टीकापुर, बैशाख २९
नागरिक उन्मुक्ति पार्टीले रामेश्वर चौधरी र लक्ष्मणकिशोर चौधरीलाई मन्त्री बनाउने भएको छ ।
बिहीवार दिउँसो बसेको नाउपा संसदीय दलको बैठकले मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सुदूरपश्चिम सरकारमा दुई जनालाई पठाउने निणर्य गरेको हो ।
संसदीय दलका नेता घनश्याम चौधरीले सरकारमा सहभागी हुन निणर्य गरेको जानकारी दिए । टीका थापा बाहेकका ६ जना प्रदेशसभा सदस्य सहभागी बैठकले रामेश्वर चौधरी र लक्ष्मणकिशोर चौधरीलाई सरकारमा पठाउने निणर्य समेत गरेको छ । रामेश्वर पूर्व दल नेता र लक्ष्मणकिशोर निवर्तमान प्रमुख सचेतक हुन् । उनीहरुलाई मन्त्री बनाउन पद्बाट हटाइएको थियो ।
नागरिक उन्मुक्ति पार्टीले सामाजिक विकास र भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयसहित एक राज्यमन्त्री र प्रदेशसभाको सामाजिक विकास समितिको सभापतिको माग गर्दै आएको छ । तर नेकपा माओवादी केन्द्रले समेत सामाजिक विकास मन्त्रालयसहितका तीन मन्त्रालय पाउनुपर्ने माग राखेको छ ।
नागरिक उन्मुक्ति पार्टी संसदीय दलको बैठक बस्नुअघि प्रदेशसभा सदस्यहरुले सरकार विस्तारका सम्बन्धमा मुख्यमन्त्री कमलबहादुर शाहसँग छलफल गरेका थिए । दलहरुबीच भागबण्डा नमिलेकै कारण मुख्यमन्त्री शाहले मन्त्रिपरिषद्लाई पूणर्ता दिन सकेका छैनन् ।