बिहान उठ्ने बित्तिकै चिन्ता जहाजको टिकटकै थियो । सबैतिर फोन गरियो । नेत्र भामले एयरपोर्ट बोलाए । उनले उही कुरा दोहोर्याए । सर दुईजनालाई मात्र पठाउन सक्छु । देवेन्द्र राजाले एयरपोर्टसम्मका लागि खोजेको गाडी रोकायाइन होटल अघि पुग्यो । चारैजना झोला बोकेर तल झर्यौं । गाडीले अलमल गर्न थाल्यो । हामीले हतार छ भन्दै छिटो हिँड्न दबाव दियौं । गाडी अरु तीन जना सवारी राखेर गमगढी को उकालो चढ्यो । गमगढीमा फेरि फर्केर आउन नपरोस् भन्ने कामना गर्यौं । तर सबै कुरा हाम्रा हातमा थिएन । जहाजको टिकट नपाए फर्केर आउनु नै थियो ।
पौने घण्टामा हामी ताल्चा विमानस्थल पुग्यौं । विमानस्थल अग्लो डाँडामा रहेछ । संसारका थोरै ड्यान्जर विमानस्थलमध्ये एक । ल्याण्ड गर्दा र उड्दा थोरै मात्र असावधानी भयो भने कुनै पनि बेला जहाज भिरमा खस्ने डर हुँदो रहेछ । विमानस्थल हेर्दै मुटुको धड्कन बढ्न थाल्यो । विमानस्थल टावर निर्माणाधिन रहेछ । निर्माणाधिन टावर माथि केही होटल छन । त्यही रहेछ एनएसीको कार्यालय । भामजी कार्यालयभित्रै थिए । हामीले शिष्टाचार प्रकट गर्यौं । उनले फेरि उही कुरा दोहोर्याए । सर आज दुईजना मात्रै गैदिनुस् । हामीले पनि आफ्नो अडान दोहोर्यौं । प्लिज चारैजनालाई मिलाई दिनुस् । उनी आफ्नो कुरामा अडिग रहे ।
निकै हारगुहार गरेपछि भामजी गल्नु भयो । चारैजनाको टिकटको पैसा दिनुपर्ने भयो । गोजी सुख्खा थियो । नेट चलेन । पैसा कसरी तिर्ने समस्या भयो । एकजनाको फोन पेमा पैसा मगायौं । उनले तीन शय रुपैयाँ कसिमन असुले । भामजीको पनि सेवा सत्कार गर्नुपर्ने भयो । टिकट भाडा भन्दा थप तीन हजार दिएपछि कुरा मिल्यो । उनले हातमा चारवटा टिकट थमाए । तर उनले अझै ढुक्क नहुने भने । किनकी विमान चालकले लोड धेरै भए दुईजनालाई झार्न सक्छन रे । मनमा तनाव भैरह्यो । समिट एयरको जहाज हिँउचुली डाँडा छिचोल्दै झुल्कियो । जहाज पहाडै पहाड उत्तरतर्फ हान्नियो । ताल्चामा ल्याण्ड र उड्ने उत्तरतिरबाट मात्रै रहेछ । धावनमार्ग निकै कम । जहाजको गति नियन्त्रण गर्न धावनमार्गमा ब्रेकर छन । समिटको जहाज एक छेउबाट अर्को छेउ पुगेर फर्कियो । समिटमा जाने यात्रु चढे । जहाज नेपालगञ्जका लागि उड्यो । एकैछिन पछि अस्थायी टावरमा साइरन बज्यो । एनएको जहाज पुग्ने भयो । समिटको झैं एनएको जहाज ल्याण्ड भयो । तर एनएको जहाजले पूरै धावन मार्ग प्रयोग गरेन । धानवमार्गको बिचमै युटर्न हान्यो ।
