Hamro Patra
अभावमा गुज्रिदै गुरुकुल

योगेश रावल
टीकापुर, साउन १५
टीकापुर नगरपालिका–१ स्थित मल्लिका विद्यापीठ गुरुकुल दयनीय अवस्थामा गुज्रिरहेको छ । प्रधानाध्यापक टीकाराम आर्यले आफ्नै बलबुतामा जेनतेन गुरुकुललाई अगाडि धकेलिरहेका छन ।

उनकै पहलमा २०५४ सालमा गुरुकुल स्थापना भएको हो । २०५६ सालदेखी अध्यापन सुरु भयो । गुरुकुलले २०५९ सालमा कक्षा १ देखी ५ सम्मको अनुमति पाएको थियो । २०६२ सालमा शैक्षिक गुठीका रुपमा गुरुकुलमा दर्ता भयो । सोही वर्षदेखी कक्षा ६ देखी ८ सम्मको अध्यापन सुरु भयो । गुरुकुलमा अहिले कक्षा १ देखी ८ सम्म पढाई भैरहेको छ । यहाँ सरकारी पाठ्यक्रमका अलावा संस्कृत, नैतिक शिक्षा, वेद र योगका बारेमा समेत पढाई हुन्छ ।

Khadga Memorial And Janajagriti

गुरुकुलमा २१८ विद्यार्थी अध्ययनरत छन । छात्र मध्ये छात्राको संख्या धेरै रहेको प्रधानाध्यापक आर्यले जानकारी दिए । गुरुकुलमा अध्ययन गर्नेमा सबै जातजातिका बालबालिका छन । उनका अनुसार सबै जातजातिका बालबालिकाले अध्ययन गर्ने गुरुकुल देशभरमा दुईवटा मात्रै छन । उनले सबै जातजातिका बालबालिकाले अध्ययन गर्ने अर्को गुरुकुल विराटनगरमा रहेको बताए । उनले सबैले संस्कृत, वेद, नैतिक शिक्षाका बारेमा पढ्न पाउनुपर्ने बताए । ‘बाहुनले मात्रै हैन, सबैले पढ्न पाउनुपर्छ’ उनले भने–‘पण्डित्याँई गर्नेले मात्रै संस्कृत र वेद पढ्नु पर्छ भन्ने छैन । सबैले पढ्न पाउनुपर्छ ।’

उनले विदेशीको शिक्षा नीति अनुसार हाम्रो शिक्षा अघि बढेकाले वर्तमान शिक्षा प्रणाली संस्कारयुक्त नभएको बताए । उनले जसका कारण बालबालिकाहरु कुलतमा फस्दै गएको बताए । उनले गुरुकुलको अध्ययन शिक्षा लिने कुरा मात्रै नभई एक व्यक्तिको सर्वाङ्गिण विकास भएको बताए ।

