बिहान ५ बजे । टिनको ढोका ढकढक हानेको आवाजले ब्युझायो । ‘उठ्नुस सरहरु ढिलो भयो’ भनेको आजाव सुनियो । म ब्यूझेर पनि बोलेको थिएन । हरिजीले बसन्त राजा उठ्नुस भन्न मात्र के पाएका थिए, जवाफ आयो ‘के यहाँ बसन्त राजा मात्रै छ ।’ हैट मेरो त सात्तो गयो । झाडाबान्ताले थला परेका बसन्तजीको जवाफले रारा यात्रा नहुने आशंकालाई मलजल गर्यो । केही समयमै माहौल सौहार्द बन्यो । चारै जनाले ओछ्यान छोड्यौं ।
टिनको ढोकामा ढकढक गर्ने मुगुको खत्याड गाउँपालिकाका मनोज वि.क. थिए । उनी झुगलादेखि मसानेसम्म चल्ने एक मात्र बोलेरोका चालक हुन । त्यो बाटोमा उनले चलाउने बाहेक अर्को गाडी छैन । हामीलाई मसानेसम्म लैजान उनी अघिल्लो दिन ३ बजेदेखि नै झुगलामा कुरेर बसेका थिए । उनको गाडीमा झुगलासम्म फर्किन राराबाट फर्केको अर्को टोली मसानेमा कुरेर बसेको थियो । उनले त्यो टिमलाई अघिल्लो साँझ नै मसाने पुग्ने बाचा गरेका रहेछन । तर हाम्रो ढिलासुस्तीले उनी फर्किन पाएनन् । उनलाई एकातिर राराबाट फर्केको टिम र अर्कोतिर गाडी मालिकको कचकचले दिक्क बनाएको थियो । उनी छिटो मसाने पुग्नुपर्ने बाध्यतामा थिए । हामी भने कछुवाको तालमा तयार हुँदै थियौं ।
त्यत्तिधेरै तनाव हुँदा पनि उनको व्यवहार निकै हँसिलो थियो । हामीसँगको व्यवहार यति माया लाग्दो थियो कि बयान गर्ने शब्दै छैन । उनले हरेक कुरालाई सकारात्मक पाटोबाट हेर्थे । ‘राति नहिँडेर पनि राम्रै भयो । बाटोको अवस्था गतिलो छैन । दुःख पाइन्थ्यो ।’ उनले भने । उनको कुराले मन छोयो । भरखरै ट्रयाक खोलेको कच्ची बाटो राम्रो थिएन । रातापानी गाउँ नजिक पुगेपछि मसानेतर्फ जाने दुईवटा बाटा छन । एउटा बाटो खत्याड खोलाको किनारै किनार छोटो र अर्को माथि गाउँ घुमेर पालिका कार्यालय हुँदै झर्छ लामो । उनले छोटो बाटो जाने कुरा गरे । तर छोटो बाटो जोखिमपूर्ण थियो । एक ठाउँमा पहिरो आएर बाटो अवरुद्ध रहेछ । उनले स्काभेटर चालकलाई कल गरेर बाटो खोल्न लगाए । ‘त्यत्ति बाटो खोलेको १० हजार तिर्नुपर्ने हो’ उनी भन्दै थिए ।
गतवर्ष खत्याड खोलामा भिषण बाढी आएको रहेछ । खोलाले दुबैतर्फको भूभागलाई कटानी गरेको प्रष्टै देखिन्थ्यो । कतिपय ठाउँमा खोलाको आकार निकै चौडा थियो । त्यस्ता ठाउँ देख्ने बित्तिकै उनले भन्थे ‘सर यहाँ ठूलो जिउलो (खेत) थियो ।’ त्यस्ता जिउलोको संख्या कति थियो गणना गरिएन । खोलाले सयौं रोपनी खेत बगाएको अनुमान गर्न कठिन थिएन । कतिपय बस्तीलाई जोखिममा पारेको छ । निर्माणाधिन विद्युत गृहको पाइप समेत बगाएको छ । खत्याड खोलाको वितण्डा हेर्दै हामी माझचौर पुग्यौं । माझचौर पारी डाँडामा गाउँपालिकाको केन्द्र देखिन्थ्यो ।
