टीकापुर, बैशाख २२
कैलालीको टीकापुरस्थित सामुदायिक रेडियो टीकापुरको सञ्चालक समितिको अध्यक्षमा पुनः रंगप्रसाद अधिकारी चयन भएका छन् ।
रेडियोको आज सम्पन्न सातौं साधारण सभाले सञ्चालक समितिको अध्यक्षमा अधिकारीलाई आगामी दुई वर्षका लागि चयन गरेको हो । अधिकारी टीकापुरस्थित कृषि उपज बजार व्यवस्थापन समितिका अध्यक्ष हुन् ।
निर्वाचन अधिकृत मातृकाप्रसाद तिमिल्सेनाले दिएको जानकारी अनुसार टीकापुर साना सहरी टीकापुर खानेपानी कैलालीका विश्राम चौधरी, टीकापुर उद्योग वाणिज्य संघका नवराज रिमाल, खोटेना भुराखानी सामुदायिक वनका सूर्या भट्टराई, बौनियाँ बजार व्यवस्थापन समितिका बालकुमारी सुनार, मानव अधिकार सचेतन तथा सामाजिक विकास केन्द्रका कमला केसी र भानु सामुदायिक पुस्तकालयका सन्तोष नेपाली सञ्चालक समितिको सदस्यमा सर्वसम्मत चयन भएका हुन् ।
सामुदायिक रेडियोमा विभिन्न १७ वटा संस्थागत सदस्य छन् ।
यसअघि संस्थाको सातौं साधारणसभाको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य ईश्वरी न्यौपानेले टीकापुर क्षेत्रको साझा विकासका लागि सबै दलहरु एकजुट हुनुपर्ने बताइन् ।
‘कम्तीमा विकासका एजेण्डामा हामी एक हुन जरुरी छ’ नेपाली काँग्रेसकी केन्द्रिय सदस्य समेत रहेकी न्यौपानेले भनिन् ‘टीकापुरका मुख्य समस्या के हो ? यो के को हव बन्न सक्छ ? शिक्षा, स्वास्थ्य, पर्यटनमा के के कुरा प्राथमिकतामा पर्छन्, छुट्याऔं र साझा आवाज बनाएर हाम्रो टीकापुर बनाउनका लागि लागौं ।’
टीकापुर क्षेत्रबाट प्रतिनिधि सभा र राष्ट्रिय सभामा गरी ६ जना प्रतिनिधिहरु छन् । उनले स्थानीय तह, प्रदेश सरकार र प्रतिनिधि सभा सदस्यहरुबिच समन्वयको अभाव रहेको समेत बताइन् ।
‘हाम्रो पालिकाले के गरिरहेको छ, प्रदेशले के गरिरहेको छ ?’ न्यौपानेले भनिन् ‘कम्तीमा हामी जनप्रतिनिधि हौं, हामीलाई यसबारेमा जानकारी दिन जरुरी छ, यसका लागि हामी सबै बसेर छलफल अगाडि बढाऔं ।’
उद्घाटन समारोहमा प्रदेश सभा सदस्य ललिता सुनार, पूर्व प्रदेश सभा सदस्य उमादेवी वादी, फकिरसिंह कडायत, प्रदीप चौधरी, गणेश चौधरी, जंगबहादुर साउँद, नवराज रावल, मोहन वि.क., नरबहादुर रावल लगायतले बोलेका थिए ।
त्यस्तै नरेशकुमार खत्री, धुब्रराज खत्री, बालकृष्ण चौधरी, सूर्यचन्द्र भट्टराई, जीतबहादुर चौधरी, नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष योगेश रावल, टीकापुर अस्तपाल व्यवस्थापन समितिका अध्यक्ष झपटबहादुर सोडारी, नागरिक समाजका संयोजक भीमराम चपाई, मानबहादुर चौधरी लगायतले बोलेका थिए ।
अध्यक्ष रंगप्रसाद अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा स्वागत कमला केसी र सञ्चालन एकेन्द्र तिमिल्सेनाले गरेका थिए ।