हामी जहाज चढ्न लाईनमा थियौं । बसन्तजीले सईसापलाई सुरक्षाबारे प्रश्न तेस्र्याए । हामी कसैका झोला चेकजाँच भएका थिएनन् । तर प्रहरीले झोलामा सेक्युरिटी लेखेको स्टिगर भने टाँसिसकेका थिए । सईसापलाई सनक चलेछ । सबैका झोला खानतलासी गर्न थाले । कसैको झोलामा केही भेटिएन । हाम्रा झोलामा त मैलो लुगाबाहेक केही थिएन । छायानाथ रारा नगरपालिकाका पूर्व मेयर भेटिए । भलाकुसारी गर्यौं । मान्छे साह्रै राम्रा । एनएसीको जहाजमा नेपालगञ्ज आउँदै रहेछन । एकछिन पछि नेकपा एकिकृत समाजवादी जिल्ला तहका नेता भेटिए । उनी पनि साह्रै मिजासिला रहेछन । हामीले टिकट पाउँदाको समस्या सुनायौं । उनले साँसदको टिकट पाउन सहज तर जहाजको टिकट पाउन गाह्रो भन्दै तितो यथार्थ सुनाए । तर हामीले टिकट कसरी पाइने रहेछ भन्ने कुरो पत्ता लगाई सकेका थियौं । त्यो कुरा गोप्य नै राख्यौं ।
चालक विमानबाट तल झरे । उनले यात्रुको संख्या गने । हामी १६ जना थियौं । त्यसमा एकजना किशोर थिए । ती चालकले भामजीलाई बोलाए । उनी लुसुक्क परेर चालकको अघि गए । चालकले यात्रु धेरै भयो भन्दै भामजीलाई यसरी हकारे । बिचरा हायल कायल भए । हातपाउ जोड्न थाले । चालकले एकजना कम गर्न निर्देशन दिए । भामजी यात्रुतर्फ आए । मुटु ढुकढुक गर्न थाल्यो । तर उनले हामीलाई केही भनेनन् । हामी भन्दा पछि रहेको एकजनालाई भोली गैदिन आग्रह गरे । उनले भामको कुरा मानेनन् । भामजी असिन पसिन भए । चालकले अब उपरान्त यस्तो गल्ती गरे जागिर खाइदिने भन्दै सबै यात्रुलाई जहाजमा चढाउन भने । भामजीको अनुहार चम्कियो । हामी पनि ढुक्क भयौं । फटाफट जहाजभित्र छिरे । कोपाइलट ढोकैमा बसेकी थिइन । मुसुक्क मुस्काइन । चारवटा चकलेट र रुई हातमा थमाइन । धन्यवाद भन्दै अघि बढे । अघिल्लो सिट बसन्तजी र हरिजीले ओगटे । म दोस्रो सिटमा बसें । जहाजको कण्डिसन कुरो गरी साध्य छैन । फेरि मुटुको चाल बढ्यो । मलाई जहाज चढ्न भनेपछि साहै्र डर लाग्ने । साथीहरु मलाई हेरेर जिस्काउन थाले ।
जहाज स्टार्ट भयो । मुटुको रफ्तार झन बढ्न थाल्यो । जहाजले धावनमार्ग छोड्यो । मेरो मुटुले ठाउँ छोड्यो । आँखा चिम्म गरे । अगाडिको सिटमा च्याप्प समाते । मनमनै लाटा भागेश्वरलाई पुकार्न थाले । एकैपटक आँखा खोले । अछाम र दैलेखको सीमा कर्णाली नदीमा रहेको राकमको पुल देखे । फेरि आँखा चिम्म । हरिजीले दाई सुर्खेत पुग्यौं । अब डराउनु पर्दैन भने । जहाजले तराई प्रवेश गर्यो । कान दुखेर हैरान । यति असह्य पीडा भयो कि कुरै गरेर साध्य छैन । यसअघि पनि जहाज चढेको छुँ । तर त्यसरी कान कहिल्यै दुखेको थिएन । जब जहाजले नेपालगञ्ज एयरपोर्टको धावनमार्ग छोयो । अर्को जुनी पाएको महशुस भयो । राराबाट फर्किदा कतिबेला पुगौं भन्ने भएको थियो । जब नेपालगञ्जको गर्मीले शरीर छोयो तब स्वर्गसरी राराको फेरि याद आइदिरा ।