Hamro Patra
नगरपालिकाको जम्बो टोली ठाकुरद्धारामा

टीकापुर, बैशाख २२

कैलालीको टीकापुर नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको जम्बो टोली तालिमका लागि बर्दियाको ठाकुरद्धारा पुगेको छ । नगरपालिकाको कार्यपालिकाका सम्पूणर् सदस्य र विषयगत शाखा तथा उपशाखा प्रमुखहरुका लागि आयोजना गरिएको तालिममा सहभागी हुन जनप्रतिनिधि र कर्मचारीको जम्बो टोली ठाकुरद्धारास्थित समर्थ बर्दिया एडभेञ्चर रिसोर्टमा पुगेको हो ।

जनप्रतिनिधि र कर्मचारीहरूका लागि जन-नेतृत्व विकास अवधारणा सम्बन्धी तीन दिने तालिमका लागि बिहीवार टोली रिसोर्ट पुगेको हो । तालिममा नगर प्रमुख रामलाल डगौरा थारु, उपप्रमुख खड्कबहादुर शाह, प्रमुख प्रशासकीय अधिकृत मंगल शाही सहित वडाध्यक्षहरु, शाखाका कर्मचारी गरी ३५ जना बढीको सहभागिता रहेको छ ।

Khadga Memorial And Janajagriti

नगरपालिकाको टोली तीन दिने कार्यक्रमका लागि ठाकुरद्धारा पुगेपछि स्थानीयहरुले चर्को आलोचना गरेका छन् । स्थानीयहरुले नगरपालिकाको आयोजनामा हुने कार्यक्रम लुम्बिनी प्रदेशको ठाकुरद्धारामा आयोजना गरिनु दुःखद् भएको बताई रहेका छन् ।

स्थानीय छविलाल वि.क.ले नगरपालिकाले आफ्नै नगरभित्रै खर्च गर्नुपर्नेमा ठाकुरद्धारा पुग्नु दुःखद् भएको बताए । ‘हाम्रो नगरपालिकाको राम्रै होटलमा कार्यक्रम गरे पनि हुने हो’ उनले भने ‘यहाँ नगरेर ठाकुरद्धारा पुग्नुले मामाको धन फुपुको श्राद्ध भएझैं लाग्यो ।’

आर्थिक मन्दीको चर्चा भइरहेका बेला नगरपालिकाको कार्यक्रम ठाकुरद्धाराको रिसोर्टमा गरिएपछि सर्वत्र आलोचना भइरहेको छ ।

यता, नगरपालिकाले भने टोल विकास संस्था सशक्तिकरणका लागि सहकर्मी समाजले आयोजना गरेको कार्यक्रममा कार्यपालिका र कर्मचारी सहभागी भएको बताएको छ ।

टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुले कार्यक्रम बढी प्रभावकारी होस् भन्नका लागि बिदाको दिन पारेर संस्थाले ठाकुरद्धारामा कार्यक्रम आयोजना गरेको बताए ।

‘नजिक हुँदा कोही आउने जाने गर्छन्, सहभागी बस्दैनन्, कार्यक्रममा ध्यान दिँदैनन्’ नगर प्रमुख थारुले भने ‘टाढा हुँदा मन भावना माझेर योजना बनाउन, छलफललाई थप गहन बनाउँदै ध्यान देलान् भन्नका लागि ठाकुरद्धारा गरेको हो ।’

नगर प्रमुख थारुले बिदाको दिन हुँदा नगरपालिकाको काम कारवाही प्रभावित नभएको जिकिर गरे ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०  १७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update