बाजुराको मार्तडीमा कार्यक्रम सकेर फर्किने मुडमा थिए । हिमाली जिल्ला हुम्ला पुगेका बझाङी पत्रकार बसन्त प्रताप सिँहले रारा घुम्ने निम्तो दिएपछि मुड बदलियो । उनीसँगै हुम्ला पुगेका थिए अर्का पत्रकार अर्जुन शाह । रारा घुम्न जाने इच्छा कसलाई हुँदैन होला । म पनि धेरै समयदेखी मनमै इच्छा पालेर बसेको थिए । पत्रकार महासंघ सुदूरपश्चिमका महासचिव रामसिँह ठगुन्ना र मुकेश टेर्राजीहरु धनगढी फर्किने भए । म र सचिव हरि जोशी भने राराको यात्रामा निस्कियौं ।
बोलेरो गाडीको व्यवस्था गरेर टोली बैशाख ३ गते अपरान्ह मार्तडीबाट कोल्टीका लागि हिड्यो । साथमा थिए नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष छक्क मल्ल, प्रेस यूनियनका अध्यक्ष प्रेम रौले लगायत पत्रकार साथीहरु ।कोल्टीका पत्रकार महेश कार्की भाई पोरखे लेकमा खाजाको व्यवस्था गर्छु भन्दै बाईक चढेर अघि हिँडे । मार्तडीबाट हिँडेको केही मिनेटमै हामी चढेको बोलेरोलाई अर्को बोलेरोले बाटो छेक्यो । त्यो बोलेरोमा काउण्टरका केटाहरु थिए । उनीहरुले नम्बर मिचेर आफु खुशी किने हिँडेको भन्दै हामी चढेको बोलेरोवालालाई हप्काए ।
उनीहरुले हामीलाई अघि बढ्नै दिएनन् । निकै हारगुहार गरेउ । झण्डै आधा घण्टासम्म रोकेर राखे । छक्कजीले खै कसरी फकाए । हाम्रो गाडी अघि बढ्ने भयो । गाडी चढेउ । हिड्नै खोज्दा एउटाले भन्यो–‘गाडीमा सिङगल ब्रेक छ । राम्रोसँग लगेर जा मार्लास ।’ मन चिसो भयो । ड्राइभरलाई सोधे –‘त्यो मान्छेले के भन्या हो ?’ उनले आफू जान नपाएको रिस पोखेको हो दाई केही हुन्न भनेर जवाफ फर्काए । तरपनि मनभित्र चिसो छँदै थियो । बस्ती छिचोल्दै हामी पोरखे लेकको उकालो चढ्दै गर्दा चिसोले छोयो । गाडी रोक्यौं । त्यहाँबाट बडिमालिका क्षेत्रको हिउ देखियो । फोटो शेसन गरेउ । टाढैबाट बडिमालिका माताको दर्शन गरेर अघि बढ्यौं । पोरखे लेकको टपमा पुगेर ओरोलो झर्दै गर्दा अध्यारो भईसकेको थियो । पत्रकार भाई कार्की होटल अघि उभिएका थिए । गाडी रोक्नै पर्ने भयो ।
मौषम निकै चिसो थियो । च्याङ्ग्राको मासु र गेडागुडी तयार थियो । दुई कचौरा गेडागुडी थपेर खाईयो । सायद चिसोले होला भोक पनि असाध्यै लागेको थियो । कोल्टी पुग्न धेरै बाटो छिचोल्न बाँकी नै थियो । साथीहरु गफिदै थिए । मैले जाउँ ढिलो हुन्छ भनेपछि गाडी अघि बढ्यो । कोल्टी पुग्दा ढिलो भैसकेको थियो । बास बस्ने व्यवस्थाबुढिनन्दा होटलमा थियो । हामी कोठा भित्र पुग्न पाएकै थिएनौं । छक्कजीको छोरी होटलमै पुगिन । उनको जन्मदिन रहेछ । सबैजना छोरीको जन्मदिन मनाउन उतै लाग्यौं । छक्कजीको मेडमले उल्टै हामीलाई पो स्वागत गर्नुभयो । मेडमले आग्रह गरेपछि खाजा खाने कुरा अस्विकार गर्न सकिएन ।
