Hamro Patra
कृषि क्रान्तिमा रानी, जमरा

टीकापुर, १९ बैशाख

पूर्वी कैलालीमा कृषि क्रान्ति ल्याउने अपेक्षा सहित शुरु गरिएको बहुप्रतिक्षित राष्ट्रिय गौरवको रानी, जमरा कुलरिया सिँचाइ आयोजना दोश्रो चरणमा निर्माण भइरहेको छ ।

पहिलो चरणमा मुख्य इन्टेकसहित मुल नहर र परम्परागत रुपमा सञ्चालन हुँदै आएका रानी, जमरा, कुलरिया सिँचाइ कुलाको विकास र विस्तार गरिएको छ भने दोश्रो चरणमा लम्की शाखा नहर विस्तार गरिएको छ ।

Khadga Memorial And Janajagriti

विश्व बैंक र नेपाल सरकारको २७ अर्ब लागतमा सन् २०१० मा निर्माण शुरु भएको आयोजनाको भौतिक प्रगति हालसम्म ६० प्रतिशत भएको छ । आयोजनाको पहिलो चरणको काम सन् २०१८ मा सम्पन्न भएको थियो । हाल दोस्रो चरणको काम भैरहेको आयोजनाको म्याद सन् २०२३ डिसेम्बर ३१ तारिखसम्म छ ।

३८ हजार ३ शय हेक्टर सिँचाइ लक्ष्य

आयोजनाले रानी, जमरा र कुलरिया कुलाबाट १४ हजार ३ शय हेक्टर र लम्की शाखा नहरबाट थप ६ हजार गरी २० हजार ३ शय हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याइनेछ । आयोजनाले लम्की शाखा नहरको परीक्षण समेत गरिसकेको छ ।

आयोजनाले तेस्रो चरणको समेत अध्ययन गरिसकेको छ । तेश्रो चरणमा लम्कीचुहा नगरपालिकाको पथरैया नदीदेखि पश्चिम कान्द्रा नदीसम्म थप १८ हजार हेक्टर क्षेत्रफलमा सिँचाई सुविधा पुर्याउन नहर निर्माण गरिनेछ ।

आयोजनाले नहरबाट ल्याइएको पानीबाट कटासेमा विद्युत उत्पादन गर्न अन्तिम तयारी गरिरहेको छ । आयोजनाका सूचना अधिकारी प्रेम लासिबाका अनुसार असारसम्ममा आयोजनाले ४.७ मेगावाट विद्युत उत्पादन गर्नेछ । हाल विद्युत उत्पादनका लागि उपकरणहरु जडान कार्य भइरहेका छन् ।

नहर सञ्चालनसँगै कैलालीको पूर्वी क्षेत्रका टीकापुर नगरपालिका, जानकी गाउँपालिका र लम्की चुहा नगरपालिकाका वडा नं. ४, ६ र ८ मा बाह्ै महिना सिँचाइ सुविधा पुग्नेछ ।

सिँचाइ सुविधा नभएर जमिन बाँझो राख्नुपर्ने बाध्यताबाट यहाँका किसानहरुले राहत पाउनेछन् । ‘नहरको परीक्षण गरेर हाम्रै आँखा अगाडि कर्णालीको पानी बगेको देखेपछि हामीमा खुशी छाएको छ’ लम्कीचुहा ८ का किसान लक्ष्मी चौधरीले भने ‘पहिले सिँचाइ सुविधा थिएन, अब तरकारी खेती, नगदेबाली, वर्षे धान, चैते धान लगाउन सकिने भो जसले गर्दा आमकिसानको आयस्तरमा निकै सुधार आउने छ ।’

परम्परागत कुलाको रुपमा रहेका रानी, जमरा र कुलरिया कुलाबाट नियमित सिँचाइ सुविधा पुग्नाले कृषि क्षेत्रमा देशलाई नै योगदान दिन सकिने रानी, जमरा, कुलरिया मुल कुला समितिका अध्यक्ष कुमारराज शाही बताउँछन् ।

‘नियमित सिँचाइ पुगेपछि वर्षैभरि खेतीपाती गर्न सकियो, सिजनमा, बेमौसमी सबै खाले खेती गर्न सुविधा पुग्नेछ’ अध्यक्ष शाहीले भने ‘यसका प्रत्यक्ष प्रभाव राष्ट्रिय उत्पादनसँग हुन जान्छ । २० हजार बढी हेक्टरमा सिँचाइ पुर्याउनु सामान्य कुरा होइन् ।’

४.७ मेगावाट विद्युत उत्पादन

आयोजनाले डुँडेझारीदेखि दक्षिण कटासेमा विद्युत गृह निर्माण गरिरहेको छ । उक्त विद्युत गृहबाट ४ दशमलव ७ मेगावाट विद्युत उत्पादन हुने बताइएको छ । विद्युत गृह निर्माणको काम सम्पन्न नभएकाले दक्षिणतर्फको नहरमा भने पानी छोडिएको छैन । आयोजनाका इलेक्ट्रिकल इञ्जिनियर धु्रवराज पौडेलले विद्युत गृहमा टर्वाइन जडान भएर डाइनामो जडानको कार्य भइरहेको बताए ।

