Hamro Patra
सुरक्षाकर्मी नै खैरो हेरोइन तस्करीमा: सशस्त्र प्रहरीका हवल्दार पक्राउ

टीकापुर, बैशाख २३

लागुऔषधको चपेटामा पर्दै गएको चर्चा हुने कैलालीमा सुरक्षाकर्मीहरु नै लागुऔषध खैरो हेरोइन तस्करीमा संलग्न रहेको तथ्य बाहिर आएको छ ।
इलाका प्रहरी कार्यालय टीकापुरले आज भारतीय सीमानाका तिकुनियाँबाट टीकापुरतर्फ आउँदै गरेका सशस्त्र प्रहरी बलमा कार्यरत सशस्त्र प्रहरी हवल्दारलाई पक्राउ गरेपछि सो तथ्य बाहिर आएको हो ।

लागुऔषध खैरो हेरोइनसहित सशस्त्र प्रहरीका हवल्दार प्रेमसिंह सुनारसहित दुई जनालाई इलाका प्रहरी कार्यालय टीकापुरले पक्राउ गरेको छ ।
यसअघि कैलालीको भजनी नाकाबाट नेपाल प्रहरीका जवान ३२ ग्राम खैरो हेरोइन सहित पक्राउ परेका थिए ।

Khadga Memorial And Janajagriti

इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले सशस्त्र प्रहरीका हवल्दार सुनारसहित सागर घिमिरेलाई खक्रौलास्थित नाकाबाट पक्राउ गरेको हो ।

लम्कीचुहा नगरपालिका वडा नं. २ मोतिपुरका ३३ वर्षीय सुनार सशस्त्र प्रहरी बल नेपाल नम्बर ४३ रिजर्भ गण हेडक्वार्टर बनबेहडा कैलालीमा कार्यरत रहेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी उद्धवसिंह भाटले जानकारी दिएका छन् ।

सशस्त्र प्रहरी बलको आइडी नम्बर ४३७३० रहेका सुनार बैशाख १४ गतेदेखि लागु हुने गरी १५ दिनको विदामा आएका बेला खैरो हेरोइनसहित पक्राउ परेका हुन् ।

हवल्दार सुनारसँगै मोतिपुरकै २६ वर्षीय सागर घिमिरेले भारतको तिकुनियाँबाट लागुऔषध खैरो हिरोइन ल्याउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डाको टोलीले पक्राउ गरेको हो ।

डिएसपी भाटका अनुसार सुनारले ९ शय १० मिलिग्राम र घिमिरेले २ ग्राम १७० मिलिग्राम खैरो हिरोइन मलद्धारमा लुकाई छिपाई ल्याउँदै गर्दा पक्राउ परेका हुन् । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको डिएसपी भाटले बताए ।

सीमा क्षेत्रबाट हुने लागुऔषधको तस्करीमा सुरक्षाकर्मीको संलग्नता देखिएपछि स्थानीयबासी चिन्तित बनेका छन् । सुरक्षाकर्मीमाथि सीमा क्षेत्रमा समेत चेकजाँच नहुँदा लागुऔषध सजिलै नेपाल भित्रिने गरेको छ ।

सामान्यता सुरक्षाकर्मीलाई प्रहरीले समेत चेकजाँच गर्दैनन् । सुरक्षाकर्मीको आडमै लागुऔषध खैरो हेरोइन नेपाल भित्रिनुले चेकजाँचमा कडाई गर्नुपर्ने आवाज उठ्न थालेको छ ।

‘मलद्धारमा लुकाई छिपाई ल्याउँदै गरेका सुरक्षाकर्मी नै लागुऔषधमा संलग्न रहेको पाइयो’ डीएसपी भाटले भने ‘लागुऔषध नियन्त्रणका लागि हामी कठोर रुपमा प्रस्तुत भइरहेका छौं, स्थानीयको सहयोग पाए नियन्त्रणमा हुनेछ ।’

पछिल्लो समय इलाका प्रहरी कार्यालय टीकापुरको प्रमुखका रुपमा आएका डीएसपी भाटले लागुऔषध नियन्त्रणमा सक्रियता देखाएका छन् । गत माघ २५ गते टीकापुर पुगेका भाटले हालसम्म लागुऔषधमा २३ वटा मुद्दा दर्ता गरेका छन् भने ४१ जनालाई पक्राउ गरेका छन् ।

प्रहरीको सक्रियता बढेसँगै लागुऔषधका कारोवारीहरु पलायन हुने अवस्थामा पुगेको स्थानीय प्रकाश खत्रीले बताए । ‘दैनिक जसो चेकजाँचमा कडाई भइरहेको देख्छौं, प्रहरी समेत निकै सक्रिय भएको पाएका छौं’ खत्रीले भने ‘जसका कारणले डिलरको रुपमा लागुऔषधका कारोवार गर्दै आएकाहरु पलायन हुने अवस्था छ ।’

कैलालीको पूर्वी क्षेत्रमा लागुऔषधका प्रयोगकर्ता बढ्दै गएको चर्चा चलिरहँदा प्रहरीले थप सक्रियता बढाउनु पर्ने, प्रयोगकर्तासँगै डिलरलाई पक्राउ गरी मुद्दा चलाउनु पर्ने आवाज उठ्न थालेको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८०  २०:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update