माझचौरमा बसन्तजीको औषधोपचार गरियो । मसानेमा गाडी पर्खेर बसेकाहरु मध्ये एक महिला र एक पुरुष त्यही माझचौरमा भेटिए । ती महिलाले सातो जाने गरेर गाडी चालकलाई हकारिन । जब हामीले साथीहरुको स्वास्थ्य समस्या लगायतका कुरा राखेपछि ती महिला शान्त भईन । उनले राम्रोसँग जानुस् भन्दै बिदा गरिन । केही पर उनीहरुकै टोली मध्येका दुईजना बाइकमा लिफ्ट मागेर आउँदै थिए । उनीहरुले कुनै आपत्ति जनाएनन् । ‘हामी माझचौरमा पर्खिन्छौं आज चाँहि ढिलो नगर है भाई’ ती मध्येका एकजनाले भने । मनोजले हस् भन्दै एक्सिलेटर थिचे । गाडी फेरि खत्याड खोलाको किनारै किनार लाग्यो ।
खत्याड गाउँपालिका वडा नं. १ मसाने पुग्दा बिहानको ९ बजेको थियो । अब गाडी अघि नबढ्ने भयो । मसानेको नामै कस्तो नमिठो । धेरैले मसाने भनेर चिने पनि त्यसको नाम माछेबगर र कमलबजार पनि रहेछ । ती दुईटा नामले खासै चर्चा पाउन सकेका रहेनछन । गाडी रोकिएकै ठाउँनेर स्थानीय कमल बुढाको होटल थियो । बिहान साढे ५ बजे भोकै यात्रा थालेका हामीले खाजा खाने सल्लाह ग¥यौं । रोटी, गेडागुडी, मह, जडिबुटी हालेको चिया खाइयो । बिरामी दुवैजनालाई हिँड्न सकस भएपछि झोला कसरी बोकेर लैजाने ? फसाद प¥यो । एकजना स्वास्थ्यकर्मी पनि खाजा खाँदै थिए । हामीले झोला बोक्ने समस्या सुनाएपछि उनले नै होटल सञ्चालक कमललाई गईदिन भने । कमल एक शब्दमै तयार भए ।
१७ वर्षका कमल परिवारका जेठो छोरा हुन् । ११ कक्षामा अध्ययन गर्छन । पढाईसँगै होटल चलाएका छन । होटलसँगै किराना र स्टेशनरीको सामान पनि बेच्छन । गम्भीर स्वभावका कमल कम बोल्दा रहेछन । आधा घण्टा जति हिँडेका थियौं । फूलेघर बस्ती आइपुग्यो । त्यहाँ पुगेपछि दुबै जनाले हिँड्न नसक्ने बताए । एउटा मात्रै भए पनि घोडाको व्यवस्था गर्नेतर्फ लाग्यौं । केही स्थानीयले सहयोग गरे । तिनै स्थानीयको बिचमा भेटिए मुगु राराका पत्रकार नन्दसिंह रोकाया । उनी खत्याड खोलाले अवरुद्ध पारेको विद्युत गृहको रिपोर्टिङ गरेर घर फर्किंदै रहेछन । हामी सुदूरपश्चिमबाट रारा घुम्न आएका पत्रकार हौं भनेको सुन्ने बित्तिकै रोकाया सहयोगका लागि सक्रिय भए । उसो त अरु स्थानीय पनि निकै सहयोगी रहेछन । पत्रकार रोकायाले घोडा खोज्न निकै मेहनत गरे । धेरै जनालाई कल गरे । कतै घोडा भेटाउन सकिएन । घोडा खोज्न माथि गाउँ जानु पर्ने भयो । त्यो उकालो चढेर घोडा खोज्न को जाने ? हाम्रा लागि त असम्भव जस्तै थियो । हाम्रा सहयोगी बनेर हिँडेका कमल घोडा खोज्न गाउँ उक्ले । झण्डै एकघण्टा पछि घोडा पुग्यो ।
स्थानीयको घरको बार्दलीमा सुतेका बसन्तजीलाई घोडा पुगेको सूचना दियौं । उनी तल ओर्लिए । बसन्तजी घोडा चढेर अघिअघि हामी पछिपछि लम्कियौं । करिब १० मिनेट हिँडेका थियौं अर्को घोडा भेटियो । त्यो घोडामा अर्जुनजीलाई चढायौं । दुबैजनालाई घोडा चढाएपछि यात्रा केही सहज भयो । पहाडी बाटोमा हिँड्न नसक्ने मलाई पनि निकै सकस भैरहेको थियो । त्यसमाथि पिठ्युँमा झोला भिरेको थिएँ । मेरो सकसलाई पत्रकार मित्र रोकायाले महशुस गरेका रहेछन । उनले झोला आफूलाई दिन आग्रह गरे । बाटोमा भेटिएको मित्रलाई के झोला बोकाउनु भन्ने लाग्यो । मैले दिनै मानेन । उनले निकै कर गरेपछि बाध्य भएँ । उनले यात्राभर मेरो झोला बोकेर सहयोग मात्रै गरेनन् कतिपय ठाउँमा हातै समातेर डोर्याए । उनको त्यो व्यवहार जिन्दगीमा कहिल्यै भुल्ने छैन ।
