Hamro Patra
करोडौंको सोलार सिँचाइ अलपत्रः सिँचाइ नहुँदा जमिन बाँझो

टीकापुर, बैशाख ८

सुगम जिल्ला कैलालीको दुर्गम मोहन्याल गाउँपालिका वडा नं. ७ ओखरेकोटमा करोडौं रुपैयाँको लागतमा निर्माण भएको लिफ्टिङ्ग सिँचाइ आयोजना अलपत्र परेको छ ।

कणर्ाली नदीको चिप्लेघाटबाट लिफ्टिङ्ग गरी ओखरेकोटमा सिँचाइ सुविधा पुर्याउनका लागि करोडौं रुपैयाँ खर्च गरेर निर्माण गरिएको ओखरेकोट लिफ्टिङ्ग आयोजना अलपत्र परेको हो ।

Khadga Memorial And Janajagriti

विद्युत प्रशारण लाइन नहुँदा सोलार सिस्टमबाट सिँचाइ गर्ने उद्देश्यले निर्माण गरिएको आयोजना अलपत्र परेको छ । आर्थिक वर्ष २०७५/०७६ मा गाउँपालिकाको १ करोड १४ लाख रुपैयाँमा आयोजना निर्माण गरिएको थियो ।

उपभोक्ता समितिबाट निर्माण गरिएको सिँचाइ आयोजना कणर्ाली नदीबाट १ शय ४० मिटर माथि ओखरेकोट डाँडामा पुर्याइएको छ । सोलारबाट पानी तान्ने मोटर चलाई कणर्ाली नदीको पानी ओखरेकोटमा सिँचाइ सुविधा पुर्याउनका लागि निर्माण गरिएको थियो ।

कणर्ाली नदीको छेउमा बनाइएको घरमा दुईवटा मोटर जोडिएको छ भने ओखरेकोटमा सोलार प्यानलहरु राखिएका छन् । नदी छेउमा राखिएका मोटर बन्द अवस्थामा थन्किएका छन् । सोलारका प्यानलहरु फुटेका छन् । प्यानल राखिएको ठाउँमा कुरी (बनमारा) ले घेरिएको छ भने कणर्ालीबाट लिइएको पाइप समेत टुक्रा टुक्रा भएको छ ।

निर्माण भएको केही समय सिँचाइ सुविधा पाएका ओखरेकोटका किसानको जमिन बाँझै छ । सिँचाइ सुविधा नभएको ओखरेकोटमा सोलारबाट चल्ने लिफ्टिङ्ग आयोजना आउँदा खुशी भएका स्थानीयहरु यतिबेला निराश छन् ।

‘वर्षाको पानीले सिँचाइ पुगे पनि हिउँदेयाममा पूरै जमिन बाँझो रहन्छ’ स्थानीय शिव अधिकारीले भने ‘आयोजना निर्माण भएको वर्ष कणर्ालीको पानीले रोपाई गरेका हौं, त्यसपछि मोटर जलेर पानी आउन बन्द भो । गाउँपालिकासँग हारगुहार गरेर फेरि १० लाख रुपैयाँमा मर्मत गर्दा चलेको आयोजना त्यसयता अलपत्र जस्तै छ ।’

ओखरेकोटमा पानीको निकै समस्या छ । खानेपानीको हाहाकार रहेको त्यहाँ स्थानीयहरु लुगा धुन, नुहाउन समेत एक घण्टा समय लगाएर खोला र कणर्ाली नदीमा जानुपर्ने बाध्यता छ ।

गाउँपालिकाको १ करोड १४ लाख र दोश्रो पटक मर्मत गर्दाको १० लाख गरी १ करोड २४ लाखको सिँचाइ आयोजना अलपत्र परेको हो । आयोजना निर्माण उपभोक्ता समितिका तत्कालीन अध्यक्ष हर्कबहादुर कुँवर मर्मत सम्भार र संरक्षण हुन नसक्दा आयोजना अलपत्र परेको बताउँछन् ।

‘निर्माण भएपछि रेखदेखका लागि राखिएका चौकीदारलाई तलब दिन सकिएन, उसले छोडेपछि केटाकेटीले सोलार प्यानलमा ढुंगा हाने, बाटो बनाउँदा पाइप काटियो’ कुँवरले भने ‘गाउँपालिकाले समेत मर्मत गर्नेतर्फ ध्यान नदिँदा करोडौंको आयोजना अलपत्र परेको छ ।’ गाउँपालिकाले मर्मत सम्भारका लागि ५/६ लाख बजेट दिए आयोजना सञ्चालन गर्न सकिने कुँवर बताउँछन् ।

ओखरेकोटमा १ शय ५० बढी घरधुरी छन् । खानेपानीका लागि हाहाकार हुने गरेको छ । ‘सिँचाइ त धेरै परको कुरा हो, खानेपानीका लागि समेत हामीले १३ किलोमिटर माथि पहाडबाट पानी ल्याएका छौं’ स्थानीय शिक्षक रामनाथ जैशीले भने ‘पानीको निकै दुःख भएको ठाउँमा सिँचाइ आउँदा खुशी भएका स्थानीयहरु आयोजना अलपत्र परेसँगै निराश बनेका छन् । लुगा धनु समेत एक घण्टा हिँडेर खोलामा जानुपर्ने बाध्यता छ ।’ सिँचाइ सुविधा नहुँदा ओखरेकोटका अधिकांश जमिन बाँझै रहने गरेको शिक्षक जैशीले बताए ।

सोलारबाट चलेको मोटरमा पटक-पटक समस्या आएको बताउँदै त्रिवेणी माध्यमिक विद्यालय, बडीगाउँका पूर्व प्रधानाध्यापक देवीराम अधिकारी गाउँपालिकामा विद्युत विस्तार भएसँगै लिफ्टिङ्ग आयोजना सञ्चालन गर्न सकिने बताउँछन् ।

‘सोलार प्यानल नै खराब भइसकेका छन्, पटक पटक मोटर जल्ने गरेको थियो’ अधिकारीले भने ‘सोलार सिस्टम फेल भएरै आयोजना अलपत्र परेको हो, गाउँमा विद्युत लिन सके कणर्ालीको पानीले सिँचाइ गर्न सकिनेछ ।’

मोहन्याल गाउँपालिकाका उपाध्यक्ष कमल साउँदले स्थानीयले संरक्षण गर्न नसक्दा आयोजना अलपत्र परेको बताए । ‘जसले लगानी गरेको भए पनि स्थानीयका लागि सिँचाइ सुविधा पुगेको आयोजना हो, यसको संरक्षणमा ध्यान नपुग्दा अलपत्र हुन पुग्यो’ उपाध्यक्ष साउँदले भने ‘भूमिगत जलश्रोत कार्यालय र वैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्रसँग सहयोगका लागि अनुरोध गरेका छौं ।’

उनले ओखरेकोट क्षेत्रमा विद्युत लाइन विस्तार गर्न सके लिफ्टिङ्गको पानीले सिँचाइ सुविधा पुर्याउन सकिने बताए । सिँचाइ सुविधाबाट बञ्चित रहेको ओखरेकोटमा एकातिर करोडौंको आयोजना अलपत्र छ भने अर्कोतर्फ उर्बर जमिन बाँझो छ । सिँचाइ लगायतका सुविधाका लागि गाउँपालिकाले आयोजनाको संरक्षणमा ध्यान दिनुपर्ने स्थानीयहरु बताउँछन् ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८०  १५:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update