Hamro Patra
रारा यात्रा–मुर्माटपबाट देखिएकी अप्सरा

थाकेको शरीर, बिहान ढिलो गरी निद्रा खुल्यो । उसो पनि म ढिलै उठ्छु । झ्यालको पर्दा तानेर बाहिर हेरे । पानी रोकिएको थिएन । सायद रातभर वर्षा भएछ । झन ओछ्यान छोड्ने मनै लागेन । तर उठ्नु त थियो नै । रारा पुगेको मान्छे सुतेर त भएन । जुरुक्क उठेर शौचालय गए । अरु साथीहरुको पनि मेरै जस्तो हालत रहेछ । उठ्ने कि नउठ्ने । जेहोस सबैजना उठ्यौं । हातमुख धोएर फ्रेस भईयो । ओखती खानु थियो । केही नखाई त भएन । भान्सातर्फ हिँडे । एउटा रोटी र गेडागुडीको झोल खाएपछि ओखती खान समस्या भएन ।

पानी केही रोकिए जस्तो भयो । अब घुम्न निस्किने प्लान बन्यो । सबैभन्दा पहिले घुम्ने कहाँ ? हामी सबैका मनमा प्रश्न उठ्यो । पहिले मुर्माटपबाट रारा हेर्ने वा सोझै रारा ताल पुगेर हेर्ने कुरामा कन्फ्युज भइयो । हामी बसेको होटलबाट रारा ताल १० मिनेटको दूरीमा थियो । होटल साहुले मुर्माटपमा हिमपात भैरहेको र त्यो अवसर भाग्यमानीले मात्रै प्राप्त गर्ने कुरा सुनाए । त्यति सुनेपछि पनि मुर्माटप नजाने भन्ने सवालै भएन । घोडा धनी केटाहरु होटलमै पुगेका थिए । उनीहरुलाई पनि हाम्रो टोली मुर्माटप जाने कुराको छनक अघिल्लो साँझै भैसकेको थियो ।

Khadga Memorial And Janajagriti

टोली मुर्माटप जाने भयो । हामी बास बसेको होटलको अर्को शाखा मुर्माटपमा रहेछ । साहुले ६ जनाको टोलीलाई खानाको बन्दोबस्त गर्न अर्डर दिए । टोलीलाई छ वटा घोडा चाहिने भयो । तर त्यहाँ पाँच वटा मात्रै उपलब्ध थिए । केटाहरुले थप एक घोडा गाउँबाट बोलाए । घोडा पुग्न १० मिनेट जति लाग्ने भयो । पाँचवटा घोडामा पाँच जनालाई चढाएर अघि पठाए । म होटलको नजिक रोकिएको थिएँ । पर गाउँतिरबाट एक बालिका घोडा डोर्याउदै आइरहेको देखे । मैले होटलको स्टाफलाई यही घोडा हो ? भनेर सोधे । उसले हो भन्यो । घोडा मेरो अघि पुगिसकेको थियो । म फसादमा परे । घोडा ठिकै थियो । तर त्यो घोडा डोर्याउने बालिकालाई देखेर मलाई घोडा चढ्न मनै लागेन । केहीबेर सोचमग्न भए । के गरौं, कसो गरौं । निकै अलमलमा परे ।

म धर्म संकटमा परे । ठाडै उकालो थियो । हिँडेर जाने सम्भावना थिएन । साथीहरु अघि गैसकेका थिए । अर्को घोडा बोलाउन भनौं ती बालिकाको रोजीरोटीमा लात हाने जस्तो हुने । उनकै घोडामा चढौं मन मानिरहेको छैन । साँच्चै त्यो बेला मैले केही सोच्नै सकेन । एकछिन पछि मैले आफ्नै मनलाई सोधे । अनि एउटा जवाफ पाए । के थाहा मैले घोडा प्रयोग गरे बाफत पाउने पैसाले उनको परिवारको छाक टर्ने हो कि ? के थाहा त्यो पैसाले उनलाई उपचार गर्न सघाउ पुग्ने हो कि ? के थाहा उनले स्कुलको कापी कलम किन्न सक्छन् कि ? यो कुराले मेरो आत्मबल बढ्यो । म घोडा माथि चढे । उनी अघि अघि हिँड्न थालिन ।

घोडावालीको नाम थियो रोशनी रोकाया । उनको उमेर मात्र १४ वर्षको थियो । उनले यही वर्ष कक्षा ७ को परिक्षा दिएकी थिइन । स्कुलको छुट्टी छ । उनका बुबा रारा तालमा डुंगा चलाउने काम गर्छन । खुट्टामा चोट लागेर केही दिन काम गर्न सकेका रहेनछन । उनकी आमा गृहणी हुन । घरमा घोडा छ । सधैं त घोडा भाडामा जाँदैन । यदि कसैले आवश्यक परेर बोलायो भने रोशनी आफै घोडा डोर्याएर पुग्छिन । दिनको ३ हजार जति कमाई हुन्छ ।