उनी रारा क्षेत्रका समाजसेवी रहेछन । उनको सामाजिक काम भनेपछि हुरुक्कै हुने स्वभाव रहेछ । स्थानीय विद्यालयका शिक्षक समेत रहेछन । उनकै नेतृत्वमा विद्यालयको अवस्थामा ब्यापक सुधार आएको रहेछ । उनले बाटोमा हिँड्दै गर्दा माथि डाँडामा स्कुल भवन देखाएका थिए । त्यही विद्यालय भवन निर्माणका क्रममा चुर्लुम्म ऋणमा डुबेको कुरा सुनाउँदा मन खिन्न भयो । उनले ऋण लागेपछि लामो समयदेखि तलबभत्ता समेत बुझेका छैनन् । स्थानीय पालिकासँग ऋण तिरिदिन हार गुहार गरे तर कसैले नसुनेको दुःखेसो पोखे । उनका २ छोरी र १ छोरा छन । एउटा छोरी स्नातक तहको परीक्षा दिँदैछन । अर्की छोरी स्टाफ नर्स अध्ययनरत छिन । छोरा काठमाडौंमा बिएस्सी पढ्छन । उनले जेनतेन छोराछोरी पढाउन सकेकोमा खुशी व्यक्त गरे ।
मध्यान्ह १२ बजेतिर हाम्रो टोली बाउपानी पुग्यो । त्यहाँ दुईचार होटल छन । होटलमा चिया खाने सल्लाह भयो । घोडालाई पनि दाना खुवाउने समय भएछ । त्यहीं भेटिए ६२ वर्षीया पञ्चरी बुढा । हुक्का तान्दै गरेका बुढासँग गफ मारे । उनले राराको पर्यटकीय विकासप्रति खुशी व्यक्त गरे । तर उनमा रारासम्म सडक पुगे रोजीरोटी खोसिने चिन्ता देखियो । रारासम्म सडक पुग्नु हुँदैन भन्ने धेरै स्थानीयको माग छ । केही टाठाबाठाहरु भने रारासम्मै सडक पुर्याउने अभियानमा छन । उनीहरुले स्थानीय सोझासाझालाई रोजगारीको प्रलोभन देखाएका छन । सडकले दुईचार जनालाई त रोजगारी देला तर घोडा पालेका, बाटोमा होटल चलाएका, भारी बोकेर जीविकोपार्जन गरेका धेरैको रोजगारी भने खोसिनेछ ।
पञ्चरी बुढासँग बिदा मागेर हामी अघि बढ्यौं । यात्रा खत्याड खोलाको किनारै किनार जारी थियो । घरी खोलाको वारी घरी खोलाको पारी । बाढीले धेरै ठाउँमा बाटो बगाएको छ । खोलाको दुबैतर्फ बडेमानका चट्टान देखिन्थे । कतिपय ठाउँमा बाटो सहज भए पनि कतिपय ठाउँमा निक्कै कठिन छ । उकालो चढ्नु नपर्ने भएकाले सहज नै लागिरहेको थियो । सवा एक बजे हाम्रो टोली रारा राष्ट्रिय निकुञ्जको चेकपोष्ट पुग्यो । केही समयपछि ओडार भन्ने ठाउँ आयो । त्यहाँ एउटा चिया पसल भेटियो । खाना खाएका थिएनौं । भोक सबैलाई लागेको थियो । सिमीको झोल र चाउचाउ उमालेर खायौं । अब हामी लगभग राराको नजिक पुगिसकेका थियौं । कुनै कुनै ठाउँमा उकालो चढ्नु पथ्र्यो । त्यत्ति ठूलो उकालो नभए पनि मेरा लागि आपत । जब उकालो चढ्थे थचक्क बसी हाल्थे । पत्रकार मित्र रोकायाजीले बस्नै नदिने । सिमसिम पानी पर्न थाल्यो । उनले झन हिँडाईमा तिब्रता दिन दबाव दिए । ‘सर ढिलो नगरौं पछि फेरि ठूलो पानी पर्छ’ उनले घरीघरी अत्याउँथे । हुन पनि हो । पानी पर्यो भने कहाँ ओत लाग्ने ? जंगलको बाटोमा झन ठूलो समस्या हुने डर मनमा थियो । जतिसुकै थाके पनि अघि बढ्नु नै थियो । एउटा अन्तिम गौंडो उक्लेपछि मित्र रोकायाले भने ‘लौ सर अब पुगियो ।’
