Hamro Patra
सुदूरपश्चिम प्रदेश सभा बैठक तीन महिनादेखि ठप्प

टीकापुर, जेठ १

सुदूरपश्चिम प्रदेश सभा बैठक तीन महिनादेखि ठप्प छ । साथै प्रदेशका चार मन्त्राय समेत लामो समयदेखि मन्त्री नपाएर रिक्त छन् । आफु नियुक्त भएको चार महिनासम्म मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद्लाई पूणर्ता दिन सकेका छैनन् ।
एक साताअघि मुख्यमन्त्री शाह र सत्तारूढ माओवादी केन्द्रका प्रदेश सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवालाई संयुक्त रूपमा भेटेर मन्त्रिपरिषद् विस्तारबारे छलफल गरेका थिए ।

CMA Staff

भेटमा दाहाल र देउवाले माओवादी केन्द्रका तीन र नागरिक उन्मुक्ति पार्टीबाट एक जनालाई मन्त्री बनाउने समझदारी गरे पनि कार्यान्वयन भएको छैन् । पाँच महिनादेखि चार वटा मन्त्रालय मन्त्रीविहीन छन् । माघ २६ मा नियुक्त भएका मुख्यमन्त्री शाहले शपथकै दिन माघ २७ मा एकीकृत समाजवादीबाट नरेशकुमार शाहीलाई आर्थिक मामिला र कांग्रेसका प्रकाशबहादुर देउवालाई भौतिक पूर्वाधार विकासमन्त्री नियुक्त गरेका थिए ।

रिक्त रहेका आन्तरिक मामिला र सामाजिक विकास, उद्योग, पर्यटन, वन तथा वातावरण, भूमि व्यवस्था तथा कृषि मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीले नै सम्हालिरहेका छन् । पुस १८ गते पहिलो बैठक बसेको प्रदेशसभामा सभामुख, उपसभामुखको निर्वाचन, मुख्यमन्त्रीको विश्वासको मतका लागि बैठकबाहेक कुनै संसदीय गतिविधि हुन सकेको छैन ।

पुस १५ गते नवनिर्वाचित सांसदहरूको शपथपछि १८ गते बैठक बसेको थियो । फागुन २१ गते मुख्यमन्त्री शाहले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको पहिलो अधिवेशनको आठौं बैठक बसेको थियो । त्यसयता प्रदेशसभा ठप्प छ । यसअघि एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले विश्वासको मत प्राप्त गर्न नसकेपछि कांग्रेस, माओवादी केन्द्र, नागरिक उन्मुक्ति र एकीकृत समाजवादीको नयाँ गठबन्धनमा कांग्रेस संसदीय दलका नेता शाह मुख्यमन्त्री नियुक्त भएका थिए । सभामुख भीमबहादुर भण्डारीले एक/दुई दिनभित्र सर्वदलीय बैठक बोलाउने तयारी गरिरहेको बताए ।

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  १३:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update