हामी आधा घण्टा जति उकालो चढेका थियौं । फेरी पानी पर्न थाल्यो । अघि हिँडेका साथीहरु समेत त्यहीं एक होटलमा रोकिएका रहेछन । हामी पनि रोकियौं । कालो चिया खाईयो । केही समयमा पानी रोकियो । हाम्रो यात्रा फेरी सुरु भयो । पाँच मिनेटमै छाँयानाथ रारा नगरपालिका वडा नं. ९ मुर्मा गाउँ पुगियो । चिटिक्क परेको मुर्मागाउँ निकै रमणीय । गाउँ सकियो । पानीको खाल भेटियो । घोडालाई पानी खुवाउनका लागि व्यवस्थित बनाइएको रहेछ । मुर्माटप पुग्न अझै समय लाग्छ । जंगलको ठाडो उकालो बाटो सुरु भयो । जंगल सुरु भएसँगै हिमपात देखिन थाल्यो । केही माथि पुगेपछि त हिमपात नै सुरु भयो । न तल गाउँ फर्किने जस्तो न छिटो हिँडेर पुग्ने जस्तो । हामी जतिजति टपतर्फ बढ्दै थियौं त्यति त्यति हिमपात बढ्दै थियो ।

सबैभन्दा अघि म थिए । बाटोमा रुखका हाँगामा जमेको हिउँ शरीर माथि खस्थ्यो । साँघुरो बाटोको आकार मात्रै । तलमाथि हिउँ नै हिउँले सेताम्मे । घोडालाई माथि उक्लिन पनि निकै सकस थियो । डाँडाको चुचुरो पुग्नै लाग्दा हिमपातले अघि बढ्नै सकिएन । बसन्तजी त माथि उक्लिन कर गर्दै थिए । मैले मानिन । म घोडाबाट झरे । म झरे पछि पछाडीका साथीहरु रोकिनु पर्ने नै भयो । मैले माथि उक्लिनु निकै जोखिम हुने भन्दै फर्किन सल्लाह दिए । सबैले मेरो कुरामा सहमति जनाए । हामी फर्कियौं । केही तल झरेपछि बायाँतर्फ रिसोर्ट थियो । हामी सबै रिसोर्टतर्फ लाग्यौं ।

केही समय रिसोर्ट वरपर रमायौं । फोटो खिच्यौं । यस्तो माहौलमा टिकटक बनाउन छोड्ने कुरै भएन । जताततै कुहिरोले टम्म थियो । हिउँ खसिरहेकै थियो । थोरै पर पनि केही देखिँदैन । बेकारमा मुर्माटप पुगियो भन्ने लागिरहेको थियो । केही समयको पर्खाइ पछि हिमपात कम हुँदै गयो । कुहिरो हट्दै गयो । अलि परसम्म देखिन थाल्यो । बिस्तारै मौसम छर्लङ्ग खुल्यो । अनि देखियो स्वर्गकी अप्सरा रारा ताल । तर रारा ताल छिनमै प्रष्ट देखिने छिनमै कुहिरोले ढाक्ने क्रम भने पछिसम्म चलिरह्यो । जतिसम्म मौसम खुल्यो त्यतिञ्जेल रारालाई धित मरुञ्जेल हेरियो ।

ओरालोमा घोडा चढ्नु जोखिम हुने देखियो । पैदल नै तल झर्ने र घोडा फिर्ता पठाइ दिने सल्लाह भयो । मैले ती घोडावाली नानीलाई तोकेको भन्दा केही बढी रकम दिए र बिदाई गरे । उनी घोडा डोर्याउँदै ओरालो झरिन । मैले तल पुगुञ्जेल उनलाई हेरिरहे । उनीभित्र मैले आफ्नो छोरीलाई अनुभूति गरे । मन भक्कानिएर आयो । हरिजीले दाई खाना तयार भयो भनेपछि आफूलाई सम्हाले ।

थालभरि मार्सीको भात, सिमीको दाल, आलुको तरकारी आइपुग्यो । चिसो मौसमले पनि होला साह्रै मिठो लाग्यो । खाना खाई सकेपछि ओरालो झ¥यौं । ओर्लिदा धेरै जना लडेर हैरान । धन्न कसैलाई चोटपटक लागेन । हामी सवा घण्टामा बास बसेको माझघाट पुग्यौं । दिन बितेको थिएन । हामीसँग अझै समय बाँकी थियो । अर्जुनजी र बसन्तजी सुते । हामी चारजना ताल घुम्न निस्कियौं । दश मिनेटमै ताल पुगियो । खत्याड खोलाको मुहान देखियो । जतिजति ताल नजिक पुग्थ्यौं, त्यति त्यति सुसाइरहेको आवाज सुनिन्थ्यो । साँझपख तालको पानीले छाल हान्ने रहेछ । तालको पानी किनारमा ठोक्किएको बेला आवाज सुनिने रहेछ । हामी बसेको होटलमा मोबाइल नेटवर्कले काम गर्दैन । ताल वरपर भने मोबाइल नेटवर्कले काम ग¥यो । फोनमा बातचित गरियो । केही समयमा होटल फर्कियौं । मैले हरिजीलाई सोधे ‘कुखुरा खाउँ त?’ उनले ठाडै इन्कार गरे । त्यो रात सादा खाना खाएर सुतियो ।

क्रमस ................

प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८०  १२:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update