उनले गुरुकुललाई यहाँसम्म ल्याई पु¥याउन निकै संघर्ष गरेका छन । उनले कैयौं दुःखकष्ट भोगेका छन । कतिपयको रिस र ईष्र्यालाई चुपचाप स्विकारेका छन । थुप्रै मान्छेहरुका अपमान सहेका छन । तैपनि उनी सबैलाई संस्कारयुक्त शिक्षा दिने गुरुकुलको यात्रा अघि बढाउने काममा थाकेका छैनन् । उनलाई कसले के भन्छ भन्ने कुराको कुनै अर्थ छैन । उनी आफ्नो यात्रामा अनवरत लम्किरहेका छन । यो यात्रा कहिलेसम्म अघि बढ्छ ? यसको जवाफ उनलाई नै थाहा छैन । उनले भने–‘खै, कहिलेसम्म अघि बढ्छ । जहिलेसम्म सक्छु तबसम्म बढ्छ होला ।’
पोहोर वर्षायाम एकदिन टायलले छाएको भवन भत्कियो । उनी सहयोगको आशा बोकेर नगरपालिका कार्यालयमा पुगे । उनले जब मेयरको कार्यकक्षमा आफ्नो समस्या सुनाए । त्यो सुनेर त्यहाँ रहेका सबैजना गलल हाँसे । उनलाई निकै ठूलो पीडा महशुस भयो । उनी त्यसपछि फर्केर गएनन् । ‘खै किन हाँसे थाहा छैन’ उनले भने–‘त्यो हाँसोले मलाई फर्केर जाने हिम्मत दिएन । म फर्केर गएन ।’
उनले त्यही भत्किएको भवनको तस्विर सामाजिक सञ्जाल फेसबुकमा राखे । यो तस्विर देखेर देशविदेशमा रहेका केही व्यक्तिहरुले सहयोग गरे । ३ लाख ८५ हजार रुपैयाँ केही दिनमै जमा भयो । उनले त्यही रकमले भवन निर्माण गरे । उनले अहिले भवनमा टायलको सट्टा कर्कटपाता लगाएका छन । यसरी सहयोग गर्नेमा टीकापुर भन्दा बाहिरका धेरै थिए । उनले अहिले पनि केही व्यक्तिहरुले बेलाबेलामा सहयोग गर्ने गरेको बताए । कसैले आर्थिक सहयोग गर्छन् भने कसैले खाद्यान्न लगायत सहयोग गर्ने गरेका छन । ‘केही व्यक्तिले अहिले पनि सहयोग गर्नुहुन्छ’ उनले भने–‘यसरी नै गुरुकुलको यात्रा अघि बढिरहेको छ ।’

सरकारले यसअघि दिँदै आएको गुरुकुल अनुदानमा समेत कटौती गरेको छ । गुरुकुलले यसअघि वार्षिक ३ लाख ८७ हजार रुपैयाँ अनुदान पाउथे । तर यसवर्ष १ लाख १० हजार रुपैयाँ मात्रै अनुदान दिएको छ । सरकारले निर्देशिकामै गुरुकुलको अनुदान कटौती गरेर पठाएको छ । सरकारले माथिबाटै अनुदान काटेर पठाएपछि नगरपालिकाले त्यो भन्दा बढी रकम दिन अस्विकार गरेको छ । उनले सरकारले निर्देशिकामै बजेट कटौती गरेपछि त्यो भन्दा धेरै अपेक्षा समेत नगरेको बताए ।

उनले सरकारी अनुदानको आशामा गुरुकुलमा कार्यरत शिक्षक कर्मचारीको चालु आर्थिक वर्षबाट तलब वृद्धि गरेका थिए । उनले सरकारले अनुदान रकम कटौती गरेपछि बढेको तलब खुवाउन समस्या भएको बताए । गुरुकुलमा कुल ११ जना शिक्षक कर्मचारी कार्यरत छन । जसमध्ये २ जना बालविकास, १ जना स्थायी र १ जना राहत छन । त्यस बाहेकका ७ जनालाई गुरुकुलले निजी स्रोतमा राखेको छ । उनीहरुको पारिश्रमिक ज्यादै न्यून रहेको प्रधानाध्यापक आर्यले बताए । ‘नाम मात्रैको पारिश्रमिक भन्दा हुन्छ’ उनले भने–‘स्वयम्सेवक जस्तै हुन ।’

२०६८ सालमा नगरपालिकाले दुई कोठे भवनको जग हालेको थियो । त्यसपछि निर्माणको काम अघि बढ्न सकेन । नगरपालिकामा जनप्रतिनिधि आएपछि प्रधानाध्यापक आर्यले बारम्बार भवन निर्माण गरिदिन भन्दै पत्राचार गरे । गत आवमा ५ लाख रुपैयाँ दिएपछि भवन निर्माणको काम लगभग अन्तिम चरणमा छ । थप अर्को एक कोठा साँसद विकास कोषको लगानीमा निर्माण भैरहेको छ । गुरुकुलको आफ्नै दुई विगाह जमिन छ । करिव १० कठ्ठामा गुरुकुलको शैक्षिक क्रियाकलाप सञ्चालन हुन्छ भने डेढ विगाह ठेक्कामा दिईएको छ । प्रधानाध्यापक आर्यका अनुसार जसबाट थोरै भएपनि वर्षेनी आम्दानी भैरहेको छ ।

प्रकाशित मिति: बुधबार, साउन १५, २०७६  ११:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update