भोलिपल्ट बिहान भेटिए कोल्टीस्थित बुढिनन्दा एफएमका अध्यक्ष जनेश भण्डारी । उनी त्यहाँ आयोजना भैरहेको माथिल्लो कर्णाली जलयात्रा महोत्सवका हर्ताकर्ता रहेछन । उनले महोत्सवको निम्तो दिएपछि सहभागी हुनै पर्ने भयो । बसन्तजी र अर्जुनजीले पनि महोत्सवको उद्घाटन समारोह सकेर रारा जाने प्रस्ताव गरेपछि बस्नैपर्ने भयो । टोली हिड्यो कोल्टी हुँदै महोत्सव आयोजना भैरहेको स्थान धुलाचौर । सबैजना गाडीमा जाने भए । हामी चारजना भने बाईकमा हिड्यौं । बाटोमा ठाउँठाउँमा रोकेर फोटो खिच्ने स्वार्थले बाईकको यात्रा गरियो । करिव आधा घण्टा गुडेपछि पादुका पुगियो । पादुका छेउमै बगिरहेको थियो कर्नाली नदी । पादुका एक धार्मिक स्थल हो । धार्मिक मान्यता अनुसार पादुकामा सतीदेवीको पाउ खसेको थियो । पादुकाको दर्शन गरेर टोली कर्णाली नदीको बहावलाई उल्टो पारेर उत्तर लाग्यो ।
हामी उत्तर लागेको बाटो कर्णाली करिडोर हो । हुम्लाको चीनसँग जोडिएको सिमासम्म पुग्ने कर्णाली करिडोर निर्माणको काम धमाधम भैरहेको छ । यो बाटो कालिकोट, मुगुहुँदै हुम्ला पुर्याउने भनेर काम अघि बढेको थियो । तर एकाएक बाटोलाई कालिकोटबाट बाजुराहुँदै हुम्ला लगियो । यसको छुट्टै कहानी छ ।
कर्णाली करिडोरको निर्माण बाजुराको माथिल्लो भेगका बुढिनन्दा नगरपालिका, स्वामिकार्तिक खापर, जगन्नाथ र हिमाली गाउँपालिकाको भविष्यसँग जोडिएको छ । यो बाटोले चीनसँग जोड्ने मात्रै हैन पर्यटकीय गन्तव्यका रुपमा तिब्र विकास भैरहेको मुगुको रारा तालसम्मको यात्रालाई छोट्याउने छ । अहिले प्रयोग भैरहेको सडक मार्ग भन्दा झण्डै ६२ किमि छोटो हुनेछ । बाजुराको हिमाली गाउँपालिकाको धुलाचौर र मुगुको खत्याड गाउँपालिकाको झुगलामा बेलिब्रिज निर्माण भैसकेको छ । दुवैतर्फ कच्ची बाटो पुगिसकेको छ । केही दिनमै बेलिब्रिज उद्घाटन हुने तयारीमा छ । बेलिब्रिज सुचारु हुने बित्तिकै छोटो बाटो हुँदै सवारी साधन रारा ताल नजिकै पुग्नेछन । त्यसपछि कालिकोट, जुम्लाहुँदै रारा जानेहरुले यही छोटो बाटो रोज्नेछन । जसले गर्दा बाजुराको धुलाचौर, पिलिचौर, कोल्टी लगायतका ठाउँमा आन्तरिक र बाह्य पर्यटकको संख्या बढ्ने निश्चित छ ।
