टीकापुर, बैशाख ३१
कैलालीमा चिसापानीदेखि अत्तरियासम्म सडक सुधार तथा स्तरोन्नतीका लागि सडक डिभिजन कार्यालय महेन्द्रनगरले काम थालेको छ । अत्तरिया चोकदेखि चिसापानीसम्मको सडकलाई दुई भागमा विभाजन गरेर सडक सुधार तथा स्तरोन्नतीको काम अघि बढाइएको हो ।
अत्तरियादेखि लम्कीसम्म ६५ किलोमिटर सडकको सुधार र आवश्यक स्तरोन्नतीका लागि चालु आर्थिक वर्ष सुरु भएदेखि नै सुधार र मर्मतको काम भइरहेको छ । सो खण्डमा पाइलेटिङ प्रोजेक्टको रुपमा गत वर्ष नै काम पुरा भएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका ईन्जिनियर एवं सूचनाअधिकारी पीयुष चटौतीले बताए ।
उनकाअनुसार सो खण्डमा अहिले सामान्य मर्मतको काम भइरहेको छ । मर्मत सुधारको जिम्मा लिएको कम्पनीले जेठभित्र काम पुरा गरिसक्ने गरी सम्झौता भएको उनले बताए । त्यस्तै लम्कीदेखि चिसापानीसँग यो वर्षको सुरुदेखि नै चार एटिएम टु ठेक्का आह्वान भयो तर कसैको पनि आवेदन परेन् ।
पौने चार करोडको सो प्रोजेक्ट निर्माणमा कुनै पनि निर्माण कम्पनीले इच्छा नदेखाएपछि सडक विभागले नेपालगन्जको टेक्नोलोजीमा ठेक्का लगाउन सुझाएपछि एसफाल्ट (रोडा र अलकत्रालाई तताएर मिसाउने उपकरण) मा जान हालै मात्र नोटिस जारी भएको इन्जिनियर चटौतले जानकारी गराए । ‘यस्तो टेक्नोलोजीमा जान सूचना जारी भएको छ, १२/१५ दिन अझै यसको म्याद भएकाले ठेक्का खुलेपछि पहिले प्राविधिक मुल्यांकन गरेर त्यसपछि आर्थिक मुल्यांकन हुन्छ र काम अघि बढ्छ ।’