उनले यसो भन्न पाएका मात्रै के थिए झमझम पानी दर्कियो । नजिकै एउटा बाँझो होटलमा ओत लाग्यौं । धेरै बेरसम्म पानी रोकिएन । चिसो बढ्न थाल्यो । आगो बालेर बस्यौं । कुरै कुरामा रोकायालाई होटल बाँझो हुनुको कारण सोध्यौं । उनले भने ‘होटल साहुनी अर्कैसँग पोइल हिँडिन । साहुजी मदिरामा लठ्ठिन थाले । अहिले खै काठमाठौंतिर छन रे ।’ एकछिन ती साहुनी बारेका कुरा सुनेर समय बितायौं । पानी केही रोकियो । टोली अघि बढ्यो । पाँच मिनेटमै फेरि पानी उसैगरी दर्कियो । अर्को बाँझो होटलमा ओत लाग्यौं । हाम्रा टोली सदस्य पत्रकार अनिल शाहीले ठट्टा गर्दै पत्रकार रोकायालाई सोधे ‘के यो होटल साहुले अर्काको स्वास्नी भगाएर बाँझो भएको हो ?’ पत्रकार रोकायाले जवाफ दिए ‘हो नि त्यही हो ।’ उनले भने ‘अघिको होटलबालीलाई भगाउने यही होटलका साहुजी हुन ।’ कस्तो संयोग । एकछिन खुब हाँसियो ।
पानी रोकियो । हामी अघि बढ्यौं । घोडचढी अघि नै पुगिसकेका थिए । दुबैजना कुन होटलमा बसे भन्ने कुरा ठम्याउन समस्या भयो । घोडावाला पनि फर्केनन् । नत्र उनीहरुलाई सोध्न हुन्थ्यो । यही क्रममा पत्रकार रोकायाको घर पुग्यौं । उनले आफ्नो घरमाथिको होटलमा बास बस्न सुझाएका थिए । उनले त्यतै गएको आशंका गरे । हामी उकालो लाग्यौं । रोकायाले नै आफू हेरेर आउने र त्यतिञ्जेल ओत लागेर बस्न भने । उनी एकैछिनमा फर्किए । त्यहाँ रहेनछन । हामी फेरि तल झ¥यौं । केही मिनेटमै माझघाटस्थित रारा मुर्मा होमस्टे (रिसोर्ट) मा पुगियो । रोकाया पनि हामीलाई छोड्न त्यही पुगे ।
चिसो असाध्यै बढेको थियो । पानीले भिजेको शरीर थरथर काँप्न थाल्यो । सिरक भित्र पस्न हतार भयो । दुईवटा सिरक ओढेर पनि शरीर काँप्न छोडेन । म रुममा एक्लै थिएँ । सुतेको बेला घुर्ने बानीले सबैले मलाई एक्लै सुताउने योजना बनाएछन । एकैछिनमा हरिजी आगो ताप्ने अफर बोकेर रुममा छिरे । भिजेको लुगासहित आगो ताप्न हिँडे । आगोको रापले शरीरलाई तातो मात्रै बनाएन भिजेको लुगा समेत सुकायो । हरिजी खानपिनको निकै सौखिन । एकैछिनमा च्याँङ्ग्राको सुकुटी चाखियो । त्यत्तिले चित्त बुझेन । कुखुराको माग भयो । होटल साहुले छानेर प्रति कुखुरा तीन हजार पाँच शय रेट सुनाए । कुखुरा जिउँदै डेढ किलो हुँदो हो । हरिजीले आँटेपछि रेटले के रोक्थ्यो । कुखुराको झोलसँग दुई थाल मार्सीको भात निलेपछि ज्यान सिधै ओछ्याउनमा ढल्ने नै भयो । दिनभरको यात्रा पछि थाकेको शरीर कतिबेला निद्रादेवीको काखमा हरायो पत्तै भएन ।
क्रमस ........