भने–‘अब फेरी पूरानै हालतमा फर्किने कुराले चिन्तित बनेको छुँ ।’

सुदूरपश्चिम प्रदेश सरकारलाई स्वास्थ्य संस्थामा चिकित्सक पु¥याउन निकै समस्या भएको छ । प्रदेश सरकार मातहत रहेका स्वास्थ्य संस्थामा मात्रै तत्काल १२० जना चिकित्सकको आवश्यकता छ । तर ३ जना चिकित्सकले मात्रै प्रदेश समायोजन रोजेका छन । यो अवस्थामा सबै स्वास्थ्य संस्थामा चिकित्सक पु¥याउन निकै धेरै चुनौती खडा भएको छ । ‘यस्तै अवस्थामा सबै स्वास्थ्य संस्थामा डाक्टर पु¥याउन असम्भव छ’ सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले भने–‘सरकारले कुनै न कुनै विकल्प खोज्नैपर्छ ।’

टीकापुर अस्पतालमा मात्रै १५ जना चिकित्सकको दरबन्दी छ । जसमध्ये १ मेसु, ९ विशेषज्ञ, १ डेण्टल र ४ जना मेडिकल अफिसर छन ।

हाल ५१ शैयाको यो अस्पताल स्थानीय स्तरबाट सुरु भएको हो । २०३४ सालमा हेल्थ पोष्टका रुपमा स्थापना भएको अस्पतालसँग १३ विगाह जमिन छ । यो जमिन तत्कालिन टीकापुर विकास समितिले निशुल्क प्रदान गरेको हो । २०५० सालमा हेल्थ पोष्ट प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा स्तरोन्नती गरिएको थियो । सरकारी स्तरबाट ३ शैया स्विकृत पाएको अस्पतालमा तत्कालिन टीकापुर विकास समितिले १२ शैया आफ्नै पहलमा थप गरेको थियो ।

२०६० सालमा सरकारले प्राथमिक स्वास्थ्य केन्द्र टीकापुरलाई १५ शैयाको अस्पतालका रुपमा घोषणा गरेको थियो । २०६१ साल असारमा अस्पताल विकास समिति गठन गरियो । अस्पताल विकास समितिका तर्फबाट १० शैया थप गरेर अस्पताल सञ्चालनमा ल्याईएको थियो । २०७२ सालमा सरकारले ५१ शैयाको अस्पतालका रुपमा दरबन्दी स्विकार गरेपछि जिल्ला अस्पताल सरह मान्यता पाएको थियो ।

प्रकाशित मिति: सोमबार, साउन २७, २०७६  ०९:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update