धुलाचौर पुग्नै लाग्दा ठूलो भिर देखियो । त्यो भिरको नाम थियो राँगे भिर । अहिले सरर गाडी कुद्छन । कुनैबेला त्यो भिरबाट ओर्लेर कर्णालीको किनारबाट हिँड्नु पथ्र्यो रे । भिरबाट खसेर कतिले अकालमा ज्यान गुमाए कुनै रेडर्क छैन । अहिले सरर गाडी कुद्न थालेपछि स्थानीय ती दुःखका दिन बिर्सिसके । धुलाचौर कर्णाली किनारको सुन्दर बस्ती । तल कर्णाली नदी माथि अग्लो पहाड । थोरै सम्म परेको भूभागमा अवस्थित छ हिमाली गाउँपालिकाको केन्द्र समेत रहेको धुलाचौर ।
जलयात्रा महोत्सव सुरु भयो । साँसद बद्रीप्रसाद पाण्डेले महोत्सवको उद्घाटन गरे । त्यही धुलाचौर माथि उभिएको अग्लो पहाडको टुप्पोमा पुगेपछि आउँछ साँसद पाण्डेको जन्मथलो । उनले बोल्दा अध्याँरो भैसकेको थियो । तैपनि मानिसहरु कुरा सुन्न बसिरहेका थिए ।उद्घाटन समारोह निकै भव्य रह्यो । त्यहाँ प्रस्तुत भएका कला संस्कृति निकै मन लोभ्याउने खालका थिए । बाजुराको माथिल्लो भेगमा बस्ने भोटे समुदायको कला संस्कृति पनि हेर्न पाईयो । मैले अहिलेसम्म देख्न नपाएको सुदूरपश्चिमको कला संस्कृति धुलाचौरमा देख्न पाए।कला संस्कृति संरक्षणमा महिला र पुरुषको उत्तिकै सकृयता थियो । सबै महिलाले गुन्युँ चोली र पुरुषले दाउरा सुरुवाल र ढाका टोपी लगाएको देख्दा मन आनन्दित भयो । त्यहाँका बासिन्दाले आफ्नो इतिहासलाई जिवन्त राखेको देखे । बाजुरासँगै मुगु र हुम्लाका बासिन्दाको रहनसहन पनि मिल्दो रहेछ । त्यो दिन त्यहाँको जनजीवनमै रमाएर बित्यो ।
महोत्सवको उद्घाटन समारोहमा सहभागी भएर रारा हिड्ने कुरा सम्भव हुन सकेन । महोत्सवको दोस्रो दिन समेत त्यहाँको कला संस्कृति हेरेरै आनन्दित भैयो । तेस्रो दिन महोत्सवको समापन थियो । समापनको कार्यक्रम स्वामिकार्तिक खापर गाउँपालिकाको केन्द्र सुईजिउलामा राखिएको थियो । धुलाचौरबाट सुईजिउलासम्म कर्णाली नदीमा र्याफ्टिङ गर्दै जाने कार्यक्रम तय भयो । जलयात्रा मेरा निम्ति निकै डरलाग्दो कुरो । तर परिस्थिति यस्तो बन्यो कि जलयात्रा गर्नैपर्ने भयो । सबै साथीहरुले हौस्याए । हिम्मत दिए । आँखा चिम्लेर डुंगामा चढे ।
आठ वटा डुंगा सँगै बगे । सबै साथीहरु रमाईरहेका थिए । म भने डरले थरथर भैरहेको थिए । डराएर पनि छुट्कारा पाईने अवस्था थिएन । जसोतसो मनबाट डर भगाएर म पनि साथीहरुसँग रमाउने प्रयासमा लागे ।केही तल पुगेपछि नदीको मध्य भागमा ठूलठूला ढुंगा देखिए । नदी ती ढुंगा माथिबाट उफ्रेर बगिरहेको थियो । मेरो सात्तो गयो । पानीको बहाव पनि उत्तिकै तिब्र । डुंगा बग्ने अर्को बाटो थिएन । आँखा चिम्लेर डुंगामा बाँधेको डोरीलाई च्याप्प समाते । ढुंगामा ठोक्किएर डुंगा बेस्सरी उफ्रियो । पानीको छालले डुंगा माथिबाट प्रहार गर्यो । शरीर निथ्रुक्क भिज्यो ।
