Hamro Patra
प्रहरीलाई इन्काउन्टर गर्ने विप्लवको धम्की
विप्लवद्धारा जारी गएिको पक्राउ पुर्जी


परमानन्द पाण्डे
टीकापुर, १५ साउन

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले एक प्रहरीलाई इकान्टर गर्ने चेतावनी दिएको छ ।

प्रहरीले देशभर विप्लवका नेता कार्यकर्तालाई पक्राउ गरी मुद्दा चलाइरहेका बेला कैलालीमा भने विल्लवको पार्टीले इकान्टर गर्ने चेतावनी दिएको हो ।

Khadga Memorial And Janajagriti

नेकपाले प्रहरीविरुद्ध नै ‘पक्राउ पुर्जी’ समेत जारी गरेको छ । ‘जनअदालत’ को नामबाट नेकपाले राष्ट्रिय अनुसन्धान विभागका एक असईलाई ‘पक्राउ पुर्जी’ जारी गर्दै इकान्टर गर्ने चेतावनी दिएको हो ।

कैलाली जनअदालत प्रमुख विकासको नामबाट शुक्रबार जारी पक्राउ पुर्जीमा राष्ट्रिय अनुसनधान विभागका असई भैरव कुँवरलाई ‘२५ दिनभित्र उपस्थित हुन’ भनिएको छ ।

कुँवरको घर आसपास सार्वजनिक स्थानहरूमा टाँसिएको उक्त पुर्जीमा ‘कैलालीको वर्दगोरिया गाउँपालिका–१ साझा भन्ने ठाउँमा बस्ने नवराज कुँवरका छोरा भैरव कुँवरलाई २५ दिनभित्र जनअदालतमा उपस्थित हुन पक्राउ पुर्जी जारी गरिएको हो’ भनिएको छ ।

अनुसन्धान विभागमा असई पदमा कार्यरत कुँवरमाथि नेकपाका नेता कार्यकर्ताको सुराकी, अपहरण र ज्यान मार्ने उद्योग गरेको आरोप लगाइएको छ । ‘बाटोका म्यादबाहेक २५ दिनभित्र आफैं वा पक्राउ पुर्जी बमोजिम पक्राउ परी यस अदालतमा हाजिर हुन आउनु होला’ उक्त पुर्जीमा उल्लेख छ ।

असई कुँवरविरुद्ध नेकपाका कार्यकर्ता ‘तुफान’ ले अभियोग दर्ता गराएको र जनसरकार प्रमुख अनुकलले प्रतिवेदन बुझाएकाले सोहीका आधारमा पक्राउ पुर्जी जारी गरिएको नेकपाको दाबी छ ।
तोकिएको म्यादमा उपस्थित नभएमा जुनसुकै कारबाही गर्ने चेतावनी नेकपाले दिएको छ । जनसुरक्षा विभागलाई जुनसुकै बेला पनि कारवाही गर्न आदेश दिइएको पक्राउ पूर्जीसँगै टाँसिएको ‘चेतावनी पत्र’ मा भनिएको छ ।
‘म्याद गुजारी फरार रहेमा देश र जनताको हितविरुद्ध नेता कार्यकर्ताको सुराकी, हत्या, अपहरण र यातनामा संलग्न रहेको पाइएमा, जिल्ला जनसुरक्षा विभागलाई जुनसुकै बेला पनि ‘इन्काउन्टर’ गर्न आदेश दिइएको छ’, चेतावनी पत्रमा उल्लेख छ ।

कैलालीका प्रहरी उपरीक्षक सुदिप गिरीले पक्राउ पुर्जी जारी गरेको भनिएका व्यक्ति प्रहरीको अनुसन्धान विभागमा कार्यरत भए नभएको भेरिफाइ गर्नुपर्ने बताए । ‘सेना र प्रहरीमाथि आक्रमण नगर्ने भन्ने उहाँहरूको केन्द्रीय नीति सुनेका छौँ’, उनले भने, ‘तल्लो तहमा यस्ता गतिविधि हुन्छन् भने उहाँहरूकै पार्टीभित्र विरोधाभाष देखिन्छ ।’

ठूलो संख्यामा नेता कार्यकर्ता पक्राउ परेका कारण विप्लव नेतृत्वको पार्टी अत्तालिएको र टेलिफोनका टावरमा आक्रमण गर्नेदेखि राष्ट्रसेवक कर्मचारीमाथि यस्ता हर्कतमा उत्रिएको हुन सक्ने उनले प्रतिक्रिया दिए । नागरिकको सुरक्षामा प्रहरी प्रतिबद्ध रहेको उनको भनाई छ ।

प्रकाशित मिति: शनिबार, साउन १८, २०७६  १७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update