‘हामी असारसम्ममा विद्युत उत्पादन परीक्षण गर्ने योजनामा छौं’ इञ्जिनियर पौडेलले भने ‘अहिलेसम्म विद्युत बाल्न सकिने थियो, कार्तिकमा आएको बाढीका कारण विद्युत गृहमा क्षति पुगेपछि केही ढिलाई भएको हो ।’

सिँचाइको नहरबाट तराई क्षेत्रमा विद्युत उत्पादन हुनु नेपालकै लागि नयाँ प्रयोग भएको बताइन्छ । टीकापुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष रामबहादुर भण्डारीले सिँचाइ आयोजनाबाट विद्युत समेत उत्पादन हुनाले आयोजनाको कुल लागत केही वर्षमै असुल हुने बताए ।

‘नेपाल सरकारले आयोजनामा लगाएको लगानी जति यहाँ उत्पादन भएको विद्युतबाट असुल उपर हुनेछ’ निवर्तमान अध्यक्ष भण्डारीले भने ‘यसकारण यो आयोजना किसानका लागि मात्रै होइन, नेपाल र नेपालीका लागि गौरबको आयोजना हो ।’

कोरोना महामारी, कर्णाली नदीमा आउने बाढी लगायतका कारणले समयमा निर्माण सम्पन्न नहुँदा भने यहाँका किसानहरु चिन्तित छन् । टीकापुर नगरपालिका वडा नं. ३ का किसान सुनिता चौधरीले आयोजना समयमा सम्पन्न नहुँदा चिन्ता लागेको बताइन् ।

‘१३ वर्ष हुन लाग्यो आयोजना बनेर पानी खेत खेतमा पुग्छ भन्ने सुनेको’ चौधरीले भनिन् ‘अहिले पनि हामीले खेतमा पानी लगाउनका लागि कुला खन्न जानुपर्ने बाध्यता छ ।’

दोश्रो चरणमा आयोजनाले कुला विस्तार कार्यक्रम सञ्चालन गरिरहेको छ । मुख्य मुख्य क्षेत्रमा सिँचाइका पूर्वाधारहरु निर्माणको क्रममा छन् । आयोजनाले आगामी दिनमा नहरको पानीलाई किसानका खेतसम्म पु¥याउने योजना बनाई रहेको छ । आयोजनाका सिनियर डिभिजनल इञ्जिनियर प्रेम लासिबाले आयोजनाको दोश्रो चरणमा किसानका खेतसम्म सिँचाइ पुर्याउनका लागि संरचना निर्माण भइरहेको बताए ।

‘नहरका विभिन्न ठाउँबाट आउटलेट छोडेका छौं’ उनले भने ‘कतिपय ठाउँमा पुरानै कुलोहरु छन् भने कतिपय ठाउँमा कुलो निर्माण गर्दैछौं । जसका माध्यमबाट किसानका खेतसम्म सिँचाइ सुविधा पुर्याउने काम गरिनेछ ।’

आयोजनाले आफ्नो कमाण्ड क्षेत्रभित्रका नदी नियन्त्रणका लागि तटबन्ध गर्दै आएको छ । आयोजनाले कर्णाली नदी, मोहना नदी र पथरैया नदीमा तटबन्धका कार्यहरु गरिरहेको छ । ‘प्रत्येक वर्ष पथरैया नदीले कटान गर्दै जमिन नै सकिने अवस्थामा पुगेका थियौं’ टीकापुरका भीम चौधरीले भने ‘यसै वर्षदेखि तटबन्ध भइरहेको छ, यसले हाम्रो खेतीयोग्य जमिन बच्नेछ । जमिन बचे उत्पादन त स्वतः बढ्ने भयो ।’

कृषिमा सहयोग

राष्ट्रिय गौरबको रानी, जमरा, कुलरिया सिँचाइ आयोजनाले कृषि कार्यान्वयन इकाई सञ्चालन गर्दै आएको छ । आयोजना क्षेत्रका किसानहरुलाई आधुनिक कृषियन्त्र, प्रविधि, खेती विस्तार कार्यक्रममा सहयोग गर्दै आइरहेको छ ।

‘उन्नत बीउ विजन, नयाँ प्रविधि, खेतीको विस्तार जस्ता कार्यक्रम सञ्चालनमा छन्’ केरा किसान टेकेन्द्र धामीले भने ‘आयोजना सञ्चालन भएसँगै यस क्षेत्रमा व्यवसायीक खेतीको शुरुवात भएको छ, चाहे त्यो केरा होस् या तरकारी अथवा बिउ उत्पादन नै ।’ आयोजनाले सहयोग गर्न थालेपछि यस क्षेत्रमा वर्षेनी केराखेती गर्ने किसानहरुको संख्या बढ्दै गएको छ ।

आयोजनाको सहयोग पछि यहाँका किसानहरुले सहकारीको माध्यमबाट बीउ उत्पादन गर्दै आइरहेका छन् । टीकापुर क्षेत्रमा उत्पादित धान, गहुँ, तोरी लगायतको बीउ देशका विभिन्न क्षेत्रमा बिक्री वितरण हुँदै आएको छ ।

किसानको खेतबारीमा सिँचाइ पुर्याउने, जमिनको सुरक्षा गर्ने, बीउ विजन तथा नयाँ प्रविधिका अनुदान जस्ता कार्यक्रमले यस क्षेत्रको कृषिमा क्रान्ति आउने किसानहरु बताउँछन् ।

प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  १२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update