निकै जोखिमपूर्ण यात्रा गर्दै सुईजिउला पुगियो । त्यहाँ बाजागाजा सहित स्थानीयले स्वागत गरे । समापन कार्यक्रमको मुख्य अतिथि थिए सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री नरेश कुमार शाही । उनी त्यहीका बासिन्दा हुन । समापन कार्यक्रममा समेत उस्तै कला संस्कृतिको प्रर्दशनी गरियो । बाजुराको विकासका सवालमा छलफल कार्यक्रम पनि सञ्चालन भए ।
महोत्सव समापन भयो । हाम्रो रारा यात्रा अझै निश्चित थिएन । हरिजी जसरी पनि जानुपर्छ भन्ने म भने गए पनि ठिकै छ नगए नि ठिकै छ भन्ने मुडमा पुगिसकेको थिए । बसन्तजीको फोन आयो । लौ अब हिड्ने । हिड्न त्यत्ति सहज थिएन । झोला कोल्टीको होटल थिए । झोला लिएर आउन कम्तिमा एक घण्टा लाग्छ । म र हरिजी दुईजनालाई झोला लिएर आउन भन्दै कर्णालीको किनारै किनार हिड्यौं । हामी हिड्दा हिड्दै बाँधु पुगिसकेका थियौं । दुवैजना झोला सहित बोलेरो चढेर आएपछि रारा यात्रा अघि बढ्ने भयो भन्ने लाग्यो । रात अबेर भैसकेको थियो ।साथमा थिए कोल्टीका पत्रकार अनिल शाहीको तीन सदस्यीय परिवार । बोलेरो धुलाचौरतिर हुईकियो । हामीलाई बोलेरोले केहीबेरमा बेलिब्रिज नजिकै छोडिदियो । हामीले कर्णालीनदी त¥यौं ।मुगुको खत्याड गाउँपालिका झुगलास्थित एक टिनको टहरामा रात बिताउन पर्ने भयो ।
त्यो टिनको टहरा थियो स्थानीय प्रभात गिरीको । उनी जलेवाका नामले परिचित रहेछन । उनको माछा मार्ने कला अरुको भन्दा धेरै रहेछ । अरुले एउटा पनि माछा मार्न नसकेको दिन उनी दुईचार किलो माछा मारेर घर फर्किने रहेछन । हामीले अघिल्लो दिन नै उनको होटलमा माछाको झोलसँग भात खाईसकेका थियौं । राति पुग्दा पनि उनले सहृदय स्वागत गरे । भात पकाए । माछाको झोल बनाए । मैले जिस्किदै भने –‘बिहानको बासी माछाको झोल पनि कोही खान्छ ।’ उनी माछा मारेर ल्याउछु भन्दै नदीतिर कुद्न खोजे । पछि बल्लबल्ल रोक्यौं ।
भोलि बिहानै उठेर राराको यात्रा सुरु गर्नु थियो । माछा खाँदै थियौं । बसन्तजीको पेट दुख्यो । सुरुमा त जिस्केकी भन्ने लागेको थियो । तर हरेक दश मिनेटमा ट्वाईलेट दौडिन थालेपछि भने समस्या भयो । त्यो भन्दा अघि नै अर्जुनजीलाई ज्वरोले सुताईसकेको थियो । दुवैजनाको स्वास्थ्य अवस्था देखेर हाम्रो अवस्था तनावग्रस्त बन्यो । राराको यात्रा होला कि नहोला भन्ने द्विविधामै सुतियो ।
क्रमस.............