Hamro Patra
विपद् जोखिमबाट बच्नका लागि साइरन जडान

टीकापुर, बैशााख २६

कैलालीका विभिन्न पालिकामा सुचना प्रवाहका लागि साइरन जडान गरिएको छ।

CMA Staff

जिल्लाको टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा प्रकोपको जोखिम रहेका स्थानमा सूचना प्रवाहका लागि साइरन जडान गरिएको हो । यी पालिकामा सबैखाले विपद् तथा प्रकोपका समयमा सहज सूचना प्रदान गर्नका लागि बहु-विपद पूर्व सचेतना उपकरण साइरन जडान गर्न थालिएको हो।

जानकी गाउँपालिकाका तीन स्थानमा साइरन जडान गरिएको छ भने टीकापुरमा तीन स्थानमा जडान गर्ने तयारी रहेको छ । जानकी गाउँपालिकाको वडा नं.-४, ६ र ९ मा साइरन प्रणाली जडान भएको पालिकाले जानकारी दिएको छ । विपत तथा प्रकोपका बेला आइपर्ने सम्भावित जोखिमबाट बच्न तथा क्षति न्यूनीकरण गर्नका लागि स्थानीयवासीलाई सहज र छिटो सूचना दिन साइरन प्रणाली जडान गरिएको गाउँपालिकाका विपद् फोकल पर्सन नेत्रप्रसाद जैशीले बताए ।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको १० लाख सहयोगमा वडा नं ४ को वडा कार्यालय मुनुवा, वडा नं ६ को बालज्योति आधारभूत विद्यालय जगतपुर र वडा नं ९ को वडा कार्यालय खैरीफाँटामा साइरन जडान गरिएको छ । साइरन प्रणालीमार्फत विपद् जोखिम क्षेत्रमा रिमोट कन्ट्रोल, एसएमएस, अनलाइन र साइरनको आवाजमा सूचना सम्प्रेषण हुनेछ ।

यो प्रणालीमार्फत विपद्का बेला स्थानीय पालिका, जिल्ला, प्रदेश वा केन्द्रबाट सूचना प्रवाह गर्न सकिनेछ । सूचना प्रवाहका लागि पाँच सय मिटर पेरिफेरीमा रिमोटमार्फत वडा कार्यालय, एसएमएस र अनलाइन जानकारीका लागि गाउँपालिका विपद् शाखा र साइरनका लागि सम्बन्धी ठाउँका सम्बन्धित व्यक्तिमार्फत हुने जैशीले बताए ।

प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  १७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update