रारालाई बाईबाई गर्ने दिन । बिहानै पारिलो घाम लाग्यो । हिउँचुली डाँडाहरु सुनौला देखिए । घामले मौषम पनि तातो बन्यो । हातमुख धुने बेला हिजो जस्तो आथ्था र ऐया गर्न परेन । झोला तयार पारेर सबैजना तल झ¥यौं । बसन्तजीको शरीरमा फूर्ती आइसकेको थियो भने अर्जुनजीलाई भने सन्चो भैसकेको थिएन । तालसम्म पुग्न पनि नसक्ने अवस्था आयो । एउटा घोडाको व्यवस्था गरियो । होटलको बिल तिरेर अघि बढ्यौं । केही समयमै टोली रारा ताल पुग्यो । ताल पूरै शान्त थियो । अघिल्लो साँझ जस्तो आवाज सुनिएन । ताल पूरै चुपचाप थियो । किनारमा कुनै छाल उठेको थिएन । लाग्दै थियो रारा मस्त निद्रामा सुतिरहेको छ । हामीले होहल्ला गरेर ब्यूझाउने प्रयास ग¥यौं । अहं राराको गहिरो निद्रामा कुनै असर परेन ।
हामी जस्तै ताल हेर्न आउनेको संख्या धेरै थियो । कोही पैदल हिँडिरहेका थिए भने कोही घोडामा सवार थिए । घोडा रारा ताल वरपरका बासिन्दाको मुख्य पेशा रहेछ । थुप्रै युवायुवतीहरु घोडा चलाएर राम्रै आम्दानी गर्दा रहेछन । हामी डुंगा चल्ने ठाउँनेर पुग्यौं । त्यहाँ पारीबाट दुईवटा डुंगा आइरहेका थिए । डुंगामा वृद्धवृद्धाहरु थिए । उहाँहरु काठमाडौंबाट घुम्न आउनु भएको रहेछ । प्रतिव्यक्ति पाँच शय रुपैयाँले तालको वल्लो कुनाबाट पल्लो कुनासम्म डुंगा सयर गर्न पाइने रहेछ । हामीभन्दा अघि एउटा डुंगा तयारी अवस्थामा थियो । जसमा १२ जना बसिसकेका थिए । डुंगा सञ्चालकले हामी छ जनालाई समेत त्यसैमा बस्न भन्दै थिए । हरीजी त डुंगामा गएर बसिसकेका थिए । मैले त्यो डुंगामा जान अस्वीकार गरे । एउटै डुंगामा १८ जना चढ्ने कुराले डर लाग्यो । अन्ततःहाम्रा लागि छुट्टै डुंगा तयार पारियो ।
डुंगामा बस्यौं । केही दिन अघि मात्रै कर्णालीमा जलयात्रा गरेको अनुभव थियो । तर कर्णाली र राराको जलयात्रामा फरक थियो । कर्णालीमा डुंगालाई पानीको बहावले बगाउँथ्यो तर रारामा पानी स्थिर । डुंगालाई दाब्लोले खियाएर कुदाउनु पर्ने । डुंगामा चढ्ने बित्तिकै डर लागिसकेको थियो । डुंगालाई छिटो पार लगाउन खियाउनु पर्ने भयो । मैले पनि दाब्लो समातेर खियाउन थाले । दाब्लो खियाउने क्रममा मेरो आँखा तालको पानीमा प¥यो । पानीको रंग चिलपार्क मसी जस्तै थियो । गहिराई कति हो कति । मलाई तीन कुराको निकै डर लाग्छ । उचाई, पानी र सर्प । यत्ति भएपछि मेरो सात्तो गैहाल्यो । टाउको भन्न भयो । शरीर तात्यो । वाकवाकी लाग्ला जस्तो भयो । आफैले शरीर छामे प्रेसर बढेको महशुस भयो ।
हरीजीले मेरो अवस्था थाहा पाए । उनले मलाई सान्त्वना दिन थाले । तर बसन्तजीले तालको गहिराई लगायतका कुरा गरेर मलाई झन डराउन थाले । म बोल्न सक्ने अवस्थामा थिएन । बसन्तजी र अनिलजी घरि उठेका छन घरि बसेका छन । टिकटक बनाउन मस्त छन । आफूलाई भने डरको पारो यति बढेको छ कि भनेर साध्य छैन । पानीमा हेर्नै सकेन । डाँडाकाँडा हेरेर समय बिताए । मुस्किलले डुंगा तालको किनारमा पुग्यो । म डुंगाबाट झरेर सोझै बस्ने ठाउँ खोजेर थचारिए ।
राम्रोसँग फ्रेस हुन पाएको थिएन, घोडावालाले घेरिहाले । करिब २ दर्जन भन्दा बढी घोडा सवारी बोक्न तैनाथ थिए । हामीलाई चारवटा घोडा चाहिने थियो । पत्रकार मित्र अनिलको परिवार र हामी छुट्टिने भैयौ । उनीहरु हामी रारा गएको बाटो हुँदै कोल्टी फर्किने भए । हामी भने मुगुको सदरमुकाम गमगढीका लागि हिँड्यौं । केही समयमा घोडा चढेर सल्लेरीतिर हान्नियौं । बाटोभरी खुब रमाइलो भयो । घोडावाला भाइहरुले हाम्रो फोटो खिचे, भिडियो खिचे । बेला बेला गफ गरेर खुब हसाए । करिब एक घण्टाको यात्रा पछि हामी सल्लेरी पुग्यौं । सल्लेरीमा कालिकोटका नरेश शाहीको होटल रहेछ । मार्सीको भातसँग च्याङ्ग्राको मासुको झोल खाइयो । भात त खाइयो । गोजीमा नगद पैसा सकिएको पत्तै भएन । भातको पैसा तिर्नेबेला आपत भयो । बिरानो ठाउँमा कसरी कुरा मिलाउनु । धन्न खातामा पठाउन मिल्यो ।
होटल मालिक शाहीले गमगढीसम्म जानका लागि गाडी खोजि दिए । गाडी मालिक छ हजार भन्न थाले । हामीसँग नगद त थिएन । गमगढी गयो भने केही उपाय भैहाल्ला भन्नेमा आशावादी भएर अघि बढ्यौं । हामी गमगढी जानुको उद्देश्य ताल्चा विमानस्थलबाट जहाज चढेर नेपालगञ्ज जानु थियो । टिकटको कुरो नेपाल एयरलाइन्सका नेत्र भामसँग भैरहेको थियो । उनले छिटो आउन भनिरहेका थिए । ताल्चा विमानस्थल गमगढी जाने बाटैमा छ । उनले केही समयअघि आफू विमानस्थलमा छुँ भनेका थिए । हामी विमानस्थलमा गयौं । तर उनी त्यहाँ थिएनन् । कल गर्दा त उनी गमगढी पुगेका थिए । उनले उतै बोलाए । हामीलाई पनि उतै जानु थियो तनाव भएन ।
गाडी गमगढी पुग्नै लाग्यो । कल ग¥यौं । उनको मोबाइल अफ । गाडीवालाले भनिहाले ‘त्यो गतिलो मान्छे हैन सर तपाईहरुलाई फसाउँला ।’ संकेत त्यस्तै देखिएको थियो । हाम्रो गमगढी बास बाजुराका देवेन्द्र शाह राजाकोमा तय भएको थियो । राजा त्यहाँ एक गैरसरकारी संस्थामा कार्यरत हुनुहुन्छ । राजा माछा मार्न कर्णाली गएकाले फर्किन ढिलो हुने भयो । गाडीलाई भाडा तिर्नु पर्यो । गमगढी भरि दुईवटा मात्रै एटिएम रहेछ । एउटा बिग्रेको अर्कोले पाँचहजार भन्दा बढी भुक्तानी नदिने । त्यो पाँच हजार झिकेर गाडीवालालाई तिरेपछि फेरि पनि गोजी क्यास लेस ।
राजा फर्किने छाँटकाट छैन । हामी रोकायाइन होटलको बाहिर कुरेका छौं । बसन्तजी र अर्जुनजीको कुरो सुत्न पाए हुन्थ्यो भन्ने छ । जीउ थकित छ । मलाई पनि आलस्य लागेको छ । गमगढी सदरमुकाम निकै अव्यवस्थित । बाटो हिलाम्मे । दुवैतर्फ भिरालो मात्रै । डाँडाको चुचुरोमा बजार । कर्णाली नदी उल्टो बगे जस्तो । एकैछिनमा देवेन्द्र राजा पुग्नु भयो । होटल छेउमै रुम रहेछ । हामी त्यतै लाग्यौं । एकछिन भलाकुसारी भयो । राजा साँझको खानपिनको व्यवस्थापनमा जुट्नु भो ।
हामी जहाजको टिकट व्यवस्थापनमा जुट्यौं । सारा मान्छेलाई कल गर्दा नि टिकट होला जस्तो छैन । जहाज चल्ने ठेगान नहुँदो रहेछ । जहाज आइहाले पनि टिकट पाउने सम्भावना ज्यादै कम । टिकट पाइहाले पनि उड्ने सम्भावनाको ग्यारेन्टी नहुने । यावत समस्या सुनेपछि दिमाखले कामै गर्न छोड्यो । हामीलाई कुनै हालतमा फर्किनु थियो । मैले मुगुका सिडियो मोहनबहादुर थापालाई कल गरे । उनले दुईजना भोलि जानु र दुईजना पर्सी जानु भने । हामीलाई सँगै फर्किनु थियो । बिरामी साथीहरुलाई अस्पताल पो लैजानु पर्ने हो कि भन्ने डर थियो । मैले धेरै अनुरोध गर्दा पनि उनले दुईजना भन्दा बढीको व्यवस्थापन हुन नसक्ने बताए । मैले अझै माथिल्लो निकायमा समेत भनसुन गरे । अहं कहिँकतैबाट विश्वस्त हुन सकिएन ।
भान्साबाट मिठो बास्ना आयो । सायद खानेकुरा तयार भयो । राजाले बोलाएपछि भान्सातर्फ लम्कियौं । फेरी उही च्याङ्ग्राको मासु । ‘खसी भने पनि पाउने यही मात्र हो’ राजाले भनेपछि मान्नै पर्यो । तर असाध्यै मिठो । थपि थपि खाइयो । फराकिलो कोठा । सुत्नलाई जति पनि ठाउँ छ । बिरामी दुवैजनालाई पलङमा सुताइयो । हरिजी र म भुँईमै सिलिपिङ ब्यागभित्र छि¥यौं । पहिलो पटक सिलिपिङ ब्यागभित्र सुतेको न्यानो हुँदो रहेछ । रातभर जाडोको महशुस नै भएन ।
क्रमस .....